भिडियो काण्डको पोल खोल्ने डरले एयरपोर्टमा पसल खोल्न अनुमति, खुल्यो यस्तो पोल

ehulaki
ई-हुलाकी | भदौ ५, २०७६ बिहिबार | 0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुहरुले बोर्डिङ पास लिइसकेपछि विमानमा चढ्नुपूर्व वेटिङ गर्ने ठाउँलाई ‘स्टेराइल एरिया’ भनिन्छ । स्टेराइल एरिया सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ ।

 स्टेराइल एरिया सामान्यतया ब्यापारिक हिसाबमा प्रयोग गर्न पाइँदैन । तर, नेपालमा शरदसिंह भण्डारीजस्ता भ्रष्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको बेला सुवास श्रेष्ठको सोनेगा सर्भिसलाई स्टेराइल कक्ष प्रयोग गर्न दिने निर्णय भएको थियो । जुन निर्णयमा गृहमन्त्रालयले असहमति जनाएको थियो । भण्डारीकी निकट निर्जला राउतलाई साझेदार बनाएर श्रेष्ठले एयरपोर्टको स्टेराइल एरियादेखि सबै ब्यापार हत्याएका थिए ।

 सुरुमा अवैध अन्तर्राष्ट्रिय कल चोरी(भीओआइपी)को कारोबार गर्ने श्रेष्ठ एयरपोर्टको ब्यापारमा पछि छिरेका हुन् । प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलको स्टेराइल एरियामा पसल खोली अवैध अमेरिकी डलरदेखि विभिन्न किसिमका शंकास्पद क्रियाकलाप गरेको आशंका गर्दै आएको थियो ।

 त्यो आशंका सुवास श्रेष्ठ अवैध डलरसहित पक्राउ परेपछि पुष्टी भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)ले उनी पक्राउ परेपछि स्टेराइल एरियाको उक्त पसल बन्द गरिदियो । 
तर, श्रेष्ठले सर्वोच्च अदालतमा रिट हालेर न्यायाधीशसँग सेटिङ गरी उक्त पसल खुलाउने अन्तरिम आदेश गराए ।

 अन्तरिम आदेशपछि पनि पसल खुलाउन टीआइएले आनकानी गरेपछि सुवास श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारी गुहारे । अख्तियारका उच्च अधिकारीले टीआइएका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई सुवास श्रेष्ठको उक्त पसल खोल्न दबाब दिए ।

 दबाब पनि नमानेपछि महाप्रबन्धक क्षेत्रीको घुस लेनदेनको भिडियोका आधारमा मुद्दा चलाउने चेतावनी दिएपछि श्रेष्ठको पसल टीआइएले खोल्न अनुमति दिएको थियो । टीआइएका महाप्रबन्धक क्षेत्रीको घुस लेनदेनको भिडियो अख्तियारमा छ । त्यो भिडियोकै कारण उनले सुवासलाई उक्त पसल खोल्न अनुमति दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार सुवासको पसल खोल्न अनुमति दिने सर्तमा अख्तियारका ती उच्च अधिकारीले भिडियो प्रकरण सामसुम पारिदिने आश्वासन क्षेत्रीलाई दिएका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय