को हो क्रान्तिको बाधक ?

ehulaki
प्रमोद धिताल | भदौ ५, २०७६ बिहिबार | 0

सिकाई र परिवर्तन अनुकरणबाटै सुरु हुने हो । बच्चाहरुले जे सुन्छन् त्यो प्रायः गर्दैनन्, तर जे देख्छन् त्यो तुरुन्तै गरिहाल्छन् । सिकाई, अभ्यास र परिवर्तनको यात्रा यसरी नै अगाडि बढ्ने हो । इमान्दार अनुयायीहरु पैदा गर्नको लागि पनि इमान्दार अगुवाहरु निर्माण हुनैपर्छ । अन्यथा परिवर्तन दुनियाँ झुक्याएर खाने छली धन्दा मात्र बन्न पुग्छ । हामीले नेपाली समाजमा आजपर्यन्त देख्दै र भौग्दै आएको त्यही हो ।

रुपान्तरणका दुई पक्षहरु छन् एउटा अचेत रुपान्तरण र अर्को सचेत रुपान्तरण । अचेत रुपान्तरण मानिसले कुनै पनि ज्ञानलाई सचेत प्रकारले ग्रहण गर्दैन । योजनावद्ध व्याख्या गर्दैन र रुपान्तरणको यात्रा पनि तय गर्दैन तर उसमा परिवर्तन भई पनि रहेको हुन्छ । त्यसमा अन्तः प्रेरणाले होइन बाह्य प्रेरणाले मुख्य भूमिका खेल्ने गर्छ । यसरी हुने परिवर्तनको लागि कसैले पनि आफूलाई योजनाबद्ध क्रान्तिकारी बनाइराख्नु पर्दैन । भाग्यवादी होस् या यथास्थितिवादी, ऊ पनि समयको प्रवाह र परिवर्तनको नियमअन्तर्गत परिवर्तन भई नै रहेको हुन्छ । तर जब सचेतन प्रयत्नको कुरा आउँछ त्यहाँ मूलतः सचेतन आत्मिक प्रयत्नको भूमिका प्रमुख रहने गर्छ । यो यात्रामा पहिलो भूमिका इन्द्रिय ग्राह्य ज्ञानले खेल्ने गर्दछ । परिवेशी संसार होस् या पुस्तकको ज्ञान दुबै माध्यमबाट मानिसले ज्ञान हासिल गर्ने गर्दछ । माध्यम विभिन्न हुनसक्छन् तर यो प्रक्रियामा मानिसले दिमागमा जानकारीहरु केन्द्रित गर्दछ । यसको लागि उसले पुस्तक पढ्दछ, सत्संगमा जान्छ, बहस, छलफल र अन्तक्र्रिया गर्दछ । विद्यालयदेखि विश्वविद्यालयका कक्षा कोठाहरुमा जान्छ । प्रशिक्षण तथा तालिमहरुमा सहभागी हुन्छ । सँगसँगै आफ्नै आँखाले पनि जीवन देख्छ र भोग्छ । यसपछिको चरण हुन्छ तार्किक ज्ञान । जब आफूले ग्रहण गरेको जानकारीलाई उसले तार्किकीकरण मार्फत पुष्टि गर्न सक्छ या बिस्तारै एउटा दृष्टि निर्माण गर्न थाल्छ कि के ठीक के बेठीक ? ऊ कहाँ छ, अनि पुग्नुपर्ने कहाँ हो ? यो हुन्छ तार्किक ज्ञान ।

तेस्रो र निर्णायक चरण हो अभ्यासको सिद्धान्त । जब कुनै कुरालाई स्वतर्कद्वारा सही या गलत पुष्टि गर्ने ठाउँमा पुगिसकेपछि ऊ अभ्यासको चरणमा पुग्छ । त्यसैले हो व्यक्ति, परिवार र समाजमा गति पैदा गर्ने र रुपान्तरण ल्याउने । यहाँनेर ज्ञान र निर्मित दृष्टिकोणले धेरै महत्वपूर्ण भूमिका त खेल्छ नै तर निर्णायक भूमिका नखेल्न सक्छ । यहाँनेर त्योप्रतिको अडिग इमान्दारिता र आँटले पनि काम गरेको हुन्छ । अधिकांश मानिसहरु यहीँनेर गएर चुक्ने हुने गर्छ । 

जतिसुकै मक्किएको रुख किन नहोस्, त्यसलाई ढाल्नको लागि अन्तिम बल प्रयोग गर्नैपर्ने हुन्छ । सडेकै रुख ढल्नको लागि पनि कि अलि जोडको हावा चल्नुपर्छ र मानिसले धक्का दिनुपर्छ । मानव समाजमा विद्यमान परिपाटीहरुमा त झन वर्गस्वार्थ निहित भएको हुन्छ । सयौं–हजारौं वर्षको दौरानमा निर्मित ती मूल्यमान्यताहरु चाहे जतिसुकै अमानवीय र कुरुप किन नहून् ? ती समाजका प्रिय मूल्यमान्यताहरु बनेर कायम रहेका हुन्छन् । ती परम्पराहरु केबल असल नियतको भरमा, आर्जन गरेको ज्ञान र सही दृष्टिकोणको कारणले मात्रै हट्ने या पराजित हुने पनि होइनन् । त्यसको लागि कुनै न कुनै बिन्दुमा गएर भिड्नैपर्ने हुन्छ । त्यसैले पनि व्यक्ति  र समाज रुपान्तरणको लागि ज्ञान, तर्क र सही दृष्टिकोण मात्र काफी छैनन् बरु आवश्यक विन्दुमा संघर्ष अनिवार्य छ । माक्र्सले हचुवाको भरमा भनेका होइनन्, “संसारको व्याख्या त धेरै दार्शनिकहरुले गर्दै आएका छन् तर दर्शनको मुख्य सवाल भनेको यसलाई बदल्नु हो ।” “मानवजातिको इतिहास वर्गसंघर्षको इतिहास हो ।” तसर्थ यो कुरालाई इन्कार गर्नेहरुले परिवर्तनको नियमप्रति इमान्दार बन्न सक्दैनन् अर्थात जीवन र जगतलाई बदल्ने सवालमा सफल हुनसक्दैनन् । उनीहरु ज्ञान र तर्कमा अब्बल साबित हुनसक्छन् । नियतको हिसाबले पनि शुद्ध हुनसक्छन् । यतिले मात्र जीवन र जगतमा बदलाव आउँदैन । परिवर्तनको यात्रामा कोही इमान्दार अभियन्ता साबित हुँदैन । ऊ अन्ततः प्रतिक्रियावादी नै बन्ने हो या अवसरवादी । तसर्थ व्यहारमा नहोमिएर फगत क्रान्तिका गफ मात्र दिएर कोही पनि परिवर्तनको नियमप्रति इमान्दार हुन असम्भव छ । 

जसले ‘क्रान्तिकारी’को नाउमा ‘क्रान्ति’लाई फगत गफ र तर्कको खेती गर्ने माध्यम बनाएका छन् उनीहरु नै यो समयका क्रान्तिका खाँटी दुश्मन हुन् । माक्र्सवादले उहिले नै व्याख्या गरेका प्रतिक्रियावादीहरु क्रान्तिका निम्ति सदाकालका घोषित दुश्मन हुन् । तर ती त्यति खतरनाक होइनन् जति अघोषित, छद्म र लुकेका दुश्मनहरु हुने गर्छन् । क्रान्तिलाई कठीन बनाउनमा प्रतिक्रियावादीहरुको जति भूमिका छ, त्यो भन्दा हजार गुणा भूमिका छद्म क्रान्तिकारी या अवसरवादीहरुको छ । 

अझ यो तर्कलाई बिस्तार गर्ने हो भने भन्नैपर्ने हुन्छ, क्रान्तिको कुरा गर्नेहरु नै यतिखेरका सबैभन्दा भयानक क्रान्तिका दुश्मनहरु हुन् । क्रान्तिका घोषित दुश्मनहरु त्यो प्रवृत्तिको तुलनामा इमान्दार हुन् किन कि उनीहरु भन्छन्– “क्रान्ति आवश्यक छैन, यही परिपाटीभित्र ‘स्वर्ग’ निर्माण गर्नसकिन्छ ।” क्रान्तिको पक्षमा उभिएको स्वाङ रच्दै प्रतिक्रियादी भूमिका खेल्ने व्यक्ति र शक्तिले क्रान्तिको निर्णायक र सदाकालको निम्ति दुश्मन हो । क्रान्तिका कुरा गर्ने हैसियत राख्नु, तर्कहरु गर्नमा आत्मरति गर्नु र लागू गर्ने बेलामा पन्छिनु उनीहरुको खाँटी विशेषता हो । यदि यो कुरा काल्पनिक अनि आरोपको लागि आरोप हो भने व्यहारमै हेरौं गफमा क्रान्तिको खेती गर्नेहरुको व्यवहारको कुन पाटो क्रान्ति विरोधीहरुको भन्दा भिन्न छ ? विचारधारा, संस्कृति, रीतिरिवाज, आनीबानीदेखि लिएर दैनिक जीवनशैली र बस–उठमा उनीहरु कहाँनेर भिन्न छन् ? यो कुराप्रति इमान्दार बन्ने त परकै कुरा एकचोटि आत्मसमीक्षा गर्न पनि पात्रहरु तयार छैनन ! के यत्ति दृष्टान्त नै काफी छैन र क्रान्तिको कुरा गर्ने पात्र र प्रवृत्तिहरुको विजोगको अध्ययन गर्नलाई ?

नेपाली समाजमा प्रगति, रुपान्तरण, क्रान्ति र समृद्धिका कुराहरुको खेती जति व्यापक छ त्यो वास्तविक कम र देखावटी बढी छ । यदि त्यो वास्तविक नै हुन्थ्यो भने प्राकृतिक सुन्दरता, वैभव र विविधताले युक्त यो मुलुक भौतिक र आत्मिक दुबै दृष्टिले धेरै शक्तिशाली र असल मुलुकको रुपमा कायापलट भइसकेको हुन्थ्यो । वास्तविक नायकहरुलाई खलनायक बनाएर पेश गर्ने र खलनायकहरुलाई वास्तविक नायकको रुपमा सिंगार्ने र पूजा गर्ने नेपाली समाजको सामाजिक मनोविज्ञानले जुन काम गरेको अवस्था छ, त्यो हाम्रो निम्ति संस्थागतरुपमा विद्यमान सबैभन्दा भयानक रोग हो । व्यक्तिगतरुपमा कुरा गर्ने हो भने हरेक नियकाय र संस्थामा रहेका अगुवाहरु नै परिवर्तन र क्रान्तिका बाधक छन्, किनकि उनीहरु दुनियाँले सोचेभन्दा बेसी नै ढोंगी छन् । उनीहरुमा साथी बन्ने होइन शासक बन्ने लालशाले बढी काम गरेको छ । माक्र्स दुनियाँका शोषित, उत्पीडित मानिसहरुका साथी बन्न तयार भएर मुक्तिको दर्शन निर्माण गरे, त्यही एउटा क्रान्ति भयो । लेनिन मजदूरहरुका साथी बन्न तयार भए, रुसमा क्रान्ति भयो । चीनमा माओ साथी बन्न तयार तयार भए, त्यहाँ अर्को क्रान्ति भयो । तर हामीकहाँ देखिएका अगुवाहरुमा जनताको साथी बन्ने या बनिराख्ने हैसियत नै निर्माण भएन । जसले गर्दा क्रान्तिहरु भएनन् या भए भनिएका क्रान्तिहरुभित्र पनि प्रतिक्रान्ति भयो र हुने क्रम जारी छ । 

अतः वर्गदुश्मनहरुप्रति निर्मम भएर लड्ने दुनियाँका जति पनि क्रान्ति योद्धाहरु थिए, ती पहिला आफैसँग निर्मम भएर लडेका थिए । शासक बन्न गरेको ‘त्याग–तपस्या’लाई महान क्रान्तिकारिताको पगरी भिराउने अनि दुई हातले निजी पद, पावर र पैसाको लागि ज्यान फालेर लड्ने कथित क्रान्तिकारीहरुको मूल्य के हो ? सहजै अनुमान गर्न सकिन्छ । के हामी क्रान्तिलाई भजाई खाने अस्त्र होइन मानव मुक्तिको एकमात्र विकल्प देख्ने चेग्वेभाराको आदर्शलाई एकपटक मनन गर्न तयार छौं ? जसले आफ्नै अगुवाईमा भएको क्रान्तिपछि पनि त्यस देशको राष्ट्रपति हुन छोडेर क्रान्तिको यात्रालाई जारी राख्न बोलिभियातर्फ हिडेका थिए । भलै उनी कैयौं सवालमा यान्त्रिक थिए होलान् तर नैतिकता र संस्कृतिको हिसाबले त्यो अहिले पनि के त्यो आदर्श पुरानो हुने र कम आँक्न मिल्ने दृष्टान्त हो ? तसर्थ इतिहासका पानाहरु बोल्छन् कि आफैसँग निर्णायक युद्ध नलड्ने योद्धा बाहिरको लडाईमा कहाँनेर गएर ढल्ने हो ? यो त्यसको कुनै ठेगान हुँदैन ।
 

प्रमोद धिताल

धिताल सक्रिय राजनितिक/साँस्कृतिक चिन्तक हुन । अनुसन्धानमूलक लेख लेख्ने धिताल कवि पनि हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय