रवी लामिछानेलाई पठाएको फाइल अंगुर जिसीले हेर्न खोज्दा भयो लफडा !

ehulaki
ई-हुलाकी | साउन २७, २०७६ सोमबार | 0

काठमाडौं । निर्मला हत्या प्रकरणमा अहिले 'सिधा कुरा जनता सँग' नामक टेलिभिजन कार्यक्रमको एउटा एपिसोड विवादमा छ । एकतर्फी र पूर्वाग्रही भएको भन्दै कार्यक्रम प्रस्तोता रवी लामिछानेमाथिनै धेरैले प्रश्न गरेका छन् । 

पूर्व निर्धारित समयअनुसार कार्यक्रममा लागि प्रस्तोता लामिछानेले महेन्द्रनगरबाट पत्रकार खेम भण्डारीलाई एकल अन्र्तवार्ताका लागि बोलाएका थिए ।

कार्यक्रममा अतिथि भण्डारीले निर्मला हत्यासम्बन्धी केहि तथ्यहरु प्रस्तुत गर्ने पूर्व सहमति थियो । तर, कार्यक्रमको सुरुवातनै पूर्वाग्रही तरिकाले भएको आरोप भण्डारीले लामिछानेमाथि लगाए । त्यसपछि कार्यक्रम चल्दै गर्दा निर्मला हत्या प्रकरणमा गडबडि गरेको आरोपपछि प्रहरी संगठनले निलम्बन गरेका डिएसपी अंगुर जिसीको अस्वभाविक इन्ट्री भयो ।

कार्यक्रम अगाडि बढ्दै जाँदा पत्रकार भण्डारीलेनै खोले कुरा, स्लाइड बनाउँन रवी लामिछानेका कार्यक्रम प्रोड्युसर दिपक बोहोरालाई पठाएका केहि सामग्री निलम्बित डिएसपी जिसीलाई फरवार्ड गरिएको रहेछ । किन जिसीलाई फरवार्ड गरियो भन्दै भण्डारीले प्रश्न गरेपछि प्रतिप्रश्न गर्दै लामिछानेले प्रश्न गर्छन, कसरी थाहा पाउँनुभयो तँपाईले ? खोई प्रमाण कहाँ छ ? भण्डारीले मोबाइल निकाल्न खोजेपछि के भयो र अफवार्ड भएर ? भन्दै जवाफ फर्काउँछन् रवी ! कार्यक्रम अगाडि बढ्दै जाँदा बिना निष्कर्ष टुंगिएको छ । 

दिपक बोहोराले जिसीलाई फरवार्ड गरेपछि उनले क्लिक गर्न खोज्दा भण्डारीलाई नोटिफिकेसन् गएपछि थाहा पाएका रहेछन् । 

निर्मलाको न्यायको लागि लडिरहेको दाबी गर्ने पत्रकार भण्डारी फेरि दिलिप सिंह बिष्टलाई फसाउँन ठुलो षडयन्त्र भइरहको दाबी गर्छन् ।

कार्यक्रममा सहभागिता पछि भण्डारीले यस्तो लेखेका छन्

''न्यूज–२४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रमको त्यस दिनको अंकले नेपाली पत्रकारितामा रहेको बेथितीको सटिक प्रदर्शन गरेको छ । निर्मला प्रकरणका सम्बन्धमा ‘बहस’ गर्न अतिथीका रुपमा बोलाइएको यो पंक्तिकारलाई कार्यक्रम सञ्चालक ९होस्ट०ले धोकाधडीपूर्ण व्यवहार मात्रै गरेनन्, यो ज्वलन्त मुद्दामा अपराध गर्नेहरुको पक्षपोषण समेत गर्ने असफल प्रयास गरे । सम्भवतः विश्वकै टेलिभिजन इतिहासमा यस्तो निर्लज्जता अहिलेसम्म प्रस्तुत भएको थिएन ।

निर्मला प्रकरणलाई अनावश्यक रुपमा उचालेको, आफ्नो व्यक्तिगत रिसइबी साँध्न र आफन्तलाई बचाउन कलमको दुरुपयोग गरेको एकपक्षीय रिपोर्टहरु लगातार प्रसारित भएपछि मैले होस्ट रवि लामिछानेको आमन्त्रणलाई सशर्त स्वीकारेको थिएँ । कार्यक्रमको पूरै समय मलाई दिइनुपर्ने, आवतजावतसहितको खर्च बेहोर्नुपर्ने र मेरो सुरक्षाको प्रत्याभूति गरिनुपर्ने शर्त स्वीकारिएपछि म २१ गते बिहान काठमाडौं पुगेको थिएँ ।

प्रकरण सम्बन्धी गहन तथ्यहरु बोकेर संसारसामु ती तथ्य प्रस्तुत गर्ने मेरो उत्साहमा तब झड्का लाग्यो जब मैले रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीबीच अन्तरंग सम्बन्ध रहेको थाहा पाएँ । अघिल्लो दिन २० साउनमा मैले कार्यक्रममा मेरा तर्फबाट प्रस्तुत हुने भिडियो, दस्तावेज र अन्य चित्रणहरु समेतका ९ वटा सामग्री गुगल ड्राइभबाट इमेल गरेको थिएँ । कार्यक्रमका उत्पादक दिपक बोहरालाई पठाइएको इमेल निलम्बित डिएसपी अंगुर जिसीलाई फरवार्ड गरियो । एकजनालाई मात्र एक्सेस दिएको इमले अंगुर जिसीले खोल्न खोज्दा मेरो अनुमति माग गरियो र म झसंग भएँ ।

पत्रकारितामा यस्तो बेइमानी हुन्छ भन्ने कल्पना पनि गर्न नसकिने कुरा हो । मैले अडियन्सका लागि प्रस्तुत गर्न पठाएको सामग्री मेरा विपक्षीहरुलाई तत्काल पठाएर पत्रकारिताको धर्म नै नाश गर्ने काम गरियो । अंगुर जिसीसँग मेरो बहस निर्धारित थिएन । लामिछानेले मलाई स्टुडियोमा स्वागत गरुञ्जेल समेत तेस्रो कुनै व्यक्ति स्टुडियोमा आउने संकेत सम्म दिएका थिएनन् । तेस्रो व्यक्ति आउने घोषणा भएको अवस्थामा पनि त्यसरी मैले आफ्ना तर्क र दावी पुष्टि गर्न कार्यक्रम सञ्चालकलाई पठाएका सामग्री ‘पास’ गर्न पाइन्न तर अघोषित व्यक्तिलाई मेरो जमेर प्रतिवाद गर्नका लागि ती सामग्री फरवार्ड गरियो । अनैतिकताको यो खुल्ला प्रदर्शनले नेपाली पत्रकारिता नै लज्जित हुनुपरेको छ ।

कार्यक्रम सुरु भएको झण्डै १० मिनेटमा निलम्बित डिएसपी जिसीको स्टुडियोमा प्रवेश भयो र रवि छामिछानेले होस्टको नभई मेरो विरोधीको भूमिका निभाए । बेला–बेलामा लाग्थ्यो – रविले आफ्नो सहयोगका लागि जिसीको आड लिइरहेका छन् । विषयवस्तुको अलिकति पनि ज्ञान नभएका रविसँग अन्तर्वार्ताकला पनि रहेनछ भन्ने बुझ्न समय लागेन । रविको सहयोगीका रुपमा आएका जिसीले आफूलाई निर्दोष सावित गर्ने र मलाई दोषी प्रमाणित गर्ने अथक प्रयास गरिरहे र उनको त्यो प्रयासलाई रविले सघाइरहे ।

अंगुर जिसीसँग मिलेर रविले मलाई पटक–पटक दोषी देखाउने असफल प्रयास गरे । धेरै पटक उनले मलाई यो स्वीकार्नुस् र त्यो स्वीकार्नुस् भन्दै न्यायाधीशको जस्तो आदेश दिइरहेका थिए । तर, उनले अंगुर जिसीलाई एउटा पनि प्रश्न गरेनन् बरु अंगुर जिसीका प्रश्नहरु तिखार्ने, उनलाई सहयोग पुग्ने खालका पूरक प्रश्न गर्ने र मलाई हतोत्साहित गर्ने प्रयास अन्तिमसम्म गरिरहे । कुनै पनि होस्टले लाखौं दर्शका माझ यस्तो पक्षपातपूर्ण र शंकास्पद भूमिका गर्दैन । रविको यो भूमिकाले न्यूज–२४ टेलिभिजनकै साखमा प्रश्नचिन्ह लागेको छ ।

सुरुका केही मिनेट म हतप्रभ भएँ । कल्पना पनि नगरेको पत्रकारिताको अभ्यास देखेर म आफैलाई लाज लागिरहेको थियो । जब–जब म निर्मला प्रकरण सम्बन्धी तथ्यहरु प्रस्तुत गर्न थाल्थें दुबैजना मिलेर मलाई रोक्थे । जुन मुद्दामा बहस हुँदैछ त्यही मुद्दामा निलम्बित भएको र त्यही मुद्दामा अदालतमा अभियुक्त रहेको व्यक्तिलाई रविले भरपूर साथ दिइरहेका थिए । मलाई खुइल्याउन जुनसुकै हदको निर्लज्जता पनि प्रदर्शन गरिदिने उनीहरुको मनसाय रहेको बुझ्न मलाई करिब १० मिनेट लागेकै हो तर पनि मैले शिष्टता र भद्रताको प्रदर्शन गर्ने सक्दो प्रयास गरिरहें ।

मैले दिपक बोहरालाई पठाएका इमेलमा रहेका सामग्री पहिले नै प्राप्त गरेका अंगुरले ती सामग्रीको खण्डन गर्न झुठको पोको नै खोलिदिएका थिए । दिलिप विष्ट मानसिक रोगी होइन भन्ने प्रमाणित गर्न रवि र अंगुरले सर्वोच्च अदालतले नै उसलाई पागल अस्वीकार गरेको झुठा कुरा बोले । मलाई भोलिपल्ट मात्रै थाहा भयो सर्वोच्च अदालतको काम कसैलाई मानसिक रोगी हो वा होइन भन्ने खुटयाउने होइन रहेछ । अनडिफ्रेन्सियटेड सिजोफ्रेनियाका पनि प्रकार हुन्छन् र त्यो मानसिक रोग नै होइन भन्ने उनीहरुको संयुक्त दावी रह्यो । शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञलाई सम्पर्क गरी वास्तविकता बुझ्न मैले पटक–पटक गरेको अनुरोध सुनिएन । तीबाहेक अरु थुप्रै झुट अंगुरले बोल्ने र रविले समर्थन गर्ने क्रम करिब ३ घण्टा लामो कार्यक्रममा चलिरह्यो ।

रवि र अंगुरले मिलेर पूर्वतयारी गरेको लाखौं दर्शकहरुमाझ लुकेन । देशकै सर्वाधिक लोकप्रिय कार्यक्रमका प्रस्तोता यसरी निवस्त्र भएर लाइभ हुनसक्छन् भने भित्रभित्रै उनले कस्तो आचरण गरिरहेका होलान् भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन । कार्यक्रम एकदमै नियोजित थियो ।''

विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस्

यस्तो छ लाइभ बहस भिडियोमा हेर्नुहा्स्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय