चन्दा उठाएर रंगशाला बन्दैन् : प्रचण्ड

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निमार्ण थालिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव नहुने बताएका छन् ।

उनले चन्दा संकलन गरेर रंगशाला निमार्णको काम थालिए पनि सरकारले आवश्यक सहयोग गर्ने बताए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘चन्दा उठाएर मात्रै यो सम्भव छैन, चितवन जिल्ला र समग्र देशकै गौरवको आयोजना रहेको क्रिकेट रंगशाला निमार्णको कामका लागि सरकारले आवश्यक सहयोग गर्छ । प्रोत्साहन स्वरुप बजेट विनियोजन हुन्छ ।’

प्रचण्डले रंगशाला निमार्णका क्रममा देखिएका सामान्य विवाद समाधान भइसकेको बताउँदै अब कामले तीव्रता पाउने दाबी गरे ।

‘चन्दा उठाएर मात्रै पनि रकम पुगेन भने यस्ता आयोजनालाई प्रोत्साह गर्ने भनेको छ सरकारले’, दाहालले थपे, ‘चन्दाले मात्रै यति ठुलो आयोजना बन्दैन, त्यहीकारण यो वर्षका नीति तथा कार्यक्रममा एउटा आधार तय गरेका छौँ ।’ रंगशाला निर्माणमा भएको अवरोधलाई उनले ठुलो काममा सानातिना समस्या आउने प्रतिक्रिया दिए । ‘रंगशालामा अहिले भएको अवरोध सानोतिनो कुरा हो । ठुलो काम भएकाले यस्ता समस्या आउनु सामान्य हो । साना साना समस्या चिर्दै रंगशाला निर्माण अघि बढ्छ ।’

उनले तीन नम्बर प्रदेशको स्थायी मुकाम र नामाकरणका बारेमा पार्टीमा छलफल भइराखेको बताउँदै विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

प्रचण्डले सरकारको नेतृत्व आलोपालो नै हुने दोहोर्याए। 

उनले पार्टीभित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाकोमा  विरोधको सामना गर्नुपरेको बताए । ‘विधेयकका सन्दर्भमा तयारी राम्रो पुगेन । जति गृहकार्य भएर विधेयक आउनुपर्थ्यो,, त्यो नपुगेकै हो । सरकार, पार्टी यसमा सतर्क भएको छ,’ उनले भने ।

उनले लोकसेवाको कर्मचारी भर्ना प्रक्रियाबारे संसदीय समितिले एक खालको निर्णय गरेको बताउँदै प्रधानमन्त्री फर्किएपछि छलफल गरेर सकारात्मक ढंगले टुंग्याउने बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय