सारेगमप लिटल च्याम्प्समा तेस्रो भएका प्रीतमले यसरी सुनाए आफ्नो अनुभव

ehulaki
----------------- | जेठ २८, २०७६ मंगलबार | 0

काठमाडौं । भारतको जी टिभीबाट प्रशारित भएको सारेगमप लिटल च्याम्प्स कार्यक्रममा तेस्रो भएका इटहरी उपमहानगरपालिका ५ का ११ वर्षीय बालक प्रीतम आचार्य सोमवार नेपाल फर्किएका छन्। उनी झापाको काँकरभिट्टा आइपुग्दा उनका आफन्त, सङ्गीतप्रेमी तथा उनका विद्यालयका साथीहरूले उनलाई फूलमालाले स्वागत गरेका थिए।

सारेगमप लिटल च्याम्प्स २०१९ मा उनीसँग फाइनल राउन्डमा अन्य पाँचजना प्रतिस्पर्धी थिए। नेपालका अर्का बालक आयुष केसी पनि उनका प्रतिस्पर्धी थिए। फाइनल राउन्डमा आचार्य तेस्रो घोषित भएका थिए। फाइनल राउन्डको कार्यक्रम भारतीय समय अनुसार आइतबार साँझ ८ बजे प्रशारण भएको थियो।

माधुरी दीक्षितको माया

बाल गायक प्रीतम आचार्यले करिब पाँच महिना मुम्बइमा बलिउडका कलाकारहरूसँग सङ्गत गर्ने मौका पाए। उनका अनुसार बलिउडमा धेरै कलाकारहरूसँग उनको भलाकुसारी भयो। धेरैले प्रीतमको गायनकलाको प्रशंसा गरे।

प्रीतमका अनुसार सबैभन्दा माया उनले बलिउड अभिनेत्री माधुरी दीक्षितबाट पाए। उनले भने, "कार्यक्रम रेकर्डिङ भएका बेला खाना खाने समयमा मलाई छेउमा बोलाएर तिमी धेरै राम्रो गाउँछौ, तिमी र म एकचोटी अवश्य काम गर्छौँ भन्नुभयो।"

उनले कार्यक्रमका प्रायः शोहरूमा गायक उदितनारायण झाको नाम लिन्थे। एक पटकको कार्यक्रम रेकर्डिङमा गायक झालाई नै पाहुना निर्णायकको रुपमा पाउँदा खुशी पनि भएको उनले सुनाए। तर उनलाई कता कता डर पनि भयो। त्यो दिन उनकै गीत गाउनुपर्ने थियो 'जादु तेरी नजर….।'

प्रीतमले भने, "तर हिम्मत राखेर मज्जाले गाइदिएँ। राम्रो पनि भयो।"

दिल्ली र दक्षिण अफ्रिकामा कन्सर्ट

बाल गायक प्रीतम आचार्यले भारतको दिल्ली र दक्षिण अफ्रिकाको कन्सर्टका लागि आफूलाई प्रस्ताव आइसकेको बताए। ती कन्सर्टका लागि दुई महिनापछि भारत जाने उनले सुनाए।

जसको आम्दानीको ६० प्रतिशत जी टिभी र ४० प्रतिशत आफ्नो हुने उनले बताए। उनले भने, "जी म्युजिकबाट एउटा गीत पनि रेकर्डिङ गराउने योजना छ।"

आफ्नो खास साङ्गीतिक जीवन भारतबाट सुरु भएकाले नेपाली गीतका लागि पहिला उच्चारण सुधार्ने प्रीतमको भनाइ छ।'

नेपालको याद

लामो समय मुम्बई बसाइका क्रममा नेपालको धेरै याद आएको उनले सुनाए। त्यसमा पनि नेपालको डाँडाकाँडा, खोलानाला, स्कूलका साथी तथा परिवारका सदस्यको अति नै याद आएको प्रीतमले बताए।

एक पटक आफ्नी आमा राधिका आचार्यले बिहान सुतिरहेका बेला छोडेर हिँड्नुपर्दा त्योबेला आमालाई निकै 'मिस' गरेको अनुभव उनले सुनाए। उनले भारतमा सङ्गीत क्षेत्रको धेरै विकास भएको आफूले देखेर आएको बताए।

प्रीतमले भने, "भारतमा साउन्ड सिस्टम, बाजागाजा तथा लाइटिङ सिस्टम अति राम्रो रहेछ। नेपालमा त्यो पाइँदैन।" उनले गायनसँगै आफ्नो पढाईमा पनि ध्यान दिने बताए। - बीबीसी नेपालीबाट

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय