जम्मुकश्मीर प्रकरणमा मोदी असफल : मोहनविक्रम सिंह

ehulaki
ई-हुलाकी | साउन २१, २०७६ मंगलबार | 0

काठमाडौँ । जम्मुकश्मीरलाई भारत सरकारले केन्द्रशासित राज्य बनाउन गरेको निर्णयलाई ने.क.पा मसालले विरोध गर्दै भत्र्सना गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले मङगलबार एक विज्ञप्ति जारी गर्दै भारत, पाकिस्तान र संयुक्त राष्ट्रसंघका बीचमा भएको त्रिपक्षीय सम्झौता अनुसार काश्मीरका जनतालाई जनमतसंग्रहद्वारा भारतमा मिल्ने वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार दिनुपर्नेमा त्यो अधिकार नदिएको भन्दै भत्र्सना गरेका छन् ।


यस्तो छ विज्ञप्ति

जम्मूकश्मीरलाई भारत सरकारले केन्द्रशासित राज्य बनाउन गरेको निर्णयलाई ने.क.पा (मसालं)ले गम्भीर रूपमा विरोध गर्दछ र त्यसको भत्र्सना गर्दछ । वास्तवमा भारत, पाकिस्तान र संयुक्त राष्ट्रसङ्घका बीचमा भएको त्रिपक्षीय सम्झौताअनुसार जम्मूकश्मीरका जनतालाई जनमत सङ्ग्रहद्वारा भारतमा मिल्ने वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार दिनुपर्दथ्यो । तर, भारतले जम्मूकश्मीरका जनतालाई त्यो अधिकार दिएको छैन । त्यसैले त्यहाँ एकातिर, जम्मूकश्मीरका जनताले आफ्नो आत्मनिर्णयको अधिकारका लागि लामो समयदेखि कडा सङ्घर्ष गर्दै आउनु परेको छ भने, अर्कातिर, त्यही विवादका कारणले भारत र पाकिस्तानका बीचमा कैयौँपल्ट युद्धहरू पनि भइसकेका छन् । त्यसरी भारतले लिएको गलत नीतिका कारणले नै पाकिस्तानमा आशान्तिको र भारत र पाकिस्तानका बीचमा दीर्घकालिन तनावको स्थिति पैदा भएको छ । त्यसका लागि भारत नै जिम्मेवार छ । 
अहिले भारत सरकारले लिएको निर्णय स्वयं भारतले जम्मूकश्मीरलाई जुन विशिष्ट स्थान दिएको थियो त्यसका पनि विरुद्ध छ । त्यसले मोदी सरकारको स्वेच्छाचारी नीतिलाई पनि बताउँछ । त्यसका साथै अहिले भारत सरकारले जम्मूकश्मीरबारे गरेको निर्णय भारत सरकारको जन्मूकश्मीरसम्बन्धी नीतिको असफलता पनि हो । अहिलेको निर्णयले आफ्ना न्यायपूर्ण मागका लागि जम्मूकश्मीरका जनताको आन्दोलन बढ्दै गएको र त्यसलाई दवाउन भारत सरकार असफल भएको कुरालाई पनि बताउँछ । त्यसले गर्दाखेरि नै मोदी सरकार स्वयं आफ्नो संविधानका विरुद्ध गएर त्यसलाई केन्द्रशासित राज्य बनाउन बाध्य हुनु परेको छ । भारतले जम्मूकश्मीरबारे अपनाएको नीति स्वयं आफूले नै गरेको सम्झौताका विपरित छ । त्यसैले अहिलेको सरकारको निर्णयले पनि जम्मूकश्मीरका जनताको आफ्नो न्यायपूर्ण आन्दोलनलाई दवाउन नसक्ने कुरा निश्चित छ । अहिलेको मोदी सरकारको निर्णयले भारतको साम्राज्यवादी चरित्रलाई अरू नाङ्गो रूपमा बाहिर ल्याएको छ र त्यसको भण्डाफोर गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । त्यसका साथै जम्मूकश्मीरका जनताको न्यायपूर्ण आन्दोलनसित पनि हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ ।
मिति : २०७६ साउन २१ गते 
मोहनविक्रम सिंह
महामन्त्री


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय