आदर्शको आयाम, हेमन्तप्रकाश ओली र माइला लामा

ehulaki
टीकाराम वली | साउन १२, २०७६ आइतबार | 0

झापा बिद्रोह र १० बर्षको जनयुद्धले उठान गरेको आदर्शको राज्य वैज्ञानिक समाधानबिना जतिसुकै पर्खाल लगाए पनि समाधान सम्भव देखिएको छैन । 

कम्युनिस्टहरुले उठान गरेको आदर्श राज्यभित्र पर्ने समग्र आयामको घेराभित्र रहेर बहस, वार्ता र समीक्षा गर्नुपर्ने अनिवार्य भएको छ । समग्र आयामको भित्र रहेर छलफल नभएकै कारण कम्युनिस्ट कम्युनिस्टबीचको टकराव हो कि भन्ने सवाल पैदा भयो । आज सुन्दा अचम्म लाग्छ कि कम्युनिस्टहरुले भन्दै गरेको र मान्दै गरेको आदर्श । त्यो कुर्सी नै निर्दयी हुन्छ भनेर कल्पना नै थिएन ? सत्तामा पुग्ने कमरेडहरु पूँजीवादी जस्तो देखिने र सडकमा हुने कमरेडहरु क्रान्तिकारी जस्तो देखिने तर समस्या कहाँबाट पैदा भएको हो भन्ने समीक्षा नै नहुने । यस्तो पनि कहीँ हुन्छ र ? समाधानको सूत्र पत्ता लाग्दैन ? आदर्श कमरेडहरुले प्राप्त गरेको कुर्सी, कमरेडहरुले पाएको सुविधा । त्यही आदर्शको आयाम खोज्ने घाइते कमरेडको हातमा हथकडी, जेलनेल र यातना । कहाँसम्मको अन्याय हो ।

एउटा समय थियो, जतिबेला देश युद्धको आगोमा सल्किरहेको थियो । त्यही आगोमा प्रचण्ड कमरेडको सबैभन्दा धेरै गुणगान गाउने नेता हुन्, हेमन्तप्रकाश वली र कमरेड माइला लामा । उही प्रचण्ड कमरेडले नेतृत्व गरेको युद्धको आदर्श बोकेर आँखा र कान कमजोर अवस्था रहँदा पनि त्यही आदर्शको आयाम खोज्ने माइला लामा र हेमन्तप्रकाश वली लगायतको गिरफ्तारीले अनेकौं प्रश्न उब्जाएको छ । दर्शन, विचार र राजनीतिक लेखलाई किताबको अग्रपंक्तिमा प्रचण्डपथ लेख्ने कमरेड सुदर्शन आज त्यही आदर्शको आयाम खोज्दै गर्दा जेलको अँध्यारो कुनामा बस्नुपर्ने दिन आउँछ भन्ने कल्पना नै गरिएको थिएन । इतिहासले कोल्टे फेर्यो कि ? सोचाइमा परिवर्तन आयो ? गहन तरङ्ग चाहिँ पैदा भएको छ । जनयुद्धमा क्रान्तिकारी गीतबाट विद्रोहमा उत्साह बढाउने साहस मात्र होइन अनेकौं संघर्षमा जुट्ने माइला लामा आज जेलको अँध्यारो कुनामा परेको खबरले आँखाबाट आँसु त बग्यो नै आँखाबाट बगेको आँसुभन्दा बढी पीडा र आक्रोशले मनमा अनेकौं प्रश्न उठ्न थाल्यो । कहिले गाउँबस्तीमा कहिले शहरका गल्लीमा अधिकारका गीत गाउने माइला लामा जेलनेलले बाँधिएको सुन्दा साँच्चिकै मन कुँडिएको छ । अहिले उब्जिएको समस्या नेतृत्वको हो कि कम्युनिस्टहरुले अंगीकार गरेको आदर्श हो ? यो प्रश्न यतिबेला सबैभन्दा धेरै आउने गरेको पाइन्छ । झापा बिद्रोह, जनयुद्ध र कम्युनिस्ट आन्दोलनले उठान गरेको सर्वहारा आदर्शसहितको राज्यको परिकल्पना सबैले चाहेकै विषय होइन र ? कमरेडहरु आसीन रहेको सत्तालाई कम्युनिस्ट आदर्शभित्र चल्नुपर्छ भन्ने आम चाहना हो । त्यही चाहना राख्नेमध्य कमरेड सुदर्शन र माइला माला त्यही आदर्शको नेता, योद्धा, कलाकार हुन् ।

के कारणले पटकपटक विद्रोहको संकेत आउँछ ? सत्ता र व्यवस्थासँग जोडिएको विषय हो कि ? राज्यले अन्यायमा राखेर हो कि ? नेतृत्व र पार्टीले उठाएको आदर्श भुलेर हो हो कि ? समाजमा अन्याय र अत्याचारले घेरेर हो कि ? कम्युनिस्टहरुले भन्ने गरेको आदर्श भुलेर हो कि ? जहाँबाट भएपनि समाजमा थुप्रै अत्याचार र बिभेद रहेको र पूँजीवादी व्यवस्थाले जनताको आवश्यकता पूरा गर्न नसकेको अवस्था सत्य हो । त्यहीँबाट पैदा भएको आदर्श त होइनन् विप्लव ? त्यहीँबाट उत्पन्न आदर्श र विचार नै त विद्रोह हो । कम्युनिस्ट पार्टी र त्यसका नेतृत्वहरुले सोच्नुपर्ने विषय यो हो कि नेपाली कम्युनिस्टको राजनीति जहाँ र जुन उद्देश्य राखेर सुरुवात भएको थियो, त्यसको ठिक ढङ्गले पहिचान र आयाममा गएर बहस गर्न सकिन्छ कि सकिदैन ? यदि सकिन्छ भन्ने फेरि नेपाली जनताले अग्रगामी निकासको अनुभूति गर्न पाउनेछन् । त्यसो पनि हुन सकेन भने कम्युनिस्ट व्यवस्था वा कम्युनिस्टहरुले भन्ने गरेको सर्वहारा समग्र आयाम र आदर्श पुग्नुपर्छ । कम्युनिस्टले कम्युनिस्टलाई अपराधी देख्ने र कम्युनिस्टले कम्युनिस्टलाई पूँजीवादी देख्ने अबस्था नै कम्युनिस्ट व्यवस्था असफलताको प्रमुख कारण नेपालबाट बन्दै त छैन ? कसैले माओवाद मान्ने, कसैले माओ  बिचार । के वाद र बिचार नै बर्ग दुश्मन बन्ने आधार हो भन्ने ? त्यसको समाधानको लागि बहस र वार्तालाप कहाँबाट गर्ने ? 

कसैले माक्र्सको विचारधारा मान्ने, कसैले माक्र्सवाद । आखिर माक्र्सले परिकल्पना गरेको विचारधारा र वादले विकास गरेको विचारको आदर्शको राज्य सबैले हुनुपर्छ नै भनेका छौ । अनि किन कसैले जनताको जनवाद मान्ने, कसैले वैज्ञानिक समाजवाद ? त्योभित्र दुबै बस्न नसक्ने आदर्शको परिकल्पना किन ? केका लागि ? के कम्युनिस्ट एजेन्डा र राज्यको समग्र आयामभित्र बसेर वार्तालाप गर्न सकिन्न ? मैले प्रचण्ड कमरेडको असफलता र अरुको सफलतासँग जोड्न खोजेको कदापि होइन । प्रचण्ड कमरेडको नेतृत्वमा एउटा एउटा सफलता प्राप्त पक्कै भएको हो । राजाको हुकुमी शासन अत्य भयो । गणतन्त्र, संघीयता र संविधान आयो । नेपाली जनताको छोरीछोरीले देशका कार्यकारी पद रास्ट्रपति, प्रधानमन्त्री सबै क्षेत्रमा प्रतिनिधित्व गर्ने अवसर पाउने अवस्था आयो । त्यो प्रचण्ड कमरेडको नेतृत्व क्षमताकै कारण सम्भव हो । सामन्य सुधार त भयो तर साँच्चिकै कमरेड प्रचण्डले नै कल्पना गरेको राज्य सम्भव पनि भएन  । त्यो एउटा सम्झौताको विषय पनि थियो । जहाँबाट न भाग्न मिल्ने अवस्था थियो न छोड्नसक्ने ठाउँ । त्यहीँ सुधारवादको एउटा आधार त तयार भयो । तर सुधारवादले परिकल्पना गरेको योजनाले मात्र जनता सन्तुष्ट रहने अवस्था थिएन । त्यहीँ असन्तुष्ट बाँकी रहँदै गर्दा उब्जिएको सवाल हो कमरेड विप्लव । 

अब त्यही बाँकी अपेक्षा पूरा गर्नेगरी वार्तालापको वातावरण सिर्जना गर्नु सबैको कर्तव्य हो । त्यही जनयुद्धको एउटै मोर्चाले पैदा गरेको राजाको हुकुमी शासन विरुद्ध कमरेड सुदर्शन, कमरेड माइला लगायत सबै एउटा मोर्चामा गएर सम्भव भएको हो । अब फेरि एउटा टेबुलमा बसेर अधुरो यात्रालाई पूर्णता दिने हो कि ? युद्धको क्रममा कमरेड सुदर्शनको दर्शन र कमरेड माइला लामाको क्रान्तिकारी गीतले जनमानसमा विद्रोहको भाव जन्मिएर त्यतिबेलाका नेतृत्व कमरेडहरुको उचाई पनि बढेको सत्य हो । क्रान्तिकारी दर्शन र  क्रान्तिकारी गीतले एउटा उचाई मात्र थपेन २०६२÷०६३ को जनआन्दोलनको माहोल नै तयार पारेको सबैलाई अवगत नै छ । दर्शनले समाजवादी राज्यको परिकल्पना गर्यो । क्रान्तिकारी गीतको स्वर, धुन र जोशले जनतालाई जागरुक गराउँदै  महाराजलाई नागार्जुन पुराउने जनमत तयार गर्यो । सर्वहारा राजनीतिक आदर्श बोकेर हातमा हात काँधमा काँध मिलाउने उदघोष गरेका नेतृत्वहरु मात्र होइन समाज परिवर्तनको परिकल्पना गरेका कम्युनिस्टहरुले सोच्नुपर्छ । कम्युनिस्टहरुले प्रतिपादन गरेको आदर्श जेलनेलको भर्याङ मात्र भइरहने । सत्तामा गए आदर्श नै भुल्ने सहिदको कोटा बढिरहने सामान्य कुरा होइन । सत्तामा गएको कम्युनिस्ट र सत्ताबाहिर रहेको कम्युनिस्ट वर्ग दुश्मनझैँ गरिरहे कहिले परिवर्तन पाउँछ ? त्यही कारण विश्वमै कम्युनिस्ट व्यवस्था असफल हुने अवस्थाको कल्पना गर्नु कसैको लागि फाइदा हुदैन ।

कम्युनिस्ट पार्टीले सन्चालन गर्ने सत्ता र कम्युनिष्ट साँच्चिकै यतिबेला नेपाली कम्युनिस्ट आदर्शले पैदा गरेको परिकल्पनाले सुविधा पाउने ठाउँमा पुग्ने कमरेडहरुलाई परिवर्तन आए जस्तो लाग्छ । देश समृद्ध भएजस्तो महसुस हुन्छ तर सडकमा रहने कमरेडहरुले सबै हराएको जस्तो जतासुकै भताभुङ्ग भएको जस्तो । जनताको जीवनमा कुनै परिवर्तन नआएको जस्तो । पक्कै सबैमा यस्तो अनुभूति भएको छ । आदर्शको सपना देख्नेहरु पीडा, अभाव र अत्याचार बढेको महसुस गरेका छन् अनि कसरी मिलाप हुन्छ ? क्रान्तिले सत्तामा पुग्ने कम्युनिस्टलाई आदर्श भजाएको देख्ने र सत्तामा बसेका कम्युनिस्टले रोडमा हिड्ने कम्युनिस्टलाई उग्रपन्थी देख्ने गलत प्रवृति सबैभन्दा वर्ग दुश्मनको रूपमा प्रकट भएको छ । 

एकातिर अघाएका कमरेडहरुले समृद्धि आयो भनिरहँदा अर्कोतिर नाङ्गै, भोकै हिड्नेहरुले  अत्याचार र उत्पीडन भोग्ने वर्गले न्याय खोजेको र त्यसको नेतृत्व गर्दै आएको विप्लव कमरेडको भूमिका बढेको हो कि भन्ने प्रष्ट आवाज आएका छन् । त्यसैले बुझ्नुपर्ने सवाल अब के त सम्भावना ? कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वहरु एउटै टेबुलमा बसेर कम्युनिस्ट पार्टीप्रति जनताले राखेको अनेकौं सपना बिर्सनु हुँदैन । कम्युनिस्टहरुमा रहेको आदर्श, दर्शन, निष्ठा र मान्यताहरु किन फरकफरक बिन्दुमा एक्लाएक्लै हिड्न खोजेका छन् ? आन्दोलन, विद्रोह र युद्धमा एउटै सपना देख्ने कम्युनिस्टहरु सत्तामा पुग्नासाथ आदर्श अलग, विचार, आस्था र बाटो नै अलग गरेपछि कोही भारतको, कोही चाइनाको, कोही अमेरिकाको बन्नु भन्दा पनि रास्ट्रको स्वाधिनतासँग मिल्ने कहिले ? कम्युनिस्ट पार्टी, नेता र नेतृत्वमा रहेको अहं आजको टुटफुट त होइन ? सत्तामा पुग्नासाथ सडक भुल्ने र सडकमा रहनासाथ सोचेभन्दा धेरै  अपेक्षाको भारी बोकाउने परम्पराको अत्य हुनुपर्छ । अन्यथा कम्युनिस्टहरुले कल्पना गरेको आदर्शको रक्षा, विकास, सहभागिता, मानवीय अधिकारको कुरा हो । 

टीकाराम वली

लेखक तत्कालीन माओवादीको जनमुक्ति सेनाका लडाकु हुनुहुन्छ । हाल उहाँ समसामयिक राजनीतिक विषयवस्तुमा कलम चलाउनु हुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय