जीत नजिक पुगेको खेलमा अचानक हार्यो पाकिस्तान, स्टार्कले उल्ट्याइदिए खेल

ehulaki
----------------- | जेठ ३०, २०७६ बिहिबार | 0

काठमाडौं । आईसीसी विश्व कपको बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान २६६ रनमा अलआउट भयो । 

पाकिस्तानलाई लक्ष्यभन्दा पहिल्यै रोक्न अष्ट्रेलियाका लागि पाट कमिन्सले ३ विकेट लिए भने मिचेल स्टार्क र केन रिचर्डसनले २–२ विकेट लिए । यस्तै नाथन कुल्टरनाइल र कप्तान अरोन फिन्चले एक एक विकेट लिए । 

पाकिस्तानका लागि एकमात्र अर्धशतक इमाम उल हकले बनाए । उनले ५३ रन बनाएका थिए । अन्य पाकिस्तानी ब्याट्सम्यानले राम्रो शुरुआत गरे पनि ठूलो स्कोर बनाउन नसक्दा टिम जारी प्रतियोगितामा दोस्रो हार व्यहोर्न बाध्य भयो । पाकिस्तानका लागि वाहब रियाजले ४५, मोहम्मद हाफिजले ४६ र कप्तान सर्फराज अहमदले ४० रन बनाए । अहमद आउट हुने अन्ति ब्याट्सम्यान थिए । उनी ननस्ट्राइकर इण्डमा रनआउट भए । 

अन्तिमसम्म खेल पाकिस्तानको हातमै थियो । ४४ ओभरको समाप्तिमा २६३ रन बनाएको थियो । उसको हातमा तीन विकेट थियो र जितका लागि ३६ बलमा ४५ रन आवश्यक थियो ।

क्रिजमा सेट  भइसकेका ब्याट्सम्यान कप्तान सर्फराज र वाहब थिए । तर ४५ औं ओभरमा खेल एकाएक अष्ट्रेलियाको पक्षमा गयो । ओभरको दोस्रो र चौथो ओभरमा मिचेल स्टार्कले विकेट लिए ।

अर्को ओभरको चौथो बलमा सर्फराज रनआउट भएपछि पाकिस्तान जित नजिकको खेलमा पनि हार्‍यो ।

यसअघि डेबिड वार्नरले १०७ रनको उत्कृष्ट इनिंग खेले भने कप्तान फिन्चले ८२ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिरले ३० रन दिएर ५ विकेट लिएका थिए । 

जितसँगै अष्ट्रेलियाको ४ खेलमा तीन जितसँगै ६ अंक भएको छ । जितपछि अष्ट्रेलिया अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उता ४ खेलमा दुई खेलमा पराजित भएको र एक खेल जितेको तथा अर्को खेल रद्द हुँदा पाकिस्तान ३ अंकका साथ आठौं स्थानमा छ ।

यो हारपछि पाकिस्तानको सेमिफाइनल प्रवेश कठिन बनेको छ भने अष्ट्रेलियाले सेमिफाइनलका लागि एक कदम अगाडि बढाएको छ । बिहीबार  जारी प्रतियोगितामा अपराजित रहेका दुई टिम भारत र न्यूजिल्याण्डबीच हुनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय