विजय चौथाइवाला र ‘रअ’ को शङ्कास्पद भ्रमण, भारतलाई के चाहिएको छ ?

ehulaki
ई-हुलाकी | साउन १७, २०७६ शुक्रबार | 0

काठमाडौँ । खुला सीमानाका कारण भारतले नेपालमा गरेको हस्तक्षेप एउटा पाटो छँदै छ । अर्को उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पार्ने या क्याप्चर गर्ने (विभिन्न बाहानामा) सार्वभौम सत्तासम्पन्न स्वतन्त्र राष्ट्रसँग गर्ने व्यवहार भन्दा बिल्कुल विपरीत हुन्छ । 

नेपाल भारतबीचका सीमा स्तम्भ सयौँको सङ्ख्यामा गायब पारिए । त्यो भन्दा ठूलो कुरा भारतले त्यसरी सयौँ सीमा स्तम्भ गायब पार्दासमेत नेपालका कसैले कुनै प्रतिक्रिया जनाउँदैनन् । न नेपालका कुनै राजनीतिक पार्टी न कुनै युवा र विद्यार्थी सङ्गठन, न नागरिक समाज, कसैले पनि आपत्ति जनाउँछन् । 

यसमा महत्वपूर्ण कुरा लुकेको छ ।  नेपालका हजारौँ हेक्टर जमिनमा भारतले कब्जा जमाउनु र नेपालको सरहदभित्र बसोबास र खेती गरिएको जमिन रातारात भारततिर पारिँदा समेत नेपाली पक्ष मौन हुनु या बोल्न नसक्नु अहिले गम्भीर विषय बनेको छ । 

नेपालमा राष्ट्रियताबारे ठूल्ठूला र चर्का बहस हुने गर्छन् । प्रतिपक्षमा हुँदा सबै राष्ट्रवादी हुन्छन । अहिले सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर आफ्ना काला कर्तुत ढाकछोप गर्न देशभक्ति छाँटेको कुरा जनताले बुझ्न थालेका छन । नेपाल उच्च स्तरका नेतासँग स्तरनै नमिल्ने हैसीयत भएका भारतीय नेताले उच्च स्तरको भेट सोचेको भरमा पाउँछन् । भेट्न आफै धाउँछन् । कूटनीतिक मर्यादा भाँडमा जाओस् ।  

अहिले यस्तै भइरहेको छ । भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौँ आएर उच्चस्तरीय राजनीतिक भेटवार्ता गरे । पूर्वराजासम्मको भेटघाटको चर्चा सामाजिक सञ्जालमा छताछुल्ल भयो । ओलीलाई भेट्न रातारात निजी नम्बर प्लेटको कार खोजियो रे । किन त्यस्तो भयो त्यो समेत बताइएन । जनताले सूचनाको हक पाएनन् । सूचना प्रविधि मन्त्रीले थाहा छैन भनेर पत्रकार सम्मेलनमा फलाके । थाहा छैन भने । अहिले त्यो चर्चा सेलाउन नपाउँदै भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवाला काठमाडौँ आएर राजनीतिक भेटघाटमा  सक्रिय भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा दोस्रो कार्यकाल सम्हाले पछि काठमाडौंमा केही हप्तायता भारतीय नेता र प्रशासकको सक्रियता अस्वाभाविक बढेको छ । हाल काठमाडौंमा रहेका प्रमुख चौथाइवालाले महत्वपूर्ण राजनीतिक भेटवार्ता गरिरहेका छन् । उनि नेपाल भारत मैत्रि समाजले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भए ।

प्रधानमन्त्री मोदीका विश्वासपात्र मानिएका प्रमुख चौथाइवाला काठमाडौंमै रहेका बेला भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँ आउने खबर समेत आज आयो । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारीका लागि प्रमुख चौथाइवाला नेपाल आएका र भ्रमणकै तयारीका लागि विदेशमन्त्री जयशंकर नेपाल आउने चर्चा समेत चलिरहेको छ । 

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौंमा विभिन्न राजनीतिक दलका नेतालाई भेट्नमात्रै समय छुट्याएका छन ।  उनले आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर भेटे, त्यसपछि सोल्टी होटलमा कांग्रेस नेता अर्जुननरसिंह केसीलाई भेटे, होटल हिमालय होटलको एउटा कार्यक्रममा सहभागी भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग गोप्य बार्ता गरे । 

आजै बिहान प्रमुख चौथाइवालाले प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलसहित मधेशवादी दलका नेतासँग भेटवार्ता  गर्न भ्याएका थिए ।

प्रमुख चौथाइवालासहित नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले परराष्ट्र मामिला जानकार भेषबहादुर थापा, राप्रपा संयुक्तका प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता दमननाथ ढुंगानाबीच कालिमाटीस्थित होटल सोल्टीमा गोप्य भेला भएको कुरा पनि बाहीर हाएको छ । 

त्यतिमात्रै काँ होर चौथाइवाला ललितपुरको पुल्चोकस्थित मन्त्री निवास क्षेत्रमा समेत प्रवेश गरे, उनले आज दिउसो २ बजेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसँग आफ्नै सरकारी निवासमा भेटे ।  

भारतीय तरकारी नेपाल आयात गर्दा विषादी परीक्षण गराउने निर्णय कार्यान्वयनमा लैजाने क्रममा मन्त्री यादव विवादमा परेका थिए । उनिसँग केके कुरा भयो कसैलाई थाहा छैन । विषादी परीक्षणको निर्णय भारतीय दबाबपछि फिर्ता भएको चर्चा त्यतिबेला चलेको थियो ।

हिंजो बिहीबार होटल अन्नपूर्णमा नेपाली कांंग्रेसका नेता शशांक कोइराला, सुजाता कोइराला, मिनेन्द्र रिजाल, चित्रलेखा यादव लगायतसँग समेत उनले भेटवार्ता गरीसकेका छन ।  भेट्न बाँकी रहेका  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग आज अपराह्न ठमेल पुगेर भेट गरे ।

भारतीय संस्थापनका महत्वपूर्ण मानिने नेताहरू निरन्तर काठमाडौँ आएर भेटवार्तामा सक्रिय हुन थाल्नुले धेरैलाई विभिन्न शंका आशंका सहितको खुल्दुली लागिरहेको छ । 

मधेश केन्द्रित दलले संविधान संशोधनको माग गरिरहेको र धर्मनिरपेक्षता लगायत कतिपय संविधानका कुरा भारतले नरुचाएको अवस्थामा भारतीय संस्थापन काठमाडौंमा सक्रिय हुनुले नयाँ राजनीतिक बहस ल्याएको छ । भारतीयको पछिल्लो सकृयता के का लागि हो भन्ने कसैलाई थाहा छैन । यसलाई सबैले अर्थपूर्ण रुपमा हेरेका छन । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय