रोनाल्डोलाई यसकारण पछि पार्दै नम्बर वानमा परे मेसी

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन् ।

उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर (१४ अर्ब १२ करोड नेपाली रुपैयाँ) कमाएका छन् ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका ब्राजिलका नेमारले १० करोड पाँच लाख डलर कमाएका छन् ।

अमेरिकी पत्रिका फोर्ब्सले खेलाडीहरूले जुन १०२८ देखि एक वर्षमा जितेको पुरस्कार, तलब र अन्य व्यावसायिक आम्दानी जोडेर सो सूची प्रकाशित गरेको हो ।

सन् १९९० मा सूची प्रकाशित हुन थालेयता शीर्ष स्थानमा तीन फुटबल खेलाडी रहेको यो पहिलो पटक हो ।

अमेरिकी वर्चस्व

सबैभन्दा बढी कमाउने सय खेलाडीको सूचीमा ३८ जना गैरअमेरिकी छन् ।

सबैभन्दा बढी बास्केटबलका ३५ खेलाडी रहेको सूचीमा अमेरिकी फुटबलका १९, बेसबलका १३, फुटबलका १२ तथा बक्सिङ, गल्फ र टेनिसका पाँच(पाँच जना रहेका छन् ।

सूचीमा रहेकी एक मात्र महिला खेलाडी टेनिसकी सेरेना विलियम्स ६३औँ स्थानमा छिन् । उनले गत वर्ष दुई करोड ९२ लाख डलर कमाएकी थिइन् ।

एकमात्र दक्षिण एशियाली खेलाडी

सूचीमा दक्षिण एशियाबाट एक मात्र खेलाडी रहेका छन् ।

एक सयौँ स्थानमा रहेका भारतीय विराट कोहली सूचीमा क्रिकेटका पनि एक मात्र प्रतिनिधि हुन् ।

उनले गत वर्ष तलब र पुरस्कारमा ४० लाख डलर र व्यावसायिक कार्यबाट दुई करोड १० लाख डलर कमाएका फोर्ब्सले जनाएको छ ।


सबैभन्दा धेरै कमाउने पाँच खेलाडी

१ लियोनल मेसी, फुटबल, १२ करोड ७० लाख डलर

२ क्रिस्टियानो रोनाल्डो, फुटबल, १० करोड नौ लाख डलर

३ नेमार, फुटबल, १० करोड पाँच लाख डलर

४ क्यानेलो अल्भारेस, बक्सिङ, नौ करोड ४० लाख डलर

५ रोजर फेडेरर, टेनिस, नौ करोड ३४ लाख डलर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय