पारसकाे भन्दा सशस्त्रका आईजीपीको चर्तिकला बढी, विमानस्थलको भीआइपी कक्षमा यस्तो ?

ehulaki
ई-हुलाकी | भदौ ५, २०७६ बिहिबार | 0

 काठमाडौं । संविधानले सबै नेपाली नागरिकलाई बराबर अधिकार दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्रको चेकजाँच गरेर संविधानको पालना गर्नु नागरिकको कर्तब्य हो भन्ने बोध गराएको छ ।

 कानुन सबैका लागि लागू हुन्छ भन्ने सन्देश प्रवाह गरी प्रशंसनीय काम गरेको प्रहरीले विमानस्थलको विशिष्ट कक्ष(भीआइपी रुम) दुरुपयोग रोक्न सकेको छैन । विमानस्थलको भीआइपी कक्ष राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका विशिष्ट श्रेणीको लागि हो ।

 तर, अन्तर्राष्ट्रिय यस्तो संवेदनशील कक्षलाई सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले भीआइपी कक्षलाई आफन्तहरु भेला गरी फोटो सेसन गर्न र सेल्फी खिच्न दुरुपयोग गरेका छन् । गएको साउन २२ (अगष्ट ७)मा आइजीपी खनालले सालीकी छोरीलाई अमेरिका पठाउने क्रममा भीआइपी कक्षको दुरुपयोग गरेका छन् ।

 उनले भीआइपी कक्षमा सालीकी छोरीलाई अमेरिका बिदाई गर्दा भीआइपी कक्षबाट गरेका थिए । नेपाल निर्माण ब्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछाने आइजीपी खनालका साढुभाइ हुन् । उनैकी छोरीलाई अमेरिका बिदा गर्दा आइजीपी खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी कक्ष दुरुपयोग गरेका हुन् ।

 सालीकी छोरीलाई अमेरिका उडाउँदा भीआइपी कक्षमा आइजीपी खनालले ७ जनाको लावालस्कर लिएर गएको तस्वीरले प्रष्ट पार्दछ । सालीकी छोरीलाई अमेरिका पठाउनका लागि विभानस्थलमा गएका आइजीपी खनालले आफूसँग लिएर गएका सबैलाई भीआइपी कक्षमा लगे, फोटोसेसन गराए ।

 जुन फोटो उनकी साली लताले सामाजिक संजाल फेसबुकमा अगष्ट ७ मा पोष्ट गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका प्रमुख सूर्यप्रसाद उपाध्यायले भने–‘भीआइपी नै बिदेश जाँदा उनका घरका मानिसले गेटपास लिएर जानसक्छन् । तर, भीआइपीका सालीका छोरी विदेश जाँदा भीआइपी कक्ष प्रयोग गर्न पाइँदैन ।

 गेटपास दिने काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय(टीआईए) को हो । प्रहरीले गेटपास दिने होइन । गेटपास लिएकाहरुलाई चेक गरी प्रवेश गराउने हो ।’
डीआइजी उपाध्यायले गेटपास दिने टीआइएको थाप्लोमा हाले ।

 यता, टीआइएका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने कस कसले विदेश जाँदा भीआइपी कक्ष प्रयोग गर्न पाउँछन् भन्ने स्पष्ट रुपमा उल्लेख गरिएको हुने बताए । विशिष्ट श्रेणीका ब्यक्तिले आफूबाहेक अरुलाई भीआइपी कक्षमा लान नपाउने उनी बताउँछन् ।

 भीआइपी कक्षको दुरुपयोग गरी सालीकी छोरीलाई लावालस्करसहित बिदाई गर्ने क्रममा फोटोसेसन गरेको, सेल्फी खिचेको फोटो नै सार्वजनिक भएकोबारेमा क्षेत्रीले भने,‘भीआइपी कक्षको दुरुपयोग रोक्ने काम प्रहरीको हो । टीआइएको होइन ।’ टीआइएले गेटपास दिएका कारण आइजीपी खनाल लावालस्करसहित भीआइपी कक्षमा गएको प्रहरीको भनाइबारेमा उनको ध्यानाकर्षण गराउँदा उनको प्रतिक्रिया थियो–‘त्यसरी गेटपास दिइएको छैन । सेक्युरिटीले गेटपास नै नलिई उनीहरुलाई प्रवेश दिएको हुनुपर्छ ।’

 आइजीपी खनालले सालीकी छोरी बिदाइ गर्न ग्वारग्वार्ती हुल लिएर भीआइपी कक्षमा जाँदा पनि प्रहरीले रोक्न सकेन । आइजीपी खनालसँगै अपराधी पनि छिर्नसक्ने संभावना हुन्छ भन्ने कुरा प्रहरीले हेक्का राख्न सकेन ।

 २०५६ पुस ९ मा इण्डियन एयरलाइन्सको आइसी–८१४ नम्बरको विमान अपहरण भएपछि टीआइएको सुरक्षा ब्यवस्थामा संवेदनशीलता अपनाउने भनियो । केही समय सुरक्षा ब्यवस्था कडा पारियो । तर, सशस्त्र प्रहरी बलकै महानिरीक्षक खनालले सालीका छोरीलाई बिदा गर्दा समेत भीआइपी कक्षको दुरुपयोग गर्ने, सेल्फी खिच्ने, फोटोसेसन गर्न थालेपछि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा ब्यवस्था कति कमजोर छ भन्ने पुष्टी भएको छ ।

 विमानस्थलको सुरक्षा संवेदनशीलतालाई उपहास गर्दैै आइजीपी खनालले भीआइपी कक्षको दुरुपयोग गरेको देखिएको छ । कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती छिराउने कुरा त्यत्तिकै भनेका होइन रहेछन् भन्ने कुरा सशस्त्रका आइजीपीले लावालस्करसहित सालीकी छोरीलाई भीआइपी कक्षमा फोटोसेसन गरी बिदाइ गरेको घटनाले पुष्टी गरेको छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय