विपद्को जोखिममा वीरेन्द्रनगर

ehulaki
रासस | साउन ९, २०७६ बिहिबार | 0

प्रकाश अधिकारी,सुर्खेत । पछिल्लो २४ घण्टा भित्र वीरेन्द्रनगरमा मुलुककै सबैभन्दा बढी वर्षा भयो ।

भीषण वर्षाका कारण वीरेन्द्रनगरका नदीनाला कटान हुनुका साथै तल्लो तटीय क्षेत्र डुबानमा पर्यो । प्रहरीले बुधबार बिहान डुबान प्रभावित पर्सेनीका ३० स्थानीयवासीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सार्यो ।

विसं २०७१ साउन २९ को झल्को दिने गरी बस्ती डुबानमा पर्दा त्रास फैलियो । बिहानबाट वर्षा शुरु हुँदा मानवीय क्षति हुन पाएन । सामान्य वर्षा हुँदासमेत सुर्खेतको तल्लो तटीय क्षेत्र जलमग्न भई धनजनको क्षति हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा वीरेन्द्रनगरमा १५२ मिलिमिटर वर्षा मापन गरेको छ । आकस्मिक उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई बुधबार दिनभर तल्लो सुर्खेत क्षेत्रमा ‘हाइअर्लट’ अवस्थामा राखिएको थियो ।

भू–तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी शिखर चपाइँले खोलानालाको बढ्दो अतिक्रमण र उपत्यकाबाट पानी बाहिरिने द्वार साँघुरो भएकाले वर्षेनी डुबानको समस्या निम्तिरहने बताए । उपत्यकाको तल्लो खण्डमा अतिक्रमणले खोलानाला साँघुरिँदै छन् । “माथिल्लो खण्डमा अपवादबाहेक २०–२५ मिटर खोला चौडा छन् । तलतिर गएपछि साँघुरो हुँदै नालामा परिणत हुन पुगेका छन्”, उनले भने, “डुबानको खतरा निम्त्याउने मुख्य कारण नै यही हो ।”

प्रदेश राजधानी कायम भएसँगै वीरेन्द्रनगरमा आवास निर्माणक्रम पनि बढ्दो छ । पानी सोस्ने खाली जमीनमा घर निर्माण हुनु र खोला क्षेत्र अतिक्रमणमा पर्नुले पानीलाई सहज बग्न अवरोध हुने गरेको बताइएको छ ।

इत्राम, नेवारे, खोर्केखोला उपत्यकाका मुख्य खोला हुन् । उपत्यकाबाट पानी बाहिरिने द्वारलाई ‘निकास’ खोला भनिन्छ । जुन द्वार निकै साँघुरो छ । “निकास खोला सानो हुँदा लगातारको वर्षालाई थेग्न ग्राहो हुन्छ”, वीरेन्द्रनगर– ९ का ऋषि गिरीले भने, “निकास क्षेत्रलाई फराकिलो बनाउन सकेको भए जोखिम कम हुन्थ्यो ।” प्रदेश सरकारको सहयोग लिएर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा दीर्घकालीन काम गर्न उनको सुझाव छ ।

उपत्यकाभित्रबाट बग्ने इत्राम, नेवारे र खोर्केखोला आसपासका बासिन्दा कटानको उच्च जोखिममा छन् । भीषण वर्षा आएमा यी खोलाले कटान क्षेत्र बढाउने गरेका छन् । वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले निर्माणाधीन गुरुयोजनामा खोलाको क्षेत्र बढाइने बताए । “अतिक्रमणकारीले खोला क्षेत्रमा बाँस रोप्ने, साँघुरो पार्नेलगायतका काम गरिरहेका छन्, खोला क्षेत्र सबैको साझा हो”, उनले भने, “कार्यपालिकाको आगामी बैठकमा यस विषयले प्रवेश पाउनेछ, तत्कालीन र दीर्घकालीन समाधानका लागि हामी आवश्यक योजना बनाउँछौँ ।”

विसं २०७१ साउन २८ र २९ गते भीषण वर्षा हुँदा बाढीपहिरो, डुबानका कारण सुर्खेतमा मात्रै १२५ ले ज्यान गुमाए । करोडौँ धनमालको क्षति हुन पुग्यो । जिल्ला दैवी प्रकोप उद्धार समिति, सुर्खेतको तथ्याङ्कमा प्राकृतिक प्रकोपबाट मात्रै आर्थिक वर्ष ०६४÷६५ मा ११७, ०६६÷६७ मा ११९ र ०७१÷७२ मा मा चार हजार परिवार विस्थापित भएको उल्लेख छ । त्यस्तै ४८ प्रतिशत जनसङ्ख्या भूक्षयबाट प्रत्यक्ष प्रभावित छ । विसं २०७३ मा तत्कालीन भू–संरक्षण कार्यालयले सुब्बाकुनामा गरेको परीक्षणले सुर्खेतबाट वर्षेनी २७ हजार ९२ दशमलव ९४ मेट्रिकटन माटो बगेर बाहिर जाने देखाएको थियो ।

सुर्खेत चुरे र महाभारत शृङ्खलाका बीचमा अवस्थित कमजोर धरातल भएको भू–भागले बनेको जिल्ला हो । भूगर्भविद्का अनुसार महाभारत र चुरे पर्वतको बीचको कमजोर चट्टान भएको धेरै क्षेत्र भएकाले सुर्खेत पहिराको उच्च जोखिममा रहेको छ । यहाँको करीब ४३ प्रतिशत भू–भाग महाभारत शृङ्खलाले ओगटेको छ ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय