अब मासुमा शङ्का लागे डिएनए परीक्षण

ehulaki
ई-हुलाकी | साउन २४, २०७६ शुक्रबार | 0

सञ्चिता घिमिरे,काठमाडौँ । तपाईंले खाइरहेको मासु कुन जनावरको हो भन्ने शङ्का लागेको छ ? खसी, बोका वा कुखुराको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन ?

यदि यस्तो तपाईंलाई शङ्का छ भने त्यसको समाधान हुनसक्छ डिएनए परीक्षण । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गत आवमा मात्रै झण्डै ६५ वटा जनावरसम्बन्धी मुद्दामा डिएनए परीक्षणद्वारा समाधान निकालिएको छ । तीमध्ये ४९ वटा मुद्दा वन्यजन्तुसम्बन्धी र १६ मुद्दा गाईसम्बन्धी भएको प्रयोगशालाले जनाएको छ ।

एकदशक पहिलेदेखि मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत प्रयोगशालाले तीन वर्ष पहिलेदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताए । यो दुई वर्षमा वन्यजन्तु चोरी शिकार गरेर निर्यात गर्न लागेको भनी विभिन्न निकायबाट लागि आएको मुद्दा पनि परीक्षण भएका छन् । कतिपय मुद्दामा झुक्काएर जङ्गली जनावर भनी घरपालुवा जनावरको अङ्गसमेत ओसारपसार भएको पाइएको प्रयोगशालाले जनाएको छ ।

पहिलेपहिले पनि जनावरसम्बन्धी परीक्षणका लागि मुद्दा आउने गरेको प्रयोगशालाका डिएनए युनिटका प्रमुखसमेत रहेका झाले जानकारी दिए । डिएनए प्रविधिबाट परीक्षण नहुँदा प्रयोगशालाले ती मुद्दा फर्काउने गरेको उनले बताए । अहिले विश्वका जुनसुकै प्रजातिको जनावरको अङ्ग फेला परेमा पत्ता लगाउन सकिने उनको भनाइ छ । उनले भने, “यसले गर्दा अपराध अनुसन्धानमा सजिलो भइरहेको हामीले पाएका छौँ ।” प्रयोगशालामा जनावरका अङ्गस्वरुप बँदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको झाले बताए । खुला आँखाले ती वस्तु के हो भन्ने छुट्टिदैन । मासुलाई सुकुटी वा अरु भागलाई त्यसरी नै फरकस्वरुपमा बिक्री गरिँदा त्यो कुन जनावरको अङ्ग हो भनेर छुट्याउन नसकिने उनको भनाइ छ । उनले भने, “हामीले ताजा र सुक्खा दुवै खालको मासुको परीक्षण गर्न सक्छौँ ।”

फरकखालका जनावरको अङ्ग फरकफरक प्रयोजनका लागि प्रयोग हुने गरेको प्रयोगशालाले जनाएको छ । बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग हुने गरेको पाइएको छ । कस्तुरीको बिना, भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको बताइएको छ । उनले भने, “स्वदेशभित्रै मात्रै होइन जनावरको ओसारपसार विदेशसम्मसमेत भएका घटना हामी कहाँ आइरहेका छन् ।” यहाँ आएका घटनामा घरपालुवा जनावरमा सबैभन्दा बढी गाईसम्बन्धी मुद्दा रहेको प्रयोगशालाले जनाएको छ । तीबाहेक भैँसी, बाख्रालगायतका घरपालुवा जनावर वन्यजन्तु भन्दै झुक्काएर बिक्री वितरण भइरहेको उनले बताए । कतिपय जनावरको अङ्ग कुहिएर बिग्रिएकै अवस्थामा आइपुग्ने उनले जानकारी दिए । उनले भने, “मासुलगायतका भाग कुहिसक्दा पनि हामीले डिएनए परीक्षणमार्फत नतिजा निकालिरहेका छौँ ।”

कतिपय जनावरको अङ्ग नाङ्गो आँखाले हेर्दा उस्तै देखिने सूचना अधिकारी झाले बताए । उएका अनुसार पाटेबाघ र चितुवा र अरु पनि कतिपय जनावरको कतिपय अङ्ग खाली आँखाले हेर्दा उस्तै देखिन्छ । डिएनए परीक्षणबाट मात्रै कुन प्रजातिको र कुन ठाउँको जनावर भन्ने पत्ता लाग्ने उनको भनाइ छ । अधिकांश घटनामा कुन चाहिँ जनावर हो भन्ने छुट्याइने र केही घटनामा भने जनावर हाम्रो देशको हो कि होइन भनेर छुट्याउन गरेको छ । त्यसबाहेक भारत, चीनलगायतका छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर हो भन्ने सजिलै छुट्याइने गरिएको उनले बताए ।

प्रयोगशालामा परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बिना, पाटेबाघ र चितुवाको छाला बढिरहेको तथ्याङ्कले देखाएको छ । यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बिनालगायतका अङ्ग चोरी शिकारीका मुद्दा बढी आएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा सबैभन्दा बढी अदालतबाट मुद्दा आउने गरेको सूचना अधिकारी झाले बताए । तीबाहेक निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, वन विभाग, जिल्ला वन कार्यालयलगायतका निकायबाट पनि मुद्दा आइरहेका छन् । गत आवमा प्रयोगशालामा आएका ६५ मुद्दामा सबैको परीक्षण गरेर राय दिइसकेको उनले जानकारी दिए ।

प्रयोगशालामा आव २०७३÷७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०० दुई वटा नमूना परीक्षणका लागि आएका थिए । प्रयोगशालामा विसं २०६२÷६३ बाट पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षण शुरु भएको थियो । प्रयोगशालामा अहिले मानिस र जनावरको डिएनए परीक्षणसँगै विवादित प्रलेख, टक्सिकोलोजी (विषादी, लागुऔषध, अल्कोहलसम्बन्धी), रसायन (केमेष्ट्री) तथा नार्काेटिक्स (लागुऔषध वा प्रज्ज्वलनशील पदार्थसम्बन्धी) मुद्दामा प्रयोगशालामा परीक्षण हुँदै आएको छ ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय