पूर्व उपाध्यक्ष थपलियालाई यथाशीघ्र रिहा गर्न माग

ehulaki
ई-हुलाकी | साउन २५, २०७६ शनिबार | 0

काठमाडौं । प्रगतिशील लेखक संघ नेपाल केन्द्रीय समितिले आफ्ना पूर्व केन्द्रीय उपाध्यक्ष तथा प्रगतिशील स्रष्टा खेम थपलियाको गिरफ्तारीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी र महासचिव समीर सिंहले प्रेस विज्ञप्ति जारी गर्दै थपलियालाई यथाशीघ्र रिहाई गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ :

प्रगतिशील लेखक सङघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष, नाट्यकार एवम् प्रगतिशील स्रष्टा खेम थपलियाको गिरफ्तारी एवम् यस सङ्घकै काठमाडौँ शाखाका केही वर्तमान पदाधिकारीप्रति गरिएको अमर्यादित व्यवहारप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । 

जनताको ठुलो सङ्घर्ष पश्चात् प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यतिखेर वामपन्थी नेतृत्वको सरकारले नेतृत्व गरिरहेको छ । यस स्थितिमा शान्ति, विकास र समृद्धिको जनचाहना पनि उत्तिकै जीवन्त छँदै छ । तर नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका केही अस्वाभाविक परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभास हुनु निश्चय पनि सुखद कुरा हुन सक्तैन । नेपालका सबै वामपन्थी लेखकहरूको साझा मोर्चाका रूपमा रहेको प्रगतिशील लेखक सङ्घ आफ्नो सङ्घमा आबद्ध सम्पूर्ण लेखकहरूका साथै कुनै पनि लेखकलाई राज्यको तहबाट अमर्यादित व्यवहार गरिनु हुँदैन र अनावश्यक चुनौतीको सामना गर्नु पर्ने अवस्था आउनु हुँदैन भन्ने मान्यता राख्तछ । 

अतः प्रगतिशील लेखक सङ्घका पूर्व उपाध्यक्ष खेम थपलियाको यथाशीघ्र रिहाइको माग गर्दै लेखकहरूप्रतिको अमर्यादित व्यवहार बन्द गर्न यो सङ्घ जोडदार माग गर्दछ । साथै हाम्रो संस्था वार्ता संवादको माध्यमबाट सहअस्तित्व र मेलमिलापको भावनालाई उच्च प्राथमिकतामा राख्तै राजनैतिक समस्याको समाधान गरिनु पर्दछ भन्ने ठान्दछ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 १ घण्टा अघि

लोकप्रिय