स्वयम्भू गोली काण्डः अध्यक्षसँग मागिएको दुई करोड फिरौतीमा उपाध्यक्षको संलग्नता

ehulaki
ई-हुलाकी | भदौ ६, २०७६ शुक्रबार | 0

काठमाडौं । गएको साउन २४ गते काठमाडौंको स्वयम्भूमा भएको गोली काण्डमा गाउँपालिका उपाध्यक्षको संलग्नता रहेको फेला परेको छ । रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड फिरौती मागिएको घटना सोही गाउँपालिकाकी उपाध्यक्षको संलग्नता देखिएको हो ।

प्रहरीले उपाध्यक्ष दिपशिखा न्यौपाने दाहालको संलग्नता देखिएपछि उनीविरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको विवादका कारण स्यम्भू गोलीकाण्ड भएको निष्कर्ष निकाल्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेको जनाएको हो ।

प्रहरीले उपाध्यक्ष दाहालसँगै उक्त प्रकरणमा संलग्न भएको भन्दै तत्कालीन नेकपा (माओवादी) का नेता ‘सन्दीप’ भनिने ध्रुव कार्की र सोही गाउँपालिकाको ७ नम्वर वडाका वडाअध्यक्ष सुवास बोहोरालाई पनि पक्राउ पूर्जी जारी गरेको छ ।

सोही घटनामा अध्यक्ष खड्कालाई फिरौती माग्ने दुई जना साउन २४ गते पक्राउ परेका छन् । स्वयम्भुको विजेश्वरीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । एक घरमा लुकेर बसेका उनीहरुलाई पक्राउ गर्न खोज्दा भागेका थिए । त्यसक्रममा प्रहरीले गोली चलाउँदा ‘लोप्चन लामा’ भनिने मिलन तामाङको घुँडामा दुई वटा गोली लागेको थियो । सो क्रममा उनीसँगै रहेका अमृत तामाङ पनि पक्राउ परेका थिए ।

काठमाडौंको बानेश्वरमा समेत घर भएका खड्का केही समयदेखि काठमाडौं नै बस्दै आएका थिए । एक महिनादेखि धम्की खेप्दै आएका अध्यक्ष खड्काले त्यसपछि प्रहरीमा उजुरी दिएका थिए ।
उनहरुले लिखु हाइड्रोबाट २० लाख र रोड कन्सट्रक्सनबाट ३० लाख रुपैयाँ समेत मागेको प्रहरीकहाँ मौखिक उजुरी परेको बताइएको छ । गोली लागेका मिलन तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अर्का अमृत तामाङ प्रहरी नियन्त्रणमा छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय