कर्णाली स्वास्थ्य विज्ञानमा कसले माग्यो सुत्केरीसँग ५२ हजार ?

ehulaki
ई-हुलाकी | साउन २१, २०७६ मंगलबार | 0

विष्णु फडेरा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सुत्केरीसँग ५२ हजार रुपैयाँ कसैले नमागेको जनाएको छ । प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले प्रेस विज्ञप्ति जारी गर्दै ‘सुत्केरीले ५२ हजार नदिए डिस्चार्ज नगरिने’ आशयको समाचार कपोलकल्पित र असन्तुलित भएको दावी गरेका छन् ।

विज्ञप्तिमा निज बिरामी अप्सरा गिरीको अस्पतालको गेटमा प्रसूति हुनसक्ने देखेपछि ड्युटी सकेर घर जाने क्रममा अस्पतालका स्वास्थ्यकर्मीले अस्पतालभित्र ल्याएर भर्ना गरिदिएको र स्वास्थ्यकर्मीलाई रगत लागेको विज्ञप्तिमा उल्लेख छ । गिरीको रगत परीक्षण गर्दा हेपाटाइटिस पोजेटिभ देखिएकोले किन रोगको बारेमा नभनेको भन्ने सामान्य छलफल भएको र पछि समाधान भएको विज्ञप्तिमा जनाइएको छ ।

उक्त समाचारबारे प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले समाचारमा आएको सबै कुरा कपोलकल्पित भएको बताए । काफ्लेले भने, ‘बिरामी गिरीको आफन्तले काठमाडौंमा फोन गरेर रिस पोखेकै भरमा समाचार लेखिएको पाइयो’, उनले भने, ‘मैले ५२ हजार पैसा नभए डिस्चार्ज गर्न मिल्दैन भनेको कुरा समाचार पढेर थाहा पाएँ । यसरी बोल्दै नबोलेको र हुँदै नभएको कुरालाई समाचार बनाएर बदनाम गर्न खोजियो ।’ 

रजिस्टार काफ्लेले भने, ‘हामी त्यसैको विषयमा छलफलमा थियौं । कुरा मिलेर ३ दिन अगाडि नै विरामी घर गइसकेका हुन् । तर एक्कासी समाचारमा बदनाम गर्न खोजियो ।’ काफ्लेले भने, ‘राजधानीबाट प्रकाशित हुने प्रतिष्ठित राष्ट्रिय दैनिक पत्रिकाको अनलाइन संस्करणमा विरामीका आफन्तले फोन गरेकै भरमा एकतर्फी समाचार आएको हो । तर उक्त कुरा पत्रिकाका जिल्ला समाचारदातालाई पछि ब्यूरोले ‘के भएको हो ? बुझ्नुस् त’ भनेर खबर गरेको बुझियो ।’ समाचारको विषयमा विरामीका आफन्तसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

विरामीका आफन्त भरतराज गिरीले भने, ‘प्रतिष्ठानका रजिस्टार काफ्ले स्वयम् आइतबार बिहान आएर हेपाटाइटिसको जाँचमा लाग्ने खर्च बेहोर्नुपर्छ भनेर भनेको बताउँछन् । तर सोमबार बैठक बसेर समाधान गरिएको उनको भनाइ छ ।

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय