कम्युनिष्ट आन्दोलन आक्रामक कि रक्षात्मक ?

ehulaki
प्रमोद धिताल | जेठ २८, २०७६ मंगलबार | 0

कोही भन्छन् यतिखेर विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । अनि कोही भन्छन् त्यसको बाबजुद पनि नेपालमा कम्युनिष्ट आन्दोलन आक्रामक अवस्थामा छ । किनकि यहाँ जनयुद्ध लडेर आएको ठूलो शक्ति छ । पहिलो संविधानसभाको चुनावदेखि अहिलेसम्म उनीहरु नै निर्णायक छन् । यतिखेर त झन उनीहरुबीच एकता भएर बहुमतको सरकार छ । के यति हुँदैमा नेपालको कम्युनिष्ट आन्दोलन आक्रामक अवस्थामै छ त ? यो वस्तुगत सच्चाइ हो या मनोगत र भ्रमपूर्ण आशावादको उपज हो ?  यस विषयमा केही मन्थनको जरुरी छ ।

कतै पढेको थिएँ कम्युनिष्टहरुका केही विशेषताहरुमध्य एउटा विशेषता, “सत्यसँग निशर्त प्यार र निष्ठा हुनु हो ।” सत्यलाई आत्मसात गर्ने सवालमा जब हामी आफ्नो मनको कुरा मिसाउँछौं, त्यसपछि त्यो सत्य नभएर मनोगत कुरा हुन्छ । यो रोगको विशेषता नेपालको जल्दोबल्दो भनिएको कम्युनिष्ट आन्दोलनको पछिल्लो चरणसम्म झाँगिएको रोग हो । मेरो अध्ययनमा विगतमा केही राम्रा अभ्यासहरु हुनुको बाबजुद पनि यतिखेर संस्थागतरुपमा सच्चा कम्युनिष्ट आन्दोलन विघटनको अवस्थामा छ । यतिखेरको आन्दोलन वाम आन्दोलन त हो तर कम्युनिष्ट आन्दोलन होइन । सामन्तवादी दृष्टि, अभ्यास र संस्कृतिले गाँजेको कम्युनिष्ट नाम दिइएको आन्दोलनलाई कम्युनिष्ट आन्दोलन भनिएको छ, त्यो बेग्लै कुरा हो ।

यसलाई पुष्टि गर्नको लागि केही आधारहरु पेश गर्न सकिन्छ, पहिलो, दार्शनिक कार्यदिशाको अभाव ः मानवको व्यक्तिगत जीवनदेखि संस्थागत जीवनलाई चलाउने आधार भनेको दर्शन हो । उसको जीवन र जगतलाई देख्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने आधार भनेको पनि दर्शन नै हो । जब कुनै पनि व्यक्ति र आन्दोलनले आफ्नो दर्शनको कित्ता स्पष्ट पार्दैन । त्यसपछि त्यो पुरानो समाजबाट आरोपित दर्शनको सामु घुँडा टेक्न पुग्छ । नयाँ मानव र समाजका निर्माणको लागि नयाँ दर्शन र त्यसको अभ्यासको खाँचो पर्छ, जुन नेपालको कम्युनिष्ट भनिएको आन्दोलनभित्र यतिखेर देखिदैन । यदि त्यसको अस्तित्व छ भने पनि कर्मकाण्डको तहमा छ । लेख्दा, बोल्दा, उपदेश दिँदा प्रयोग गरिने कर्मकाण्डीय धार्मिक मन्त्रहरुमा परिणत भएको छ कम्युनिष्ट दर्शन । “अहिलेसम्मका दार्शनिकहरुले  संसारको व्याख्या गर्दै आए तर अन्तिम कुरा व्याख्या गर्नु नभएर त्यसलाई बदल्नु हो” देखि लिएर “ज्ञानले मात्र कहीं क्रान्ति गरेको छैन तर अज्ञानताले पनि क्रान्ति गरेको छैन ।” जस्ता गहन भनाईहरुलाई आत्मसात गर्ने हो भने कम्युनिष्टहरुको प्रथम पूँजी भनेको दर्शन हो । जसको अभावमा दुनियाँको अगुवाई गर्न खोज्नु मूर्खतापूर्ण प्रयास हो । कुनै बेला नेपालका सबैभन्दा अध्ययनशील भनेर चिनिने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु अध्ययन नगर्ने लम्पट प्राणी भनेर चिनिने खतरा बढ्दै गएको छ । 

दोस्रो, राजनीतिक कार्यदिशाको अभाव : यदि सरकारी ‘कम्युनिष्ट पार्टी’को राजनीतिक कार्यदिशा के हो ? भन्ने प्रश्न उठ्ने हो भने समाजवाद ल्याउने भन्ने बनिबनाउ जवाफ बाहेक अरु केही भेटिन गाह्रो छ । त्यो मनचिन्ते समाजवाद र कमल थापाहरुको “रामराज्य”को पुनरुत्थान र नेपाली काँग्रेसको दस्तावेजमा सीमित समाजवादको बीचमा केही पनि भिन्नता छुट्याउन गाह्रो छ । घुमाईफिराई बहुलवादको दार्शनिक मान्यताको शरणमा पुग्नु, चुनाव र सरकारमा सहभागी हुने कुराको विकल्प नदेख्नु, जान–अन्जानमा भएका सबै गल्तीहरुलाई ‘क्रान्ति’कै नाउँमा सैद्धान्तिकरण गर्नुले हिजोको कम्युनिष्ट आन्दोलन आजको इमान्दार बाम आन्दोलनसम्म पनि सीमित हुन गाह्रो छ । सवाल सरकार र चुनावमा सहभागी हुनु ठीक थियो कि थिएन भन्ने होइन । बरु सवाल त चुनावमार्फत सरकारमा सहभागी भएपनि के गर्ने के नगर्ने भन्नेमा हो । गलत, भ्रमपूर्ण या झूठको राजनीतिक कार्यदिशाले यथास्थितिको राजनीतिबाट कहिल्यै नउम्किने गरी कसरी धरासायी पार्दोरहेछ भन्ने कुराको राम्रो उदाहरण बन्न पुगेको छ नेपालको कम्युनिष्ट आन्दोलन ।

हाल सरकारी कम्युनिष्ट पार्टीका नेताहरु तर्क गर्ने गर्छेन् कि “हामी यो बाटो नगएर अर्को कुन विकल्प थियो त ?” “युद्धलाई निरन्तरता दिएर या प्राप्त गणतन्त्रलाई बेवारिस छोडेर अपनाउन सकिने अर्को बाटो के थियो ?” गम्भीर विषय यो हुँदै होइन । गम्भीर विषय त यो राजनीतिक क्रान्तिको एउटा माध्यम चुनाव र सरकारलाई बनाइसकेपछि कहाँ पुगियो भन्ने हो । क्रान्ति र क्रान्तिकारी साख जोगाउनको लागि प्रयोग गरियो या गुमाउनको लागि भन्ने अन्तिम प्रश्न थियो । जसको उत्तर निराशाजनक छ । यसको पछाडिको मूल कारण हामीले राजनीतिक कार्यदिशामै खोज्नुपर्ने हुन्छ । आफू सरकारमा सहभागी भइसकेपछि गर्न सकिने, गर्न प्रयास गरिने र कामहरुको बारेमा सार्वजनिक घोषणा गर्ने मात्र होइन गर्न नसकेमा के गर्ने भन्ने कुराको पनि स्पष्टता हुनुपथ्र्यो । राजनीतिक भ्रष्टाचार अहिलेको पनि मुख्य समस्या हो । नैतिक बल नभएको राजनीतिक शक्तिले भ्रष्ट राज्यसत्ताभित्र सार्थक हस्तक्षेप गर्नसक्ने कुरा कोरा कल्पना मात्र हो । ‘कम्युनिष्ट’ नामको सरकारबाट कायम हुनुपर्ने महत्वपूर्ण पहिचान भनेको नैतिक–साँस्कृतिक पहिचान हो । बाँकी पहिचान त अरुले पनि देखाइहाल्छन् । बाटा–घाटा, पुल–पुलेसा बनाउनको लागि मात्र कम्युनिष्टको सरकार हुन जरुरी छैन । कमिशनको खेती गर्नलाई कम्युनिष्ट सरकार नै आउनु पर्दैन, त्यो जतिबेला पनि थियो । कम्युनिष्ट पार्टीको प्रतिनिधि सरकारको पनि प्रतिनिधि भइरहँदा समाजप्रति उसको रवैया कस्तो छ ? उसले सरकारी औजारलाई केका निम्ति प्रयोग ग¥यो ? त्यो महत्वपूर्ण कुरा हो ।  त्यो हैसियत संस्थागत रुपमा देख्न सकिने अवस्था छैन ।

तेस्रो, साँगठनिक कार्यदिशाको अभाव : बद्लिदों सामाजिक विश्व परिवेशमा सांगठनिक कार्यदिशालाई परिमार्जन गर्दै जानुपर्ने कुरा आफ्नै ठाउँमा होलान् । तर हालसम्म सर्वस्वीकृत मानिएको लेनिनवादी साँगठनिक सिद्धान्त कहिँनेर लागू भएको देख्न गाह्रो छ । लेनिनवादी साँगठनिक कार्यदिशाबाट च्यूत भएर हिजोको आन्दोलन आज गुटहरुको महासंघमा परिणत भएको छ । निर्वाचनको कुनै सुव्यवस्थित, वैज्ञानिक र भरपर्र्दो मापदण्ड छैन । त्यसको स्थान मनोनयन प्रणालीले लिएको छ । राजनीतिक मतभिन्नताका प्रश्नहरुलाई सांगठनिक तरिकाले हल खोज्ने काम भएको छ, त्यो पनि गुटको आधारमा । को कसको मान्छे हो भन्ने आधारमा व्यवहार हुनु न कुनै माक्र्सवाद हो न त्यो वैचारिक संघर्ष । त्यो त सरासर सामन्तवाद हो । जसभित्र सांगठनिक कार्यदिशाका सबै मान्यताहरु भताभुङ्ग छन्, भलै लिखितरुपमा माक्र्सवाद–लेनिनवादलाई स्वीकारिएको किन नहोस् । 

चौथो, साँस्कृतिक कार्यदिशाको अभाव : आज कम्युनिष्ट आन्दोलनभित्र साँस्कृतिक कार्यदिशाको अवस्था के छ ? यसको जवाफ पाउनुभन्दा पहिला सर्वहारा साँस्कृतिक क्रान्तिका पथप्रदर्शक माओको एउटा भनाई उद्धृत गर्नु सान्दर्भिक हुन्छ–“राजनीतिक कार्यदिशा सही हुनु र नहुनुले सबै कुराको निर्धारण गर्दछ ।” यसको अर्थ पहिला राजनीतिक कार्यदिशा सही हुनैपर्छ भन्ने हो । त्यो नै सही भएन भने त्यसको असर सबैतिर देखिन्छ । नाउँ बिर्सिदिने हो भने आज ‘कम्युनिष्ट पार्टी’ का नेता कार्यकर्ताहरुको साँस्कृतिक जीवन अन्य व्यक्तिहरुको भन्दा भिन्न देख्न सकिने अवस्था छैन । यतिखेर साँस्कृतिक रुपान्तरणको जिम्मेवारी संस्थागत रहेन त्यो व्यक्तिको इच्छाशक्तिमा सीमित हुनपुग्यो । सामन्तवादी, धार्मिक तथा उपभोक्तावादी मत र साँस्कृतिक रुपान्तरणको पक्षधर मतको बीचमा जनमत सँग्रह गराउने हो भने साँस्कृतिक रुपान्तरणको मत पराजित हुने कुरा निश्चित छ । यसको पछाडि स्पष्ट कारण छ । त्यो भनेको समाजवाद निर्माणको प्रश्न नयाँ मानिस हुँदै नयाँ समाजको निर्माणको प्रश्न हो भन्ने प्रशिक्षण र अभ्यासको अवसान । हिजो टुपी काट्ने, रक्सीकले नुहाइदिने र  शैक्षिक योग्यतालाई बुर्जुवा शिक्षा भनेर दुत्कार्ने पात्रहरु आज फेरि सामन्तवादी र उपभोक्तावादी संस्कृतिको रछ्यानमा किन टाउको जोतिरहेका छन् ? के यो विघटन सामान्य कुरा छ ? नयाँ मानिस र नयाँ समाजबिनाको समाजवाद कसरी निर्माण गर्न खोजेको हो ? यसले भन्ने गरिएको समाजवाद झूठको खेती हो भन्ने कुरा प्रष्ट पार्दैन र ?

अन्तमा एउटा उल्लेख गर्नैपर्ने महत्वपूर्ण विषय छ, त्यो भनेको विद्रोहको कारोबार । चाहे त्यो सांगठनिक विद्रोह होस् या राजनीतिक विद्रोह, यदि त्यसको कार्यदिशा, योजना र गतिमा विकल्प छैन भने त्यो पुग्ने ठाउँ भनेको  अन्ततः दक्षिणपन्थमै हो । त्यो खतरा हिजो जति थियो त्यो दिन दुईगुणा रात चौगुणा अझै बढेको छ । किनकि हाल वैकल्पिक शक्तिको रुपमा खडा भएका ‘कम्युनिष्ट पार्टी’ हरुले पनि आफ्नो धुरी र बाटो निर्माण गर्न सकेका छैनन् ।  त्यो शक्ति संगठितदेखि लिएर असंगठित र छरिएको अवस्थासम्म उपस्थितिमा छ । यो विषयमा त्यो शक्ति जति गम्भीर बन्छ आगामी कम्युनिष्ट आन्दोलनको भविष्य त्यही अनुसार निर्धारण हुन्छ । दक्षिणपन्थको महामारीभित्र विद्रोह, आन्दोलन र प्रतिक्रियाको कारोबार पनि बेसरी फस्टाएको मौसम हो यो । यो अवस्थामा सामान्य कसरतले नै कम्युनिष्ट आन्दोलन फेरि तरोताजा भएर उठिहाल्छ भनि सोच्नु धेरै कमजोर सोंच हुनेछ । रक्षात्मक बनेको कम्युनिष्ट आन्दोलनभित्र दक्षिणपन्थको विरुद्ध सार्वभौम संघर्ष चलाउनु नै यतिखेरको आवश्यकता हो । 

प्रमोद धिताल

धिताल सक्रिय राजनितिक/साँस्कृतिक चिन्तक हुन । अनुसन्धानमूलक लेख लेख्ने धिताल कवि पनि हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय