यसरी सम्पन्न भयो अर्धभूमिगत पार्टी मसालको आठौं महाधिवेशन

ehulaki
ई-हुलाकी | जेठ २५, २०७६ शनिबार | 0

काठमाडौं । अर्धभूमिगत अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)को आठौं महाधिवेशन हालै राजधानीमा सम्पन्न भएको छ । देशभरबाट करीव ५ सय प्रतिनिधि, पर्यवेक्षकहरुको सहभागितामा भएको महाधिवेशनले पुनः मोहनविक्रम सिंहलाई नै महामन्त्रीमा चयन गरेको छ ।

नेकपा (मसाल)का पीवीएम सहजको अध्यक्षता र अग्निको सञ्चालनमा अगाडि बढेको महाधिवेशन उद्घाटन समारोहमा प्रवक्ता रामप्रकाश पुरीले महाधिवेशनमा आउनु भएका अतिथि, प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवकलाई केन्द्रीय समितिको तर्फबाट स्वागत गरेका थिए । आठौं महाधिवेशनको व्यानर, पार्टीको झण्डा र कम्युनिस्टका अन्तर्राष्ट्रिय नेताका तस्वीरले सजाइएको मञ्चमा आमन्त्रित अतिथि, प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक समेतको उपस्थितिमा तालीको सघन आवाजको बीचमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले पानसमा बत्री बाली महाधिवेशनको उद्घाटन गरेका थिए ।

आमन्त्रित अतिथि तथा भाइचारा पार्टीका अतिथिहरूलाई महामन्त्री मोहनविक्रम सिंहले दोसल्ला ओढाएर सम्मान गरेका थिए । भाइचारा पार्टीका अतिथिका तर्फबाट पनि उपहार प्रदान गरिएको थियो । त्यस अवसरमा प्रतिनिधि तथा पर्यवेक्षकको तर्फबाट बरियो, विपना र एकताले आठौं महाधिवेशनको सफलताको लागि शुभकामना दिएका थिए । विभिन्न मोर्चाहरूको तर्फबाट आएका प्रतिनिधि, भाइचारा पार्टीहरूबाट आएका अतिथिहरुले पनि शुभकामना दिएका थिए । जर्मन कम्युनिस्ट पार्टी (एमएलपीडी)का अध्यक्ष गाभीले पठाएको शुभकामना सन्देश, भारतीय कम्युनिस्ट पार्टी सीपीआईएमएलका महासचिव के.एन. रामचन्द्रनको सन्देश र बङ्गलादेश कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूको लिखित शुभकामनापत्र वाचन गरेर सुनाइएको थियो । शुभकामना मन्तव्यपछि महामन्त्री मोहनविक्रम सिंहले उद्घाटन मन्तव्य व्यक्त गरेका थिए । 

महाधिवेशनको दोस्रो चरणमा बन्दसत्र सम्पन्नभएको थियो । बन्दसत्रको लागि प्रकाश, रक्षा, अरुण, बोध, कुमार राई, क्षितिज र सन्तोषको ७ सदस्यीय अध्यक्षमण्डलको गठन भएको थियो । अध्यक्षमण्डलले बन्दसत्र सञ्चालनको लागि केही नियम बनाई त्यसको हाउसद्वारा अनुमोदन भएपछि बन्दसत्रको कार्यतालिका प्रस्तुत गरेको थियो । कार्यतालिकाअनुसार महामन्त्रीमोहनत्रिवmम सिंहद्वारा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र पूरक प्रस्ताव, सहजद्वारा न्यूनतम कार्यक्रम सम्बन्धी संशोधन प्रस्ताव, अग्निद्वारा विधानमा संशोधनसम्बन्धी प्रस्ताव, प्रतिविम्बद्वारा जाति, भाषा, धर्म र संस्कृति सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएका थिए । 

राजनीतिक र संगठनात्मक प्रस्तावहरुलाई प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई ९ वटा समूहमा विभाजन गरी विस्तृत छलफल र अन्य प्रस्तावहरु सामान्य छलफलपछि पारित गरिएका थिए । विभिन्न प्रस्तावहरुमा आएका संशोधन प्रस्तावहरुबारे पनि विस्तृत रुपले छलफल गरेर निर्णयहरु गरिएका थिए । साथै हाउसबाट केन्द्रीय समिति र बिभिन्न केन्द्रीय सदस्यहरूबारे पनि आलोचनाहरू भएका थिए । ती आलोचनाहरूमा सम्बन्धित व्यक्तिहरूले स्पष्टीकरण दिएपछि महामन्त्री मोहनविक्रम सिंहसहित केन्द्रीय सदस्यहरुमाथि आएका आरोपहरूबारे पनि सम्बन्धित नेताहरुद्वारा स्पष्टीकरण दिइएको थियो ।

त्यसपछि केन्द्रीय समितिबाट नयाँ केन्द्रीय समितिका लागि प्यानल प्रस्तुत गरिएको थियो । उक्त प्यानल सर्वसम्मतिले पारित गरिएको बताइएको छ । बन्दसत्रको अन्तमा उत्तमले समसामयिक प्रस्तावहरू प्रस्तुत गरेका थिए । ती प्रस्तावहरूलाई सर्वसम्मतबाट पारित गरिएको महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महाधिवेशनका विभिन्न शेसनहरूका बीच–बीचमा रक्तिम साँस्कृतिक टोली र महाधिवेशनका प्रतिनिधि, पर्यवेक्षकद्वारा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु राखिएको थियो ।
 
समापन समारोहको अध्यक्षता आकाश र सञ्चालन सवलले गरेका थिए । समापन समारोहमा हाउसबाट सरिता र स्वयंसेवकको तर्फबाट अरुण, एमएलपीडीका थोमस, कम्युनिस्ट पार्टी अफ बङ्गलादेशका केन्द्रीय सदस्य सदेकुर रहमान र सहजले नयाँ केन्द्रीय समितिलाई बधाई र शुभकामना ज्ञापन गरेका थिए । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको तर्फबाट नवनिर्वाचित महामन्त्री मोहनविक्रम सिंहले सबै प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, भाइचारा प्रतिनिधिहरु, अतिथिहरु तथा महाधिवेशन सफल पार्न सहयोग गर्ने पार्टी र जनवर्गीय संगठनहरुका सबै सदस्य र समर्थक तथा पार्टी बाहिरका सुभेच्छुकहरु समेतलाई धन्यवाद दिंदै मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय