सरकारले विज्ञापन छापेको पैसा नदिएपछि धर्ना बसेका ९ पत्रकारहरु गिरफतार

ehulaki
ई-हुलाकी संवाददाता | जेठ २९, २०७६ बुधबार | 0

जनकपुर । सरकारले विज्ञापन छापेको पैसा नदिएपछि धनुषा (जनकपुर)का पत्रकारहरु धर्नामा बसेका छन् । जिल्ला हुलाक कार्यालयको अगाडि शान्तिपूर्णरुपमा धर्ना बसेका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

शान्तिपूर्ण धर्ना र तालाबन्दी कार्यक्रम रहेको र धर्नास्थलमा प्रहरीले हस्तक्षेप गरी ९ जना पत्रकारहरुलाई पक्राउ गरेको हो । धर्नाबाट पक्राउ गरिएका पत्रकारहरुमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव आरएन विश्वास, महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका प्रदेश सभासदद्वय वैद्यनाथ यादव, नवीनकुमार गुप्ता, सप्तरी शाखाका कार्यसमिति सदस्य भूषणकुमार सिंह र विन्दु यादव तथा सदस्यहरु धर्मपाल राउत, गोपाल गुप्ता र परिस कर्णसहित ९ जना पत्रकारलाई रहेका छन् । पक्राउ गरिएका पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको महासंघका केन्द्रीय सदस्य अवधेशकुमार झाले जानकारी दिए ।


लोककल्याणकारी विज्ञापनको भुक्तानीमा भारी कटौती गरिएको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राख्दै पत्रकारहरु शान्तिपूर्ण धर्नामा बसेका थिए । उनीहरुलाई आज दिउँसो ४ः३० बजे धुनषास्थित जिल्ला हुलाक कार्यालय धर्नास्थलमै पत्रकारमाथि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘आफ्ना जायज मागहरु राखी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेका अवस्थामा प्रहरीबाट हस्तक्षेप भई पत्रकार पक्राउ गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो’, महासचिव विष्टको विज्ञप्तिमा भनिएको छ । महासंघले प्रहरीबाट भएको दमनको निन्दा र भत्र्सना गर्दै पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, विज्ञप्तिमा पत्रकारहरुले उठाएका जायज मागहरुप्रति गम्भीर भई यथाशीघ्र पूरा गर्न सरकारसँग माग पनि गरिएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय