मसालभित्र काण्डै काण्ड

ehulaki
प्रमोद धिताल | भदौ १३, २०७६ शुक्रबार | 0

बहुमतको बोली नै सत्य हो भन्ने बुझाई या रोग नेपाली समाजको सामाजिक मनोविज्ञान हो । यसको प्रतिबिम्ब राजनीतिक पार्टीहरुमा स्पष्ट देख्न सकिन्छ । कम्युनिष्ट पार्टीहरुभित्र लेनिनवादी संगठनात्मक सिद्धान्तको अभ्यास गर्दै आएको इतिहास छ । जसअनुसार संगठन र त्यसले गर्ने कामकारवाहीहरुलाई अगाडि बढाउनको लागि अल्पमतले बहुमतको निर्णयलाई लागू गर्नुपर्ने भन्ने छ । तर यसको अर्थ बहुमतले गरेको निर्णय नै सत्य भइहाल्छ भन्ने होइन । यसको बाबजुद पनि ‘सत्य बहुमतमै निहित हुन्छ’ भन्ने अघोषित मान्यतालाई स्थापित गरिएको छ । कम्युनिष्ट आन्दोलनभित्रको जिम्दारी प्रथाले त्यो मान्यतालाई स्थापित गरेको छ ।

यही प्रवृत्तिको पछिल्लो कडीको रुपमा नेकपा (मसाल)भित्रको ‘हाँक काण्ड’लाई लिन सकिन्छ । अर्थात् ३६ वर्षदेखि पार्टी मुखपत्रको रुपमा निरन्तर प्रकाशित हुँदै आएको ‘हाँक’ साप्ताहिकलाई प्रालिमा लिन अस्वीकार गरेकोले यसका प्रकाशक तथा सम्पादक रहेका पार्टी नेता गोविन्दसिंह थापालाई साधारण सदस्यता पनि नरहने गरी अनिश्चितकालका लागि निष्काशन गरिएको छ । यसबारे स्पष्टीकरण दिँदै गोविन्दसिंह थापाले भनेका छन्, “हाम्रो पार्टीको आठौं महाधिवेशनमा अल्पमतको र बहुमतका विचारमा व्यापक  छलफल भएको थियो । त्यो बेला म अल्पमतको क्रान्तिकारी वामपन्थी विचारको पक्षमा उभिएको थिएँ । म बहुमतको दक्षिणपन्थी लाइनमा उभिएको भए शायद निष्कासित हुने अवस्था आउने थिएन ।” यसबाट के बुझिन्छ भने ‘हाँक’ काण्ड एउटा बहाना मात्र हो । मुख्य कुरा गोविन्दसिंह थापा अल्पमत पक्षधर हुनु हो । जबकि झण्डै चार दशकदेखि निरन्तर पार्टीकै मुखपत्रको रुपमा सो पत्रिका प्रकाशित भइराख्दा कुनै लफडा सिर्जना नहुने तर त्यसका प्रकाशक अल्पमत पक्षधर भइसकेपछि पत्रिका व्यवस्थापनलाई नै मुद्दा बनाएर अनुशासनको कारवाहीले पार्टी सत्ता आफै कति अनुशासनहीन छ भन्ने कुरा प्रष्ट छ ।

मोहनविक्रम सिंह नेपालको कम्युनिष्ट आन्दोलनको प्रारम्भिक चरणका अग्रज पात्र हुन् । पछिल्लो चरणसम्म आइपुग्दाका नेपालको राजनीतिमा छाउन सफल केही पात्रहरुका पनि उनी गुरु हुन् । तर उनीदेखि नै स्थापित दुईवटा प्रमुख रोगहरुले अद्यापि नेपालको कम्युनिष्ट आन्दोलनलाई बेसरी गाँजेको कुरामा कुनै शंका छैन ।
 
सत्य र सत्ताको केन्द्रीकरण 
पार्टी प्रमुख भनेको वर्ग, पार्टी र कमिटीको सच्चाई अनि स्वत्व अभिव्यक्त हुने जिम्मेवारी हो । तर ती कुराहरुलाई जब प्रमुख नेतामा लगेर कुण्ठित गर्ने अभ्यासले वैधता पाउँछ, त्यसपछि पार्टी प्रमुख जिम्दार बन्न पुग्छ । अर्थात ऊ हुन्छ पार्टी मौजाको मालिक । उसले सोच्ने र देखाउने असहिष्णु व्यवहार नै क्रान्तिकारी र सत्य साबित हुनपुग्छन् । अहिलेसम्म यही विरासतले जुनसुकै बहानामा स्थान लिइराख्नुमा मोहनविक्रमको व्यवहारिक स्कुलिङको महत्वपूर्ण योगदान छ । उनले आफ्नो विज्ञप्तिमा अनुशासनको मामिलामा आफ्नो पार्टी निकै कठोर रहेको र आफ्नै मामालाई पनि नछोडेको हास्यास्पद तर्क दिएका छन् । कुरा त्यतिमा मात्र सीमित छैन । उनले क्रान्तिकारिताको सार र मात्रालाई प्रतिशतमा विभाजन गर्दै पाँच दशकदेखि पार्टीमा क्रियाशील थापामा अत्यन्त न्यून प्रतिशत कम्युनिष्ट विशेषता रहेको ठहर गरिएको छ । बेला बेलामा नेपालको कम्युनिष्ट आन्दोलनका साझा गुरु मोहनविक्रमले आफ्ना ‘सैद्धान्तिक’ अभिव्यक्तिमार्फत अप्रत्याशित मनोरञ्जन प्रदान गरिरहन्छन् । पाँच दशक भनेको मानिसको जीवनको प्रमुख हिस्सा हो । निरन्तरताको हिसाबले पनि यो चानचुने समय होइन । त्यस्तो व्यक्तिमा समेत न्यून कम्युनिष्ट चरित्र देखिएको पुष्टि हुन्छ भने मोहनविक्रमको पार्टीमा कति जना व्यक्तिहरु बचेका होलान् ? जसलाई उनले निर्धक्कसँग पास मार्कको कम्युनिष्ट सर्टिफिकेट प्रदान गर्नसक्लान् ? अनि उनलाई चाँहि डिस्टिङ्शनको प्रमाणपत्र कसले दिने होला ? के क्रान्तिकारिता नाप्ने एकमात्र कसी ‘महामन्त्री’ र उसको दिमागबाट पैदा हुने ‘अलौकिक’ सोंच नै हो त ? 

बहुमतको बलमा अनुशासनको डण्डा  
कुनै बेला यो पंक्तिकार पनि उनी महामन्त्री भएको पार्टीमै थियो । त्यतिखेरदेखिको अनुभवले पनि हामीकहाँ ‘कम्युनिष्ट कानून’ कम्युनिज्म लागू गर्न होइन आफ्नो ‘कम्युनिष्ट जिम्दारी’ वैधता दिन प्रयोग गरिँदो रहेछ भन्ने कुराको बोध भयो । आफ्नो सत्तालाई सधैंभरि अकण्ंटक राख्न भिन्न मतलाई, दक्षिणपन्थी, अवसरवादी, उग्रवामपन्थी, क्यारियरिष्ट एवं गद्दार भनेर राजनीतिक सफाया अभियान चलाउनेमा उनी अग्रमपंक्तिमै छन् । तर मैले ‘सदावहार क्रान्तिकारी’ ठानेका मोहनविक्रमको राजनीतिक लाइन त्यतिखेर पनि दक्षिणपन्थी नै थियो । ०६२÷६३ पूर्वको संविधानसभा अनि गणतन्त्रमुखी आन्दोलनलाई बेमौसमको बाजा घोषणा गर्ने उनै थिए । गणतन्त्रको मागलाई उनले निरन्तर दुत्कारिरहे । उनले ०६२÷६३ सालको जनआन्दोलनको बेला संयुक्त आन्दोलनमा सहभागी नहुने अडान लिएका थिए । त्यसको समानान्तर मेची महाकाली अभियान पनि चलाए । 

२०६५ मंसिर १५ गते आफ्नै पार्टीका सभासदहरु चित्रबहादुर केसी, डिलाराम आचार्य र हरि आचार्य समेतको सहभागितामा पारित भएको नागरिकता विधेयकको विरुद्धमा नेकपा (मसाल)ले विज्ञप्ति जारी ग¥यो । तर उनीहरु संस्थापन पक्षधर भएकै कारणले अनुशासनको कुनै कारवाही भएन । अनुशासनको मामिलामा धेरै कडा भएको दाबी गर्ने मोहनविक्रमको अनुशासनको मापदण्ड त्यतिखेर कहाँ गयो ? त्यसैगरी चित्रबहादुर केसी मन्त्री भएकै बेला सो पार्टीका बौद्धिक चिन्तकको रुपमा स्थापित नेता शशिधर भण्डारीले सरकारका कमीकमजोरीको बारेमा लेख लेखेबापत ६ महिलनासम्मको लागि पार्टी सदस्यबाट निस्काशन गरिएको कुरा उल्लेखनीय छ । जनगायक तथा रक्तिमका अध्यक्ष जीवन शर्मालाई पार्टीलाई जानकारी नगराई जापान गएको भन्दै अनुशासनको कारवाही गरियो । यी शृङ्खलाहरु मोहनविक्रमको ‘कम्युनिष्ट जिम्दारी शैली’का केही प्रतिनिधि दृष्टान्त मात्र हुन् । यी घटनाहरुले उनको क्रान्तिकारी दूरदर्शिता र चिन्तन पक्षको राम्रो झल्को दिन्छन् । यसरी पार्टी प्रमुखको मत या बहुमतको मत नै सधैं क्रान्तिकारी र सत्य हुन्छ भन्ने मान्यता स्थापित भएमा के हुन्छ ? दुईवटा परिणाम स्वाभाविक हुने गर्छन् । अल्पमत बहुमतको कोपभाजनको शिकार भइरहनु या ढिलोचाँडो बहुमतसँग सांगठनिक विद्रोह गरेर अलग हुनु । यो निरन्तर भई पनि रहेको छ । पार्टी टूटफुट तथा व्यक्ति पलायनको जिम्मेवारलाई ‘विचलन’ करार गरिदिएर मात्र हुँदैन । यसको समस्या नेतृत्वशैली तथा बहुमतको वैधानिक दादागिरीभित्र पनि खोजिनुपर्छ ।

जबसम्म अल्पमतलाई पनि पार्टीकै पूँजीको रुपमा संरक्षण दिने संस्कृतिको विकास गरिँदैन तबसम्म यो विकृति जारी रहन्छ । पूर्ण एकता एउटा भ्रम हो । त्यसको दुहाई दिएर अल्पमतको संहार जिम्दारी सामन्तवाद हो । आजीवन राजनीतिक र पार्टी मौजाको मालिक बनिरहनुपर्ने, नेतृत्व श्रद्धाको नाउँमा एकथरिहरुले त्यही प्रवृत्तिलाई पुजिराख्नुपर्ने । त्योसँग विमति राख्नेहरु पनि त्यो प्रवृत्तिको शिकार बन्नुपर्ने । यो अवस्थाले गर्दा कम्युनिष्ट क्याम्पमा रचनात्मक प्रतिस्पर्धाको विकास कहिल्यै हुन सकेन । हुँदाहुँदा सामन्ती विरासतको रुपमा राज खान्दानी शैलीमा वफादार उत्तराधिकारी चयन गर्नुपर्ने । के यो कम्युनिष्ट साँस्कृतिक अभ्यास हो ? उत्तराधिकारी त सबै हुन् । त्यो पनि कोही व्यक्तिका होइन आन्दोलनका उत्तराधिकारी हुन् । 

आन्दोलनका उत्कृष्ट र सच्चा उत्तराधिकारीहरु निर्माण गर्ने अभियानको थलो कम्युनिष्ट आन्दोलन बन्न नसकेको तीतो यथार्थ हामीसामु छर्लङ्ग छ । यो प्रवृत्तिबाट अरु मुक्त छन् भन्न खोजिएको होइन । कम्युनिष्टहरुमा चाहिँ यो प्रवृत्ति किन स्थापित भएर गयो ? यो चाहिँ खोजीको विषय हो । जबकि कम्युनिष्ट दर्शनको ध्येय नै सबैभन्दा जागरुक र रुपान्तरित मानवको निर्माण हो । तर यति भनेर मात्र जिम्मेवारी पूरा हुँदो रहेनछ । जब दुनियाको सबैभन्दा वैज्ञानिक दर्शन पनि अभ्यासकर्ताहरुका लागि पण्डाहरुका धर्मसूत्रहरुमा परिणत हुन्छ आन्दोलनले भोग्ने यही नै हो । हाँक काण्डसँग जोडिएको मोहनविक्रमको विज्ञप्तिलाई पनि त्यसैको दशीकोे रुपमा लिन सकिन्छ । 
 

प्रमोद धिताल

धिताल सक्रिय राजनितिक/साँस्कृतिक चिन्तक हुन । अनुसन्धानमूलक लेख लेख्ने धिताल कवि पनि हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय