मदिरा निषेधित वडामा बेच्नेलाई १५ हजार र सेवन गर्नेलाई ५ हजार जरिवाना

ehulaki
ई-हुलाकी | साउन २९, २०७६ बुधबार | 0

बैतडी । दशरथचन्द नगरपालिका वडा नम्बर ९ लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको वडा नम्बर ९ लाई मंगलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

भेला र समितिको निर्णयअनुसार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिनुभयो । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति गठन गरेको छ ।

वडाले निषेधित क्षेत्रमा कसैले मदिरा बिक्रीबितरण गरे १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । मदिरा ओसारपसार गर्नेलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । मदिरा सेवन गरी गर्ने घटनाको प्रकृति हेरी १ हजार ५ सय देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने वडासचिव बोहराले जानकारी दिनुभयो ।

तीन पटकभन्दा बढी कसैले मदिराको कारोबार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय