दाइबहिनी : शङ्काको साइनो कि पवित्र नाता ?

ehulaki
उदय जीएम | साउन १२, २०७६ आइतबार | 0

फेसबुक वालमा फनफनी घुमिरह्यो– ‘दाइ’हरुको डर, ‘दाइ’हरुको डर अनि फेरि ‘दाइ’हरुको डर । बिनुले केही लेखिहोलिन् । यस्तै सोंचे मैले । अति भएपछि सेतोपाटीमा प्रकाशित ‘दाइ’हरुको डर’ क्लिक गरेर भित्र छिरें । वाफ रे ! त्यतिबेलासम्म ३८ हजार त शेयर नै भइसकेको रैछ । अहिले कति पुग्यो ? हेरेको छैन ।

शीर्षक पढें । त्यसपछि तल तल ओरालो झर्दै गएँ । शव्दहरुले लछार्दै, पछार्दै, घचिट्दै, तान्दै, लखेट्दै गए । झण्डै १८ सय शव्दको ‘दाइ’हरुको डर’ पढिसक्दा छाङ्गोबाट खसेको अनुभूति भयो । आङ जिरिङ्ग भयो । मस्तिष्क झन्न भयो । मन अत्यन्त गह्रुङ्गो भयो । मनले भन्यो, ‘हैट ! यस्तो पनि हुन्छ ?’
......

त्यतिबेलासम्म ‘बजारमा बैनी आतङ्क’ आइसकेछ । शिलापत्रमा विमल नेपालको ‘बजारमा बैनी आतङ्क’मा चाहिँ बिनुले उठान गरेको विषयवस्तुको ठिक उल्टो । उता ‘दाइ’हरुका कामुक आँखा थिए, यता ‘चरित्रहीन चेली’हरु । उता यौन उन्मादका उत्ताउला हातहरु थिए, यता वैंशले उन्मत्त ‘बाला’हरु । उता एउटी चेलीमाथि कुदृष्टि लगाएर जवानीको जोशमा उम्लिने खलपात्रहरु थिए । यता, पुरुष मनोविज्ञान र ‘कमजोरी’लाई भर्याङ बनाएर ‘करियर’को शिखर चढ्ने पातकीहरु ।

यही मेसोमै अर्कोदिन ओछ्यानबाट उठिनसक्दै उदाएछन्, खेमराज ओली आफ्नै ब्लगमार्फत । कोण र जोड निकाल्ने न हो । उनी मझधारबाट छिरेछन् । ‘पत्रकार दाजु र बहिनीको नियत, बबुरा हामी भाइ’ भन्ने शीर्षकले नै बुझाउँछ उनको मझधार । दाइहरुले बहिनी ताक्ने र बहिनीहरुले दाइ ताक्ने अघोषित अपराधीहरुको बथानमा जिल्लिएका ‘भाइ’हरुको मार्मिक कथा रैछ यसमा । फेसबुकमा अनुरोध स्वीकार गर्नेदेखि बाइक चढ्न पाउनेसम्मका घटनामा ‘इष्र्या’ पोखेका रैछन् खेमराज ओलीले । यो ब्लग पढ्दा बबुरो भाइ साँच्चिकै बबुरो देखिएका छन् र उनले हामीबीचकै त्यस्ता पात्रहरुको गतिलो चित्रण गरेका छन् र यो प्रवृत्तिलाई व्यंग्यवाण हिर्काएका रैछन् । शिरदेखि पाउसम्मै हेरियो यो पनि । 
.....
सिलसिलाबद्ध आइरहेका ‘ब्लग’हरुले मथिङ्गल घुम्दै थियो ।

इहुलाकी डटकमको कार्यालय पुगें ।

यता पनि चर्चा–परिचर्चाको विषय यही नै रैछ ।

भाइ वीरेन्द्र शाहीले कम्प्यूटरमा देखाउँदै भने, ‘यी... दामोदर सरले पनि त्यही विषयमा लेख्नुभएछ ।’

‘दाइ’ र ‘बहिनी’माथि अवाञ्छित आक्रमण’ शीर्षकको लेख थियो त्यो । बिनुले भोगेको यथार्थता हाम्रो समाजको एउटा पाटो थियो, विमल नेपालले भोगेको यथार्थता अर्को पाटो । दामोदर नेपालको लेखमा चाहिँ शीर्षकैमा प्रष्ट थियो कि दुबैले भोगेका कथाजस्ता लाग्ने तर सत्य कुरा वास्तवमै समाजमा पनि भइरहेकै छन् । यद्यपि ‘दाइ’ र ‘बहिनी’जस्तो पवित्र नातालाई धमिल्याउन नहुने तर्क यसमा रैछ ।
....

‘दाइ र बैनी’हरुको चर्चा शिखरमै पुगेको बेला लेख्न थालेको बीचमै अड्किएछ । खै कता भुलिएछ ?

फेरि कान्तिपुरमा आएछ, ‘दाइहरुको दाइँ’ शीर्षकमा सावित्री गौतमको अर्को बयान । यो लेखले फेरि अलिकति घचिट्यो । दुईचार हरफ लेख्ने जाँगर चल्यो ।

खासमा क्रमिकरुपमा आइरहेका यस्ता आलेखहरु म ध्यानपूर्वक पढिरहेको छु । किनकि यिनले मलाई बेसरी छोइरहेका छन् । नछोओस् पनि किन ? धेरैभन्दा धेरै बहिनीहरुको दाइ जो हुँ ! ‘कथित’ दाइ र बहिनीहरुका बेलिबिस्तार पढ्दै गर्दा यो दाइलाई चाहिँ उकुसमुकुस भइरहन्छ । हैट, यति धेरै बहिनीहरु भएको मलाई मान्छेहरु के भन्दा होलान् ? के सोच्दा होलान् ? के बहिनी भन्नु अपराध हो ? के दाइ र बहिनी भन्ने कुरा पवित्र नाता नभएर शंकाको साइनो हुन् ? दाइ र बहिनीको आवरणमा लुकेका यौनपिपासुहरु छ्यापछाप्ती नै छन् त ? दाइ र बहिनी साइनोको सामाजिक मर्यादा र सीमा विकृत र तुच्छ भएकै हो त ?

माथिका प्रश्नहरु मनमा छालजस्तै उठिरहँदा मेरा आफ्ना प्रिय बहिनीहरु सम्झिएँ, धेरै वर्ष पछाडिसम्म फर्किएँ । र, त्यस्ता नकारात्मक कोणबाट आउने टिप्पणी र गरिएका शंकाहरु ताजा भएर आए ।

मेरा बहिनीहरुको त साँच्चै भन्ने हो भने स्वदेश र विदेशसम्म ठूलै लर्को छ । गाउँदेखि शहरसम्म, सामान्यदेखि उच्चसम्म, गृहिणीदेखि नेतृसम्म, कलाकारदेखि नायिकासम्म, पत्रकारदेखि साहित्यकारसम्म, राजनीतिदेखि समाजसेवासम्म । गायिकादेखि सडकसम्म । कहाँ छैनन् मेरी बहिनीहरु ? 

विस्मृतिबाट केही घटना उल्झिए । एउटा मेला महोत्सवको कुरा आयो । एउटी चर्चित गायिका र उदघोषिका पनि उनी । म महोत्सवस्थलमा पुगेको देखेपछि उनले मेरोबारे यति धेरै फूलबुट्टा भरिन् कि म आफै दङ्ग परें । फूलबुट्टा भरेर उनले आसनग्रहण गराइन् । बहिनीले फूलबुट्टा भरेपछि म दाइ पनि गमक्कै परेर आसनग्रहण गरें मञ्चमा । कुरा सकियो ।

केही दिनपछि एकजना व्यवसायी भाइले भने, ‘दाइ ! तपाईंको यो के ताल हो ? फलानीले त तपाईंको निकै फूलबुट्टा भरिन् । बढाईचढाई गरिन् । निकोचाला छैन है ।’ उनको बोलाईमा उनले भन्न खोजेको कुरा प्रष्टैसँग अनुभूत गरिरहेको थिएँ म ।

‘बहिनीले दाइको बारेमा फूलबुट्टा नभरेर कसले भर्छ ? मञ्चमा आसनग्रहण गरें । कुरा सकियो नि । हैन र ?’, उनले कुरा कहाँ जोड्न खोज्दैछन् ? त्यसबारे मैले बुझिरहेको थिएँ । त्यसैले यी शव्द निस्किए मेरा ।

उनले अझै आशंका जनाए, ‘हैन । केही न केही त अवश्य छ ।’ अब चाहिँ मेरो रिसको पारो पनि बिस्तारै उकालो चढ्दै थियो । चुनौतिकै शैलीमा भने, ‘कस्तो कुरा गरेको यार ! यी बहिनीसँग फेसबुकमा साथी भएदेखि आजको मितिसम्मको कुराकानी देखाइदिन सक्छु । हेर्ने हो ?’ त्यतिमात्र होइन, म अझै अगाडि बढेर भने, ‘हेर्ने हो भने मेरो फेसबुकका साथी भएजति सबै महिलाहरुसँग भएका कुराकानी हेर्न सक्छौ ।’

ऊ पनि के कम ? भन्यो, ‘लौ देखाउनुस् । हेर्छु ।’

मेरो पालो फेसबुक खोलेर ती कलाकार तथा उद्घोषिकासङ्ग भएको च्याट निकालेर उसकै हातमा मोबाइल थमाइदिएँ । उसले मोबाइल च्याट माथितिर सार्दै गयो, म्यासेज हेर्दै गयो । अन्तदेखि शुरुसम्म (जुन दिन हामी साथी भएका थियौं)सम्मै उसले हेर्यो । त्यतिले उसलाई पुगेन । उसले केही चर्चित नामहरुसँग भएका म्यासेज हेर्ने चाहना व्यक्त गर्यो । मैले त पहिले नै चुनौति दिइसकेको थिएँ, ‘मेरो साथीजति सबैको म्यासेज पूरै देखाउन सक्छु ।’

उसले फेरि अर्की चर्चित नाम खोजेर म्यासेज हेर्यो पूरै । एवंरीतले ३ जनासँगको कुराकानी पूरै हेरेपछि थाक्यो ऊ । उसले जुन आशय वा नकारात्मक कोणबाट म्यासेज हेर्न खोजेको थियो, त्यो नपाएपछि भन्यो, ‘हो रैछ दाइ । मैले तपाईंलाई माने ।’

‘अझै चित्त नबुझेको भए अरुसँगको कुरा पनि हेर्नू’, मैले अझै थपें । सोंचे, ‘अरुहरु पनि त यसैगरी सोंच्छन् होला । भनिन्छ, ‘शंकाले लङ्का डढाउँछ ।’ यद्यपि, शंका गर्नेलाई रोक्ने कसले ? सम्झाउने कसले ? कति ठाउँमा स्पष्टीकरण दिँदै हिड्नु ? कतिलाई म्यासेज देखाउँदै हिड्नु ? यसपछि मलाई लाग्यो, मेरा सबै दिदीबहिनीहरुसँगका सम्बन्धलाई शंकाकै दृष्टिले हेरिँदो हो । पछिल्लो चरणमा क्रमवद्ध आइरहेका यस्ताखाले आलेखहरुले त झन बारम्बार झस्काइरहन्छन् ।

मेरी सहोदर बहिनी दुईवटी छन् । त्यसपछि नायिका रेखा थापासँग मैले भाइटीका नै लगाउँछु । चर्चित हाँस्यकलाकार दीपाश्री निरौला दाजु अप्ठ्यारोमा हुँदा सहयोग गर्छिन् । बिना मगरसँगको नाताले प्रकाश दाहाललाई ‘ज्वाईं’ भने । पछि त्यो निकै आत्मीय र घनिष्ट हुँदै गयो । पछि त्यो असमयमै चुँडियो । जसले अहिलेसम्म दुःखी बनाइरहन्छ । सबैका नाम यहाँ उल्लेख नगरौं तर खुशीमा हाँसिदिने र दुःखमा साथ दिने मेरा त्यस्ता असंख्य बहिनीहरु छन् । कोही ज्वाईंविहीन बहिनीहरु छन्, कोही ज्वाईंसहितका । ‘अखिल नेपाल बहिनी संघ’ गठन गरे पनि पुग्ने अवस्था छ । माथि नै मैले भनिसकें, ‘बाटैभरि बहिनी, घाटैसम्म बहिनी हुनसक्छन् मेरा ।’ बहिनीहरु छन् र त जुन दिशा गयो उतै ज्वाईसापहरु छन् । त्यसैले त सबै दिशा उज्यालो लाग्छ मलाई । बहिनीहरु त कता हुन्छन् कता तर ज्वाईंहरुले धेरै ठाउँमा अप्ठ्यारोमा काँध थापेका छन् । जेठानको सम्मान पाएर गजक्कै पनि परिएकै छ । घरै पुगेर ज्वाईंजेठान भएर बहिनीले पकाएको भात पनि मारिएकै छ । सूर्य थापा, डिल्ली मल्ल, नरेन्द्र केसी, नेत्र केसी,..... । खै सबै ज्वाईंहरुको नाम लेख्न सम्भव नहोला !

मेरी सहोदर दुई बहिनीजत्ति नै अरु बहिनीहरुले माया र सम्मान गर्छन् । दिदी होऊन् वा बहिनी ? उनीहरु मेरा सहोदर दुई बहिनीजत्तिकै लाग्छन् मलाई । हरेक सम्बन्धहरुको आफ्नै सीमा हुन्छन् । सीमा नाघे त जाने अर्कैतिर हो । सीमारेखा नाघेपछि पुगिने अर्कै देशमा हो । पापीहरु ‘दिदी–भाइ’ र ‘दाजुबहिनी’को पवित्र नातालाई खेलाँची ठानिरहेका छन् । पापी सोच राख्नेहरुले ‘दाजुबहिनी’ होइन अरु नै नाता जोडे हुँदैन ? जब ‘दाजुबहिनी’को पवित्र नाता जोडिन्छ तब त्यो पवित्र नातालाई निभाए हुँदैन ?

घरमा बूढीमाउ भन्छिन्, ‘तपाईंका कति धेरै बहिनी, कति धेरै ज्वाई ? यसले त धेरै बहिनी ज्वाईं बनाउँदै जान्छ भनेर पहिलेका बहिनी–ज्वाईंहरुले छोड्लान् नि फेरि । अब धेरैलाई ‘बहिनी’ र ‘ज्वाईं’ नभन्नुहोला । नयाँ बहिनी र ज्वाईं थप्दै जाँदा पुराना बहिनी र ज्वाईहरुले नराम्रो मान्लान् ।’ तर मलाई ‘दिदी’ र ‘बहिनी’ नाता (साइनो) नै अति सहज लाग्छ, पवित्र लाग्छ, उचित लाग्छ र त्यसैमा छ अपनत्व पनि ।

यति लेखिसकेपछि ‘दाइहरुको डर’ की लेखिका बिनु सुवेदीलाई म्यासेज पठाएँ । संयोगले बिनु पनि मेरा धेरै बहिनीहरुमध्यकी एक बहिनी हुन् । उनलाई लेखें, ‘यो त अति भो । यस्तो पनि हुन्छ ? तिम्रो लेखको प्रतिवाद गर्दै लेख्छु म त ।’

उनी मेरो भनाइतिर पसिनन् । भनिन्, ‘दाइ, ती १८ जनामध्ये एकजना त दाङकै हो नि ।’ म छाङ्गोबाट खसेझैं भएँ । फलानो हो कि, फलानो हो कि ? बिजुलीको रफ्तारमा धेरै नामहरु सोचें तर कुनैमा अडिन सकेन म । अन्दाजै गर्न सकिन मैले ।

‘त्यो पत्रकार नै हो ?’ मैले सोधें ।

‘हो । अहिले त के गर्छ ? थाहा छैन ।’ बिनुको जवाफ आयो ।

‘नाम भन्न मिल्छ ?’ मेरो प्रश्न ।

‘..............’ किन नमिल्नु ? यही हो ।’ नाम देखेर म झण्डै बेहोस भएँ ।

बिनुहरु एकपटक दाङ गएका थिए । त्यतिखेरकै घटना हो कि जस्तो लाग्यो । तर होइन रहेछ । मैले कल्पनासम्म नगरेका ती व्यक्तिसँग पत्रकारिता तालिममा भेट भएको रहेछ बिनुको । उसले धेरै पछिसम्म फोन गर्दै सताउँदै गरेछ ।

बिनुको लेख पढ्दैगर्दा मलाई लागेको थियो, बरु नामै किटान गरिदिनु पर्ने । ‘होलसेल’मा लेखेर राम्रो भएन जस्तो लागिरहेको थियो । आफ्नो लेखमा उल्लेख गरेका १८ जनामध्ये १ जनाको नामै आएपछि बाँकी १७ जनाको नाम मैले सोधिन, उनले आफै भनिनन् ।

अब यहाँ सोध्न मन लागिरहेको छ, १८ मध्ये एकलाई त चिनियो । बाँकी १७ भाइ मानवरुपी ‘बोका’हरु को होलान् हँ ?
 

उदय जीएम

लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा ई हुलाकी डटकमका प्रधानसम्पादक हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय