बाह्र वर्ष पहिले, बाह्र वर्षपछि : महत्वपूर्ण र गौरवशाली भूमिका

ehulaki
मोहनविक्रम सिंह | जेठ २६, २०७६ आइतबार | 0

१. २०६३ सालमा हाम्रो पार्टीको सातौँ महाधिवेशन सम्पन्न भएको थियो । त्यो महाधिवेशनपछि बाह्र वर्षभन्दा बढी समय बितेको छ । यो बाह्र वर्षको अवधिमा, एकातिर, देशमा कैयौँ महत्वपूर्ण राजनीतिक उपलब्धिहरू भएका छन् भने, अर्कातिर, यो सम्पूर्ण अवधिमा हाम्रो पार्टीको पनि अत्यन्त महत्वपूर्ण र गौरवशाली भूमिका रहेको छ । अन्तर्राष्ट्रिय दृष्टिकोणले पनि यो काल धेरै नै महत्वपूर्ण रहेको छ ।

२. सातौँ महाधिवेशनको बेलामा विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा थियो भने अहिले पनि त्यो अवस्थामा कुनै सुधार भएको छैन । अर्कातिर, त्यसभित्रका बढिरहेका अन्तर्विरोधहरूका कारणले विश्वसाम्राज्यवाद धेरै नै कमजोर भएको छ । खास गरेर सन् २००८ मा विश्वव्यापीरूपमा आएको आर्थिक सङ्कटले त्यसलाई धेरै नै कमजोर बनाएको छ । सन् २०१४ मा पुग्दासम्मको अवस्थामा केही सुधार भयो । तैपनि पूँजीवादभित्र आउने त्यसप्रकारको सङ्कट त्यसको चरित्रगत विशेषताका कारणले पैदा भएको अवस्था हो र त्यो लगातार चलिरहने प्रक्रिया हो । समग्र रूपमा पूँजीवादभित्रको त्यसप्रकारको आर्थिक सङ्कट वा अन्तर्विरोधहरूका कारणले विश्वस्तरमा नै त्यो धेरै नै कमजोर भएको छ र त्यसको परिणामस्वरूप वस्तुगतरूपमा अन्तर्राष्ट्रियरूपमा नै क्रान्तिकारी परिस्थिति निर्माण भएको छ । तर त्यो स्थितिबाट फाइदा उठाउनको लागि क्रान्तिकारी आत्मगत परिस्थितिको निर्माण हुन सकेको छैन । एकातिर, सैद्धान्तिकरूपले विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेका कैयौँ प्रकारका भ्रमहरू र अर्कातिर संगठनात्मक रूपले पनि संसारका बिभिन्न देशहरूमा कम्युनिस्ट आन्दोलन कमजोर भएको हुनाले क्रान्तिको आत्मगत परिस्थितिको निर्माण हुन सकेको छैन । त्यो अवस्थामा प्रत्येक देशमा कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाउनु र अन्तर्राष्ट्रिय आन्दोलनलाई अगाडि बढाउन पनि बढी भन्दा बढी योगदान दिनु हाम्रो जिम्मेवारी हुन्छ । हामीले आशा र विश्वास गर्दछौँ, यो आठौँ महाधिवेशनले उक्त उद्देश्यहरू पूरा गर्नका लागि आधार तयार पार्ने छ । त्यो दिशामा आईसी (इन्टरनेशनल कन्फ्रेन्स अफ माक्र्ससिष्ट—लेनिननिष्ट पार्टिज् एण्ड अर्गानाइजेसन्स्) तथा आइसीओआर (इन्टरनेशनल कोअर्डिनेशन अफ रिभ्यूलेशनरी पार्टिज एण्ड अर्गानाइजेशन्स)ले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । तर आवश्यकताका तुलनामा यिनीहरूको भूमिका धेरै नै कमजोर छ । त्यसकारण तिनीहरूको भूमिकालाई अगाडि बढाएर क्रान्तिकारी आत्मगत परिस्थितिको निर्माणका लागि पनि हामीले बढीभन्दा बढी प्रयत्न गर्नुपर्दछ ।

३. गत बाह्रवर्षको अवधि राजनीतिक दृष्टिकोणले धेरै नै महत्वपूर्ण रहेको छ । हाम्रो पार्टीले करिब छ दशकदेखि संविधानसभाको चुनावको लागि सङ्घर्र्ष गर्दै आएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा त्यो धेरै नै महत्वपूर्ण विषय थियो । संविधानसभाको चुनावले सार्वभौमसत्ता राजाबाट जनतामा हस्तान्तरण गर्ने ऐतिहासिक कार्य पूरा गर्दथ्यो र त्यसरी गणतन्त्रको स्थापनाका लागि आधार तयार पार्दथ्यो । त्यही कारणले नै नेपालका राजाहरूले योजनावद्ध प्रकारले संविधानसभाको चुनावलाई रोक्ने प्रयत्न गर्दै आएका थिए । देशका बिभिन्न राजनीतिक दलहरूले आफ्ना ढुलमुल, अवसरवादी र सम्झौतापरस्त चरित्रका कारणले बारम्बार संविधानसभाको चुनावको नारालाई परित्याग गरेर संविधानसभाको विरूद्धको राजाको षडयन्त्रमा सामेल हुँदै आए । राजा करिब साढे छ दशकसम्म संविधानसभाको चुनावलाई रोक्न सफल भयो । तर हाम्रो पार्टीले गतकालमा लगातार दृढतापूर्वक र सम्झौताहीन प्रकारले संविधानसभाको चुनावको लागि आवाज उठाउँदै वा सङ्घर्र्ष गर्दै आएको थियो ।

४. संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्रलाई समाप्त गरेर गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गर्यो । त्यसरी देशमा गणतन्त्रको स्थापना भएको हिजो जेठ १५ गते एकदशकको काल बितेको छ । नेपाली जनताले करिब एक शताब्दीदेखि निरंकुश शासन, प्रतिगमन वा राजतन्त्रका विरूद्ध लगातार सङ्घर्र्ष गर्दै आएका थिए । त्यसैले गणतन्त्रको स्थापना नेपालको सम्पूर्ण राजनीतिमा नै एउटा ठूलो उपलब्धि हो ।

५. नयाँ बनेको संविधानमा गणतन्त्र र धर्मनिरपेक्षताको व्यवस्था गरिएको छ । ती सकारात्मक पक्षहरू हुन् । तर त्यसमा संघीयताको पनि व्यवस्था गरिएको छ । नेपालका राजनीतिक पार्टीहरूले मुख्यतः कम्युनिस्ट र नेकाका दुबै धारहरूले कहिल्यै पनि संघीयताको लागि आवाज उठाएका थिएनन् वा आन्दोलन गरेका थिएनन् । वास्तवमा नेपालमा संघीयता भारतीय विस्तारवादले नै ल्याएको थियो र, मधेशवादी शक्तिहरूले त्यसको पक्षमा आवाज उठाएका थिए । त्यसको परिणामस्वरूप देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न हुने कुरा स्पष्ट र निश्चित छ । त्यसैले हाम्रो पार्टीले संविधानको निर्माण गर्ने बेलामा त्यसका विरूद्ध संशोधन प्रस्ताव राखेको थियो र संविधान बनेपछि पनि शुरूदेखि नै त्यसको विरोध गर्दै आएको छ ।

६. हाम्रो पार्टीले जुन संविधानसभाको चुनावका लागि सङ्घर्र्ष गर्दै आएको थियो, त्यो बुर्जुवा प्रकारको नै थियो र त्यसले स्थापित गरेको गणतन्त्र वा त्यसले निर्माण गरेको संविधान पनि बुर्जुवा नै हो । त्यसकारण तिनीहरूद्वारा जनताका आधारभूत समस्याहरूको समाधान नहुने वा पुँजीवादी प्रकारको प्रणाली पनि कायम हुन नसक्ने कुराबारे हामीमा कुनै दुविधा छैन । त्यसकारण ती सबैलाई विस्थापित गरेर नयाँ जनवादी क्रान्तिलाई सफल पार्नु नै हाम्रो आजको आधारभूत कर्तव्य हुन्छ । तर त्यो कुरा रणनीतिक रूपले सत्य भएपनि तात्कालिक वा कार्यनीतिक दृष्टिकोणले ती सबैले (संविधानसभा, संविधान वा गणतन्त्र) ले प्रगतिशील महत्व राख्दछन् । त्यसैले गतकालमा संविधानसभाको चुनावका लागि सङ्घर्र्ष गर्नु सही थियो भने, विद्यमान संविधान वा गणतन्त्रको रक्षाको लागि सङ्घर्र्ष गर्नु पनि सही हुन जान्छ ।

७. लेनिनले बताए झैँ कुनै पनि देशका प्रतिक्रियावादी शक्ति वा वर्गहरूले आफनो सत्ता समाप्त भएपछि आफ्नो गुमेको स्वर्ग फर्काउनका लागि पूरा शक्ति लगाउँछन् । ठीक त्यही कुरा नेपालको सन्दर्भमा पनि सत्य हो । आज राजाले राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयत्न गरिरहेको छ । देशमा राजतन्त्र समाप्त भएको भएपनि त्यसको सामन्ती वर्गीय वा सांस्कृतिक आधार कायम छ । त्यो बाहेक भारतका कट्टर हिन्दूवादी शासकवर्गले नेपाललाई हिन्दूराष्ट्र बनाउन वा राजतन्त्रको पुनस्र्थापनाका लागि पूरा मदत गरिरहेका छन् । भारतको आमचुनावमा मोदीको विजयले उनीहरुको त्यसप्रकारको प्रयत्नमा अरु तीब्रता आउने कुराको अनुमान गर्न सकिन्छ । नेपालका राजावादीहरू वा भारतका कट्टर हिन्दूवादीहरूको बढिरहेको चलखेलमाथि विचार गर्दा नेपालमा राजतन्त्रको पुनस्र्थापनाको खतरालाई हल्का रूपमा लिनु गम्भीर गल्ती हुनेछ ।

८. नेपालको आजको अर्को गम्भीर समस्या राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको हो । खास गरेर भारतीय विस्तारवादले गत करिब पुग नपुग सात दशकदेखि नै नेपाललाई आफ्नो उपनिवेश बनाउनका लागि योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएको छ । यहाँसम्म कि संविधानको निर्माणको क्रममा पनि त्यसले नेपालप्रतिका आफ्ना विस्तारवादी नीतिहरूलाई कार्यान्वयन गर्नका लागि मार्ग प्रशस्त हुने गरेर संविधानको निर्माणका लागि दवाव दियो र उसको त्यो उद्देश्य पूरा नभएपछि संविधान जारी नगर्न दवाव दियो । त्यो दबावको पनि कुनै परिणाम निस्केन र संविधान जारी भयो । त्यसपछि वर्तमान संविधानमा भारतीय विस्तारवादी स्वार्थ अनुरूप संशोधन गर्न दबाव दिन नेपालका विरूद्ध नाकावन्दी लगाइयो र मधेशवादी शक्तिहरूद्वारा आन्दोलन गर्न लगाइयो । भारतीय विस्तारवादले नेपालका बिभिन्न राजनीतिक शक्तिहरूलाई आफ्ना पक्षमा मिलाएर आफ्ना विस्तारवादी उद्देश्यहरू पूरा गर्नका लागि अहिले पनि लगातार प्रयत्न गरिरहेको छ । जसमध्ये पछिल्लो समयको सबैभन्दा उल्लेखनीय पक्ष ‘नागरिक आक्रमण’ नै हो ।

९. नेपालप्रतिको भारतीय नागरिक आक्रमणको मुख्य उद्देश्य हो ः भारतले ठूलो संख्यामा भारतीयहरूलाई नेपालको नागरिक बनाएर नेपालमा वास्तविक नेपालीहरूलाई नै अल्पमतमा पार्ने र संसदमा आफ्नो बहुमत गराएर नेपाललाई सिक्किम बनाउनका लागि निर्णय गर्न लगाउने नै हो । त्यो उद्देश्य पूरा गर्न अर्थात् भारतीयहरूलाई ठूलो संख्यामा नेपालको नागरिक बनाउनका लागि ढोका खुला गराउन नेपालको नागरिक ऐनलाई खुकुलो बनाउन उनीहरूले नेपालका प्रमुख राजनीतिक पार्टी वा सरकारहरूलाई दबाव दिंदै आएका छन् । त्यसको परिणामस्वरूप गतकालमा नेपालको नागरिकता ऐन झन् पछि झन् उदार वा खुकुलो बन्दै आएको छ, जसको परिणामस्वरुप ठूलो संख्यामा भारतीयहरु नेपालका नागरिक बन्दै गएका छन् । नागरिकता ऐनलाई त्यसरी खुकुलो पार्ने नीतिका विरूद्ध नेपालमा व्यापक आवाज उठ्ने वा आन्दोलन हुने समेत गरेका छन् । तैपनि नेपालको नागरिकता ऐनले भारतीयहरूलाई ठूलो संख्यामा नेपालको नागरिक बन्नका लागि ढोका खुला गर्ने गरेको छ । यहाँसम्म कि सर्वोच्च अदालतले पनि त्यसप्रकारका नागरिकता सम्बन्धी सरकारका ऐन वा नीतिहरूलाई बारम्बार वैधता दिने गरेको छ । पछिल्ला दिनहरूमा यो नेपालको राष्ट्रियता सम्बन्धी अत्यन्त गम्भीर समस्या बनेको छ । भारतीय विस्तारवादका साथै बिभिन्न साम्राज्यवादी देशहरू वा बहुराष्ट्रिय कम्पनीहरूले पनि नेपालको राष्ट्रियता वा स्वतन्त्र अर्थतन्त्रमा आघात पुर्याउने प्रकारका कैयौँ नीतिहरू अपनाउने गरिरहेका छन् । त्यसरी नेपालको राष्ट्रियता र स्वतन्त्र अर्थतन्त्रको लागि सङ्घर्र्ष नेपालको आन्दोलनको एउटा प्रमुख पक्ष रहने गरेको छ ।

१०. विश्वस्तरमा र देशभित्र पनि क्रान्तिकारी आत्मगत परिस्थितिको निर्माणमा विशेष जोड दिनु आजको हाम्रो अन्तराष्ट्रिय कर्तव्य भएको छ । त्यसको लागि सर्वप्रथम र निर्णयात्मक महत्वको कार्य हो ः सर्वहारावर्गको पार्टी, अर्थात् कम्युनिस्ट पार्टीलाई मजबुत पार्नु । त्यो कार्य पूरा नगरिकन क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन, त्यसका लागि तीन वटा निर्णयात्मक शर्तहरू छन् ः प्रथम, स्पष्ट र क्रान्तिकारी सिद्धान्त । द्वितीय, सही रणनीति र कार्यनीतिको निर्धारण तथा तिनीहरूका बीचमा सही सन्तुलन र तृतीय, माक्र्सवादी–लेनिनवादी संगठनात्मक प्रणालीका आधारमा मिलिटेण्ट, अनुशासित र जुझारू पार्टीको निर्माण । अहिले वास्तवमा यी तीनवटै प्रश्नमा अन्तर्राष्ट्रिय र नेपालको पनि कम्युनिस्ट आन्दोलनमा गम्भीर समस्याहरू पैदा भएका छन् । कम्युनिस्ट आन्दोलनलाई पथप्रदर्शन गर्नको लागि हामीसित अजेय माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारा छ । तर त्यसको व्याख्या वा कार्यान्वयनका सन्दर्भमा देखा पर्ने बिभिन्न प्रकारका भ्रम वा अवसरवादी विचारहरूका कारणले कम्युनिस्ट आन्दोलनमा दिशाभ्रम हुने गर्दछ र आज त्यो एउटा विश्वव्यापी समस्या नै भएको छ । त्यो अवस्थामा सबै गलत विचारहरूका विरूद्ध सङ्घर्र्ष गरेर नै माक्र्सवादी—लेनिनवादी सिद्धान्तलाई सही रूपमा स्थापित गर्न सकिन्छ र त्यसले क्रान्तिकारी आन्दोलनलाई सही र सशक्त प्रकारले अगाडि बढाउन सक्नेछ ।

११. सही रणनीति र कार्यनीतिको निर्धारण र तिनीहरूको बीचमा सही सन्तुलन क्रान्तिकारी आन्दोलनका लागि निर्णयात्मक महत्वका कुराहरू हुन् । सही रणनीतिको निर्धारणको लागि एकातिर माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई सही प्रकारले ग्रहण र लागू गर्नुपर्ने तथा अर्कातिर कुनै खास अवधिको वस्तुस्थितिको सही विश्लेषण गरेर नीति निर्धारण गर्नुपर्ने आवश्यकता हुन्छ । उक्त प्रश्नहरूमा गरिने गल्तीहरूबाट उग्रवामपन्थी या दक्षिणपन्थी भड्कावहरू देखा पर्ने सम्भावना हुन्छ । विश्व र नेपालका पनि बारम्बारका अनुभवहरूबाट त्यो कुरा प्रष्ट हुँदै आएको छ ।

१२. सही माक्र्सवादी—लेनिनवादी सङ्गठनात्मक प्रणालीका आधारमा नै क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण हुन सक्दछ । अहिले त्यसप्रकारको कम्युनिस्ट पार्टीको निर्माणको प्रश्न एउटा अन्तर्राष्ट्रिय समस्या नै बनेको छ । कम्युनिस्ट पार्टीको निर्माणको सिलसिलामा लेनिनले जनवादी केन्द्रीयताको सिद्धान्त तथा छलफलको स्वतन्त्रता र कामको एकताका सिद्धान्तहरूको प्रतिपादन गरेका थिए । बुर्जुवा पार्टीहरूले प्रारम्भदेखि नै त्यसप्रकारका लेनिनवादी सिद्धान्तहरूको विरोध गर्दै आएका छन् र कम्युनिस्ट पार्टीभित्र पनि त्यसप्रकारका सिद्धान्तहरूको अतिक्रमण गर्ने प्रवृत्तिहरू निकै बढेर गएका छन् । पार्टी सङ्गठनमा बुर्जुवा विचारहरूको असर, निम्नपुँजीवादी चरित्र— ती दुबैको असरको परिणामस्वरूप पार्टी सदस्यहरूमा देखा पर्ने अराजकतावादी, व्यक्तिवादी वा अनुशासनहीन प्रवृत्तिहरूका कारण माक्र्सवादी–लेनिनवादी पार्टीको निर्माण अत्यन्त कठिन कार्य हुन जान्छ । सिद्धान्त र राजनीतिका प्रश्नहरूमा कुनै गलत विचार वा भड्काव देखा परेपछि त्यसको असर सङ्गठनात्मक क्षेत्रमा पनि देखा पर्दछ र लेनिनवादी सङ्गठनात्मक सिद्धान्तहरूबाट विचलन हुन थाल्दछ । त्यसैले जहिले पनि उग्रवामपन्थी वा दक्षिणपन्थी भड्काव देखा परेपछि सङ्गठनात्मक प्रणालीमा पनि अवसरवादी रुप लिन थाल्दछ र जनवादी केन्द्रीयता वा.छलफलको स्वतन्त्रता र कामको एकताका सिद्धान्तहरुबाट पनि विचलन हुन थाल्दछ । त्यसैले सैद्धान्तिक वा राजनीतिक रुपमा बिभिन्न प्रकारका अवसरवादी  विचारहरुको विरुद्ध सङ्घर्ष गर्ने बेलामा सङ्गठनात्मक क्षेत्रमा पर्ने तिनीहरूको असरका विरुद्ध पनि सङ्घर्षलाई साथसाथै अगाडि बढाउनुपर्ने आवश्यकता हुन्छ । पार्टी सङ्गठन सम्बन्धी सही लेनिनवादी सिद्धान्तहरूको आधारमा नै त्यसप्रकारको पार्टीको निर्माण हुन सक्दछ र हामीले त्यसका लागि लगातार प्रयत्न गर्नुपर्दछ । हाम्रो पार्टीको इतिहासमा पनि त्यसरी कम्युनिस्ट पार्टीको निर्माणका लागि सङ्घर्र्ष गरेको लामो र गौरवपूर्ण इतिहास छ । हामीले आशा र विश्वास गर्दछौँ, हाम्रो आठौँ पार्टी महाधिवेशनले एउटा सही, शक्तिशाली, क्रान्तिकारी र अनुशासित पार्टीको निर्माणको लागि सही आधार तयार पार्ने छ ।

१३. हामीले करिब एकवर्षदेखि यो महाधिवेशनको तयारी गर्दै आएका छौँ । त्यो तयारीको सिलसिलामा केन्द्रीय समितिदेखि तल्लो स्तरसम्मका सबै पार्टी कमिटी र सदस्यहरू व्यापक रूपले परिचालित भएका छन् । पार्टी महाधिवेशनको तयारीका सिलसिलामा तलैदेखि पार्टी सदस्यहरूको नविकरण गर्ने, महाधिवेशनका लागि दस्तावेजहरू तयार पार्ने, बहुमत र अल्पमतका दस्तावेजहरूमा तल्लो स्तरसम्म गएर छलफल चलाउने, फोरमका दुईवटा अङ्कहरू प्रकाशित गर्ने, जिल्ला भेला वा सम्मेलनहरू गरेर जिल्ला समितिहरूको निर्वाचन गर्ने, जिल्ला समितिहरूबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको चुनाव गर्ने आदि कार्यहरू सम्पन्न भएका छन् । महाधिवेशनको तयारीको सिलसिलामा भएका यी सबै कार्यहरूले पार्टीमा उच्च प्रकारको जनवाद भएको कुरालाई नै बताउँछ । वास्तवमा नेपालका अन्य प्रतिक्रियावादी, बुर्जुवा पार्टी वा दक्षिणपन्थी संशोधनवादी संगठनहरूको कुरा छाडौँ, स्वयम् हाम्रो पार्टीको इतिहासमा पनि आठौँ महाधिवेशनको जुन भव्य र जनवादी तरिकाले तयारी भएको छ, त्यसप्रकारको अर्को कुनै उदाहरण पाइँदैन । त्यो हामी सबैका लागि अत्यन्त प्रसन्नता र गौरवको कुरा हो ।

१४. पार्टीभित्र दस्तावेजहरूको छलफल, जिल्ला समितिहरूको निर्वाचन, महाधिवेशनका प्रतिनिधिहरूको चुनाव आदिका सिलसिलामा पार्टीका बिभिन्न स्तरमा तीब्र मतभेदहरू देखा पर्ने र कतिपय जिल्लामा मतदान भएर बहुमतका आधारमा निर्णयहरू हुने गरेका छन् । त्यसले पार्टीमा भएको उच्च स्तरको जनवादलाई नै बताउँछ, जो एउटा जीवित पार्टीको विशेषता हो । त्यसप्रकारको मतभेद वा छलफलले पार्टीमा सही नीतिको निर्धारण वा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन मदत पुग्ने कुरा स्पष्ट छ । त्यही प्रकारले महाधिवेशनको सिलसिलामा पार्टीभित्र चलेको व्यापक छलफलबाट सही नीति र कार्यक्रम निश्चित गर्न आठौँ महाधिवेशनलाई पनि मदत पुग्ने छ भन्ने हामीले आशा र विश्वास गरेका छौँ ।

१५. महाधिवेशनका बेलामा पार्टीभित्र चलेका कतिपय मतभेदहरूलाई हामीले खुला रूपले बाहिर पनि लगेका छौँ । तर त्यो निर्णय हाम्रो पार्टीको परम्परा अनुसार छ । पहिलेका बिभिन्न महाधिवेशनहरूमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सम्बन्धी प्रस्ताव वा पार्टी इतिहास सम्बन्धी प्रस्तावबारे खुला छलफल चलाएका थियौँ । त्यही प्रकारले अहिले पार्टीले चीन र भारत साम्राज्यवादी देशहरू हुन् वा होइनन् भन्ने प्रश्नबारे पनि खुला छलफल चलाउने निर्णय गरेको थियो । त्यो छलफलको सन्दर्भमा उक्त मतभेदसित सम्बन्धित थुप्रै लेखहरू सार्वजनिक रूपले नै प्रकाशित भएका छन् र त्यो विषयमा कतिपय पुस्तिकाहरु पनि प्रकाशित भएका छन् । त्यसप्रकारको छलफलले त्यो विषयमा आठौँ महाधिवेशनमा सही निर्णयमा पुग्न तथा हाम्रो राजनीतिक लाइन र आन्दोलनलाई सही दिशामा अगाडि बढाउन मदत पग्ने छ भन्ने हामीले आशा गरेका छौँ ।

१६. अहिले देशमा नेकपाको सरकार छ । त्यसले आफूलाई कम्युनिस्ट सरकार भएको दावी गर्दछ र आम रूपमा देशभित्र वा बाहिर त्यसप्रकारको मत पाइन्छ । तर न नेकपा कम्युनिस्ट पार्टी हो, न त्यसको नेतृत्वमा बनेको सरकार नै कम्युनिस्ट सरकार हो । अहिलेको नेकपा पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको सङ्गठन हो, जो माक्र्सवादी—लेनिनवादी सिद्धान्तहरूबाट विचलन भएका दक्षिणपन्थी संशोधनवादी सङ्गठनहरू थिए । ती दुबैले पहिले उग्रवामपन्थी नीति अपनाएका थिए र पछि ती दुबैले दक्षिणपन्थी संशोधनवादी बाटो समातेका थिए । त्यसप्रकारका संङ्गठनहरू मिलेर बनेको सङ्गठन कम्युनिस्ट पार्टी हुन सक्दैन र त्यसको नेतृत्वको सरकारलाई पनि कम्युनिस्ट भन्न मिल्दैन ।

१७. नेकपा वा त्यसको नेतृत्वको सरकार कम्युनिस्ट नभए पनि त्यो सङ्गठन प्रतिक्रियावादी पार्टी हो र त्यसको सरकार पनि प्रतिक्रियावादी भइसकेको छ भन्ने पनि होइन । त्यसैले एकातिर नेकपा र त्यसको सरकार तथा अर्कातिर प्रतिक्रियावादी शक्तिहरूको बीचमा अन्तर गर्नुपर्दछ । वर्तमान सरकार प्रतिक्रियावादी सरकार होइन, तैपनि त्यसले सामन्तवाद, विस्तारवाद र साम्राज्यवादप्रति ढुलमुल अवसरवादी र सम्झौतापरस्त नीतिहरू अपनाउँदै गएको छ । त्यसका त्यसप्रकारका नीतिहरूबाट देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितमा समेत गम्भीर प्रकारको आँच पुगेको छ । त्यसले समाजवाद उन्मुख नीतिप्रति प्रतिवद्धता प्रकट गरेपनि त्यही अनुसार आफ्ना नीति वा कार्यक्रमहरू अगाडि बढाएको पाइँदैन । त्यसरी त्यसको नीति मुख्य रूपले यथास्थितिवादी प्रकारको नै छ । त्यसका सबै अवसरवादी र सम्झौतापरस्त नीतिहरूका विरुद्ध हामीले सम्झौताहीन र दृढतापूर्वक सङ्घर्ष गर्नुपर्दछ । त्यसका साथै देशभित्र त्यसले अपनाइरहेका अप्रजातान्त्रिक, जनविरोधी, भ्रष्ट नीतिहरु वा कार्यशैलीका विरुद्ध पनि दृढतापूर्वक संघर्ष गर्नुपर्दछ । तर त्यसप्रतिको हाम्रो सङ्घर्षको नीति दुश्मन शक्तिहरुप्रतिको जस्तो संघर्ष—एकता—संघर्षको नभएर मित्रशक्तिहरुप्रतिको जस्तो एकता—सङ्घर्ष—एकताको हुनेछ ।

१८. सरकारले भ्रष्ट र नोकरशाही प्रशासनयन्त्र, माफिया ग्रुपहरू र अन्य अवाञ्छित तत्वहरूमाथि पनि नियन्त्रण गर्न सकिरहेको छैन । सरकारको कार्यशैली पनि सन्तोषजनक रहेको छैन । सरकारका त्यसप्रकारका नीति वा कार्यशैलीका विरूद्ध सम्झौताहीन प्रकारले सङ्घर्र्ष गर्दै जानुपर्छ । तर यो सरकार प्रतिक्रियावादी नभएकाले देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले यसलाई अधिकतम रूपमा उपयोग गर्ने नीति अपनाए पनि त्यसमाथि पूरै विश्वास गर्न सकेका छैनन् । त्यसैले उनीहरूको प्रयत्न वर्तमान सरकारलाई अपदस्त गराएर पूरै दलाल सरकारको स्थापना गर्ने नै हुनेछ । त्यसका लागि उनीहरूले सङ्गठित रूपले अभियान पनि चलाइरहेका छन् । देशमा ने.का. सहित बिभिन्न पक्षहरूबाट वर्तमान सरकारलाई अपदस्थ गर्न चलिरहेको अभियानबाट त्यो कुरा बुझिन्छ । त्यसप्रकारको पृष्ठभूमिमा हामीले एकातिर, वर्तमान सरकारका सबै गलत नीति र कार्यशैलीका विरूद्ध दृढतापूर्वक र सम्झौताहीन प्रकारले सङ्घर्र्ष चलाउँदै, अर्कातिर हाम्रो त्यसप्रकारको नीतिले प्रतिक्रियावादीहरूको सङ्घर्र्षको नीतिलाई मदत नपुगोस् र त्यसरी हामी प्रतिक्रियावादीहरूको हातमा खेल्न नपुगौँ, त्यसप्रति पनि हामीमा उच्च प्रकारको सतर्कता हुनुपर्ने आवश्यकता छ ।
१९. वर्तमान सरकारप्रति हामीले कुन प्रकारको नीति अपनाउँछौँ ? त्यो मुख्य प्रश्न होइन । मुख्य प्रश्न यो हो ः देशका प्रमुख राजनीतिक प्रश्नहरूबारे हामीले कुन प्रकारको नीति अपनाउँछौँ ? हामीले बेग्लाबेग्लै प्रश्नहरूबारे जुन नीति अपनाउँछौँ, त्यससित जो जति निकट हुन्छ, त्यसप्रति हामीले त्यति नै नजिकको सम्बन्ध राख्दछौँ भने, हाम्रा नीतिहरूबाट जो जति टाढा हुन्छ, त्यसप्रति त्यति नै बढी विरोधको नीति अपनाउँछौँ । अहिलेका देशका तात्कालीन मुख्य समस्याहरूमा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता मुख्य प्रश्नहरू हुन् । तराईको सन्दर्भमा त्यहाँ राष्ट्रिय विखण्डनलाई रोक्नु देशको एउटा राष्ट्रिय आवश्यकता भएको छ । तराईको विखण्डनले देशलाई सिक्किम बनाउनको लागि मार्ग प्रशस्त गर्ने छ । उक्त प्रश्नहरूमा देशका राजनीतिक शक्तिहरू दुई कित्तामा उभिन्छन् र तिनीहरूको बीचको ध्रुवीकरण बढ्दै गइरहेको छ । उक्त प्रश्नहरूमा नेकपासित हाम्रो अपेक्षाकृत नजीकको सम्बन्ध छ भने ने.का, राप्रपा वा मधेशवादीहरूसित बढी टाढाको सम्बन्ध छ । त्यो अवस्थामा ती दुबै पक्षहरूलाई एकै श्रेणीमा राखेर विरोध गर्नु गलत हुने छ र पहिलो पक्षसित बढी एकता र दोश्रो पक्षसँग बढी विरोधको नीति अपनाउनु आवश्यक हुन जान्छ । हामीले त्यही प्रकारको नीति अपनाउँदै आएका छौँ ।

२०. आज हामीले देशका अगाडि उपस्थित बिभिन्न राजनीतिक प्रश्नहरू वा जनहितसित जोडिएका प्रश्नहरूमा आफ्नो पहलकदमी वा सङ्घर्र्षलाई बढाएर लैजानुपर्छ । तर त्यसका पछाडिको हाम्रो उद्देश्य नयाँ जनवादी क्रान्तिका लागि परिस्थिति वा आधार तयार पार्ने नै हुन्छ र हुनुपर्दछ । किनभने वर्तमान परिस्थितिमा आन्दोलन वा जनदवावका आधारमा हामी जनताका कतिपय मागहरू पूरा गराउन वा तात्कालीक रूपमा कतिपय राजनीतिक समस्याहरूलाई समाधान गर्न सफल भएपनि विद्यमान अर्धऔपनिवेशिक र अर्धसामन्ती व्यवस्था अन्तर्गत जनताका आधारभूत समस्याहरूको समाधान गर्न सम्भव हुन्न । त्यसैले हामीले तात्कालीन समस्या वा मागहरूको समाधानको लागि सङ्घर्र्ष गरेपनि रणनीतिक उद्देश्यको लागि परिस्थिति वा जनमत तयार पार्ने उद्देश्यलाई सँधै ध्यानमा राख्नुपर्दछ र त्यसद्वारा नै तात्कालीक नीतिहरु पनि निर्धारित हुनुपर्दछ ।

२१. यसबारे पनि हामी स्पष्ट हुनुपर्दछ कि ः वर्तमान संसदीय प्रणाली अन्तर्गत विद्यमान व्यवस्थामा आमूल परिवर्तन गर्नु र नयाँ जनवादी क्रान्ति सफल पार्नु सम्भव हुँदैन । त्यो उद्देश्य कम्युनिस्ट पार्टीको नेतृत्व दीर्घकालीन जनयुद्ध र क्रान्तिकारी संयुक्त मोर्चाद्वारा नै सम्भव छ । तर कुनबेला कुन प्रकारको कार्यनीति वा राजनीतिक नारा र सङ्घर्र्षका रूपहरू निर्धारित गर्ने ? त्यो कुरा कुनै खास बेलाको परिस्थितिको ठोस विश्लेषण गरेर नै निर्धारित गर्नुपर्दछ ।

२२. हाम्रो अहिलेको देशको परिस्थितिबारे विचार गर्दा तत्काल सशस्त्र सङ्घर्र्ष वा जनयुद्ध शुरू गर्ने स्थिति छैन । त्यसैले तत्कालको हाम्रो सङ्घर्र्षको प्रधान स्वरूप जनसङ्घर्र्ष नै हुनेछ । निश्चय नै त्यसका साथसाथै नयाँ जनवादी क्रान्ति वा सशस्त्र संघर्षको लागि परिस्थिति तयार पार्ने कार्यप्रति सँधै ध्यान दिनुपर्दछ । चुनावबारे पनि हामीले परिस्थितिको मूल्याङ्कन गरेर बहिष्कार गर्ने वा उपयोग गर्ने नीति अपनाउँछौँ । पंचायती कालको लामो अवधिमा हामीले चुनावको बहिष्कार गर्ने नीति अपनाएका थियौँ भने २०४६ पछिको पहिलो चुनाव पनि बहिष्कार गरेका थियौँ । तर अहिले चुनावको उपयोग गर्ने नीति अपनाएका छौैँ । परिस्थितिमा हुने परिवर्तन अनुसार हाम्रा यसप्रकारका नीतिहरूमा पनि परिवर्तन हुँदै जानेछ । रणनीति, आधारभूत कार्यक्रम वा पार्टींको विधानमा परिवर्तन गर्ने अधिकार महाधिवेशनलाई नै हुन्छ । तर कार्यनीतिसित सम्बन्धित प्रश्नहरूमा केन्द्रीय समिति, राष्ट्रिय सम्मेलन वा राष्ट्रिय भेलाहरूले पनि आवश्यकता अनुसार परिवर्तन गर्दै जान सक्दछन् ।

२३. एकातिर नयाँ जनवादी क्रान्तिको आधार तयार पार्न र अर्कातिर तात्कालिक आन्दोलनलाई प्रभावशाली प्रकारले अगाडि बढाउनको लागि पनि किसान आन्दोलन निर्णयात्मक महत्वको कुरा हो । तर हाम्रो देशमा त्यो धेरै नै पिछडिएको अवस्थामा छ । देशमा पुँजीवादको विकास वा देशमा बढ्दै गएको दलाल पुँजीको विकासका साथै किसान समस्याको प्रकृति पहिलेको सामन्तीकालमा भन्दा बेग्लै रूपमा अगाडि आइरहेको छ । त्यसैगरेर ग्रामीण क्षेत्रबाट ठूलो संख्यामा युवकहरूको सहर वा विदेशमा पलायनका कारणले पनि ग्रामीण क्षेत्रमा वर्गसङ्घर्र्ष वा किसान आन्दोलनलाई सशक्त रूपले अगाडि बढाउन कठिन हुँदै गएको छ । त्यसरी ग्रामीण क्षेत्रको बदलिंदै गएको परिस्थितिको सही अध्ययन गरेर तथा किसान आन्दोलनका लागि सही कार्यक्रम वा नीति निर्धारण गरेर नै किसान आन्दोलनलाई प्रभावशाली प्रकारले अगाडि बढाउनु सम्भव हुनेछ र त्यसका लागि हामीले ठोस रूपले प्रयत्न पनि गर्नुपर्दछ ।

२४. हाम्रो देशमा उद्योगको कम विकास भएकाले मजदूरवर्ग कमजोर अवस्थामा छ । त्यो बाहेक उनीहरूको जे जति संख्या छ, त्यसमाथि पनि प्रतिक्रियावादी वा दक्षिणपन्थी संशोधनवादी राजनीतिक पार्टी वा सङ्गठनहरूको नै बढी प्रभाव छ । त्यसले गर्दा हाम्रो देशमा मजदूर आन्दोलनको स्थिति अत्यन्त कमजोर छ । तैपनि मजदूर वर्ग उदीयमान शक्ति हो । त्यसैले मजदूर वर्गको सङ्गठन र उनीहरूको आन्दोलनलाई अगाडि बढाउन हामीले सङ्गठित रूपले प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

२५. हाम्रो देश धेरै नै पिछडिएको अवस्थामा छ । त्यसकारण हामीले राजनीतिक कार्य वा आन्दोलनहरूमा विशेष जोड दिनुका साथै विकास कार्यहरूमा पनि पहलकदमी बढाएर लैजानुपर्ने आवश्यकता छ । त्यसले जनतासितको हाम्रो सम्बन्धलाई सुदृढ पार्न मदत पुर्याउने छ । हामीले आफ्नो स्वतन्त्र पहलकदमीमा पनि सम्भव भएसम्म विकास कार्यहरूलाई सम्पन्न गर्न पहल गर्नुका साथै बिभिन्न स्तरका सरकारहरूबाट पनि बढी भन्दा बढी सहायता लिएर विकास कार्यहरूलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ ।

२६. देशमा साम्राज्यवाद वा बहुराष्ट्रिय कम्पनीहरूको सहयोगमा चल्ने एनजीओ वा आईएनजीओहरू ठूलो संख्यामा सक्रिय छन् । उनीहरूले जनताको सेवा या विकासको नाममा साम्राज्यवादी शक्तिहरूको सेवा गर्ने, देशमा वामपन्थी आन्दोलनहरूलाई कमजोर पार्ने वा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँच पुर्याउने काम पनि गरिरहेका छन् । वास्तवमा उनीहरूको कारणले जनताको चेतना पनि कुण्ठित हुँदै गइरहेको छ । उनीहरूबाट प्राप्त हुने सहायता वा बिभिन्न प्रकारका प्रलोभनहरूका कारणले देशका बुद्धिजीवि, आम जनता र देशको नयाँ पींढीको नै चरित्रमा ह्रास हुँदै गइरहेको छ । त्यसकारण उनीहरूको विरोध र भण्डाफोरको कार्यलाई पनि हामीले व्यापक रूपले बढाएर लैजानुपर्ने आवश्यकता छ । तर त्यसो गर्दा जनताको पहलकदमी वा सहयोगमा सञ्चालित एनजीओ(गैरसरकारी संस्थाहरु)को पनि विरोध गर्नु सही हुने छैन । 

२७. नेपालको कम्युनिस्ट आन्दोलन वा क्रान्तिकारी आन्दोलन विश्व क्रान्तिकारी आन्दोलनको अभिन्न अङ्ग हो । त्यसकारण हामीले उक्त अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनसित पनि घनिष्ट र जीवित सम्पर्क राख्नुपर्दछ र त्यसलाई मजबुत पार्नको लागि बढी भन्दा बढी योगदान दिने प्रयत्न गर्नुपर्दछ । त्यसरी नै नेपालको क्रान्तिकारी आन्दोलनलाई पनि बल पुग्ने छ ।

२८. हामीले देशभित्र आफ्नो स्वतन्त्र पहलकदमीमा आन्दोलन अगाडि बढाउन प्रयत्न गर्नुका साथै बिभिन्न प्रश्नहरूमा समान विचारधारा राख्ने पक्षहरूसित पनि बिभिन्न स्तरमा संयुक्त मोर्चा, कार्यगत एकता वा सामान्जस्यता कायम गरेर सङ्घर्र्षलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । तर त्यसो गर्दा आफ्नो स्वतन्त्र पहलकदमी तथा उनीहरूसित भएका मतभेदहरुबारे बेग्लै सङ्घर्र्षलाई अगाडि बढाउने कुराप्रति पनि हाम्रो सँधै ध्यान जानुपर्दछ ।

२९. साम्राज्यवादको विरुद्धको संघर्ष आज विश्वको एउटा अन्तर्राष्ट्रिय कर्तव्य बन्न गएको छ । त्यसकारण देशभित्र उनीहरुका विरुद्धको संघर्षमा लगातार पहलकदमी गर्नुका साथै अन्तर्राष्ट्रिय रुपमा पनि समान विचार राख्ने पार्टी वा संगठनहरुसित अधिकतम एकता कायम गरेर संयुक्त रुपले त्यो संघर्षलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ ।

अन्तमा हामीले पुनः यो महाधिेवेशनमा उपस्थित हुनुभएका सबै आमन्त्रित अतिथि, प्रतिनिधि, पर्यवेक्षक, भाइचारा प्रतिनिधि, स्वयम्सेवकहरु सबैलाई अभिनन्दन गर्न चाहन्छौँ । यो महाधिवेशनको सफलताको लागि सहयोग पुर्याउने देशभरका सबै पार्टी सदस्य, पार्टी समिति, मोर्चा र जनवर्गीय संगठनहरु, शुभेच्छुकहरु र आम जनतालाई पनि धन्यवाद दिन चाहन्छौँ । वास्तवमा यो महाधिवेशनको लागि पार्टीभित्र वा बाहिरका बिभिन्न तहबाट भएको व्यापक सहयोगले एउटा आन्दोलनकै रुप लिएको छ । त्यसरी व्यापक रुपमा यो महाधिवेशनमा भएको सहभागिता र सबैतिरबाट प्राप्त समर्थन र सहयोगको कारणले यो महाधिवेशन पूरै पूर्ण रुपले सफल हुने छ भन्ने हामीले विश्वास गरेका छौँ ।

(नेपाल कम्युनिष्ट पार्टी (मसाल)को ८औं महाधिवेशन भर्खरै सम्पन्न भएको छ । महाधिवेशनमा महामन्त्री मोहनविक्रम सिंहले प्रस्तुत गरेको वक्तव्यको सम्पादित अंश)

मोहनविक्रम सिंह

लेखक नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय