कपाल फुलेर हैरान बनायो ? घरबाटै हुन्छ समस्याको समाधान

ehulaki
एजेन्सी | साउन २९, २०७६ बुधबार | 0

काठमाडौँ । कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट धेरै मानिस हैरान छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर पार्छ । समस्याबाट छुटकारा पाउन मानिसले विभिन्न उपाय अपनाएका हुन्छन् ।

बजारमा आएका विभिन्न अप्राकृतिक कलरले हाम्रो कपाललाई झनै बढि हानि पुर्याउने गर्छ ।  प्याकेटका रङ भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग गर्यो भने राम्रो हुने विशेषज्ञहरु बताउँछन् । राति ढिलो समयसम्म नसुत्ने, खानपानमा ध्यान नदिने र धेरै तनाव लिने समस्याका कारण पनि जवानीमै मानिसहरुको कपाल फुल्ने गरेको पाइन्छ ।

हाम्रो कपालमा मेलेनिन नामक पिगमेन्ट हुन्छ जसले कपाल कालो वा सेतो हुने भनेर निर्धारण गरेको हुन्छ । कम उमेरमै मेलेनिन बन्न रोकिएपछि जवानीमै मानिसको कपाल सेतो हुन थाल्छ । तर यदि यी प्राकृतिक उपाय अपनाउने हो भने कपाल फुल्नबाट बँच्न सकिन्छ ।

नरिवलको तेल

नरिवलको तेल प्रयोग गर्ने बानी छैन भने आजैदेखि प्रयोग गर्न सुरु गर्नुहोस् । नरिवलको तेलले तपाईंको कपाललाई निकै फाइदा र्पुयाउँछ । विशेषज्ञका अनुसार नरिवलको तेलले कपाल मालिस गर्दा कपाल कालो बनाउन मात्र मद्दत गर्दैन, बलियो पनि बनाउँछ । यसले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । नरिवलको तेल सर्वसुलभ रूपमा पाइने भएकाले पनि प्रयोग गर्न सजिलो हुन्छ ।

 अमलाको धुलो

अमलामा एन्टिअक्सिडेसन हुन्छ, जसले कपालका कोषिकाहरूलाई सेतो हुन दिँदैन । त्यसका लागि अमलाको धुलोले नुहाउनुपर्छ वा मेहदीसँग मिलाएर लगाउनुपर्छ ।

अमलाले कपाललाई मजबुत बनाउन पनि सघाउ र्पुयाउँछ । अमलाको धुलोलाई कपालमा लगाएमा कपाल सेतो हुने, झर्ने, चुँडिने र पातलो हुने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

भिटामिन बी–१२

खानपानमा अलिकति ध्यान दिने हो भने पनि कपाल फुल्न वा सेतो हुन पाउँदैन । भिटामिन बी–१२ युक्त खानाको प्रयोगले कम उमेरमै कपाल फुल्न पाउँदैन ।

यदि तपाईं शाकाहारी हुनुहुन्छ भने दूध र दूधजन्य पदार्थको सेवन गर्न सक्नुहुन्छ । नत्र माछा, अन्डा, मेवा, कुखुराको मासु पनि दैनिक रूपमा मात्रा मिलाएर सेवन गर्न सक्नुहुन्छ । यस्ता खाद्यपदार्थबाट प्रचुरमा मात्रामा भिटामिन बी–१२ प्राप्त हुन्छ ।

कालो तिल

कालो तिललाई केही समय पानीमा भिजाइदिने अनि लगाउने हो भने यसले बढ्दो उमेरमा तपाईको कपाल सेतो हुनबाट बचाउँछ ।

काँचो मेवा

काँचो मेवा पिसेर लगाउने गरेमा कपाल कालो भइरहन्छ ।

यसकारण हुन्छ कपाल सेतो  

कम उमेरमै कपाल सेतो हुने एउटा नयाँ ट्रेन्ड नै बनेको छ । गुगल ट्रेन्ड सर्चका अनुसार पछिल्लो दश वर्षमा गुगलमा सेतो कपालका बारेमा खोजी गर्नेहरुको संख्या निकै बढेको छ । सन २०१५ पछि त यो संख्या झनै बढेको छ ।

छाला तथा कपाल सम्बन्धी भारतीय विशेषज्ञ डा. दीपाली भारद्वाजका अनुसार कम उमेरमै कपाल सेतो हुनु एउटा रोग हो । मेडिकल भाषामा यसलाई केनाइटिस भनिन्छ ।

इन्डियन जर्नल अफ डर्मेटोलोजीमा सन २०१६ मा प्रकाशित शोधका अनुसार भारतमा केनाइटिसका लागि २० वर्षको उमेत तोकिएको छ । भारत लगायतका दक्षिण एशियाली मुलुकमा २० वर्ष वा त्यस भन्दा पहिले कपाल सेतो हुन सुरु गर्यो भने त्यसलाई केनाइटिस रोगको संकेतका रुपमा बुझिन्छ ।

दिल्लीको सफदरजंगमा लामो समयदेखि काम गरिरहेका कपालका डाक्टर अमरेन्द्र कुमारका अनुसार केनाइटिसमा कपालको रंगमा पिगमेन्ट उत्पादन गर्ने सेलमा समस्या आउन सुरु गर्छ, यसले गर्दा कपाल सेतो हुन सुरु हुन्छ ।

विशेषज्ञहरुका अनुसार यस्तो रोग लाग्नुका पछाडी विभिन्न कारण रहेका हुन्छन्, कतिपय अवस्था वंशाणुगत गुणले पनि यस्तो हुन्छ भने कतिपय अवस्थामा खानपिन, प्रोटीन र कपरको कमी, तथा हर्माेनको कारणले पनि यस्तो समस्या हुन्छ । मानव शरीरमा हेमोग्लोबिनको कमी, एनीमिया, थाइराइड जस्ता समस्याले पनि छिटो कपाल सेतो हुने समस्या हुन्छ ।

कपाल किन छिटो सेतो हुन्छ भन्ने विषयमा विश्वभर विभिन्न खोज तथा अनुसन्धान भएका छन् । बेलायतको युनिभर्सिटी अफ ब्रेडफोर्डका प्रोफेसर डेसमण्ड टोबीनका अनुसार यूरोपमा २० वर्षको उमेरका कपाल सेतो हुनुलाई सामान्य रुपमा लिइन्छ ।

कपालको रंग कम उमेरमै सेतो हुनुमा मानव शरीरमा पाइने जीन जिम्मेवार मानिन्छ । अध्यनबाट के कुरा पत्ता लागेको छ भने, फरक फरक नस्लका मानिसमा कपाल सेतो हुने प्रकृया पनि फरक फरक हुने गर्छ । अफ्रिका र पूर्वी एशियाली मुलुकका मानिसको कपाल सामान्यतया एउटा निश्चित उमेर पार गरिसकेपछि मात्र सेतो हुन सुरु हुन्छ ।

केनाइटिसको समस्याका लागि विभिन्न किसिमका औषधीहरु प्नि बजारमा उपलब्ध हुन्छन् तर यसबाट २० देखि ३० प्रतिशतसम्म मात्र सफलता मिल्ने अध्ययनबाट पुष्टि भएको छ । विशेषज्ञहरुका अनुसार कम उमेरमा कपाल सेतो हुनबाट जोगाउन खानपिनमा पनि ध्यान दिनुपर्छ ।

त्यस्तै खानामा बायोटिन (एक प्रकारको भिटामिन) समावेस गर्ने, कपालमा कुनै किसिमको रसायनको प्रयोग नगर्ने, चायाँ हटाउने शैम्पू सातामा दुई पटक भन्दा बढी प्रयोग गर्न नहुने विशेषज्ञहरुको सुझाव छ ।

मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । कुनैपनि घरेलु औषधी प्रयोग गर्दा स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् । – सम्पादक

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय