कर्णालीको परिचय लिएर सम्मेलनमा भाग लिँदै युवा

ehulaki
रासस | साउन २५, २०७६ शनिबार | 0

सुर्खेत । काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवा यहाँको परिचय लिएर सहभागी हुने भएका छन् ।

नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्मेलनमार्फत् कर्णालीको रैथाने खाद्यान्न, मौलिक तथा साँस्कृतिक सामग्री र पर्यटनका आकर्षक गन्तव्यका परिचय बोकेर यहाँका २४ जना युवा सम्मेलनमा सहभागी हुने जानकारी दिएको हो ।

सम्मेलनमा १८ देखि ३० वर्षका महिला र पुरुष समावेश हुने युवा परिषद् कर्णाली प्रदेशका संयोजक ईन्द्रजित सुनारले बताए । “यहाँ उत्पादन हुने रैथाने खाद्यान्नमा फाँपर, सिमी, कालीमार्सी धान, चिनो, जौ, कागुनो, उवा, लट्टे लिएर जान्छौं,” उनले भने, “साँस्कृतिक सामग्रीमा सिमल, उत्तीस र टुनी काठबाट बनेका पिर्का, खटिया, मधुस, कोशी, बटुको, मदानीजस्ता सामग्री सम्मेलनमा प्रदर्शन गर्छौं ।” त्यस्तै, परिचयसहितको कर्णालीका पर्यटकीय गन्तव्य पनि प्रदर्शन गरिने संयोजक सुनारले बताए ।

यसैगरी हिमाली चिया, चिराइतो, दाल, स्याउको चिप्स, सिस्नुको साग, मह, भागोको तेल, चौंरीको छुर्पी, टिमुर, निखुरो, जिम्मुको महत्व पनि सम्मेलनमा दर्शाइने छ । ‘उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय दिवसका अवसरमा हुन लागेको राष्ट्रिय युवा सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२०, लैगिङ्क समानता, दिगो विकासका लक्ष्य, युवा नेतृत्व र युवा उद्यमशीलता मुख्य विषयमा बहस हुने उनले बताए । सम्मेलनमा प्रत्येक प्रदेशका सहभागीले कार्ययोजना तयार गरी त्यसबाट प्राप्त हुने सुझाव समेटेर ‘काठमाडौं घोषणापत्र २०१९’जारी गरिने उनको भनाइ छ । उनका अनुसार सम्मेलनमा ७७ जिल्लाका एक महिला र एक पुरुष एवं ५० जना विभिन्न सामाजिक सङ्घ÷सङ्घसंस्था, समुदाय र वर्गगरी २०४ जनाको सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनमा सम्मेलनमा सहभागि हुने ममता अधिकारीले कर्णाली बोकेर सम्मेलनमा भाग लिने र सहभागीलाई बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय, बहुधार्मिकसहित प्राकृतिक रुपले विविधतायुक्त कर्णाली प्रदेश भ्रमणको निम्तो दिएर आउने बताए । युवा खगेश्वर मल्लले मुलुकको अर्थतन्त्र बलियो बनाउने आधार धार्मिक, साँस्कृतिक, कृषि, खेल र पर्यापर्यटन भएकाले यसको सन्देश सम्मेलनमार्फत फैलाउने प्रतिक्रिया दिए ।

राष्ट्रिय सम्मेलनबाट जारी ‘काठमाडौँ घोषणापत्र २०१९’ काठमाडौंबाट फर्केर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाउने र अबका दुई महीनाभित्र ‘कर्णाली युवा सम्मेलन’ सम्पन्न गर्ने नेपाल युवा परिषद् कर्णाली परिषद्ले जनाएको छ 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय