कुन-कुन वस्तुको आविष्कार संयोगवश भएको थियो ? (तस्वीरसहित)

ehulaki
एजेन्सी | भदौ १९, २०७६ बिहिबार | 0

काठमाडौँ । उपचारको क्षेत्रदेखि हाम्रो दैनिक जीवनमा प्रयोग हुने कतिपय वस्तुको आविष्कार संयोगवश भएको थियो । पछि यी आविष्कार निकै सफल भए र मानिसको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याए । 

पेसमेकर

पेसमेकरको आविष्कार संयोगले सन् १९५६ मा भएको थियो । विल्सन ग्रेटबेचनले पेसमेकर मानिसको मुटुको ढुकढुकी रेकर्ड गर्न र त्यसको परीक्षण गर्न एक डिभाइसको आविष्कार गर्ने कोसिस गरिरहेका थिए । उनले भुलवश त्यसमा एक ट्रान्जिस्टर जडान गरे । त्यसले मुटुको ढुकढुकी रेकर्ड नगरे पनि त्यसले ढुकढुकी उत्पन्न गर्दथ्यो । यो देखेर उनी चकित भए । त्यस बेला मुटुरोगीले मुटुको ढुकढुकी चलाउन घाँटीमा एक डिभाइस झुड्याउनुपथ्र्यो । ग्रेटबेचको यो आविष्कारलाई शरीरभित्र पनि जडान गर्न सकिन्थ्यो र यो पहिलाको भन्दा सुविधाजनक पनि थियो । पहिलो पेसमेकर सन् १९५८ मा एक कुकुरलाई लगाइयो । कुकुरको ढुकढुकीलाई त्यो पेसमेकरले कुनै बाधाविना नै नियन्त्रित गरेको थियो । 

पटाका 

करीब २ हजार वर्षपहिले चीनका एक भान्सेले अचानक पटाकाको आविष्कार गरे । उनले सल्फर, पोटासियम नाइट्राइल र चारकोललाई मिलाएर चुल्होमा राखिदिए । तापक्रम बढेकाले त्यो पड्किन थाल्यो । चीनमा त्यसलाई फायर केमिकल नाम दिइयो । पछि मानिसले विभिन्न प्रयोग गरी त्यो मिश्रणलाई बाँसभित्र खाँद्यो भने विष्फोट हुने पत्ता लगाए । यसरी पटाकाको आविष्कार भयो । पछि यसलाई हावामा उडाउन सकिने पनि थाहा भयो । चीनमा यसलाई विवाह र दाहसंस्कारमा प्रयोग गर्न थालियो । यसले नराम्रो आत्मा भागेर जाने उनीहरूको विश्वास थियो । मार्कोपोलोले चीनको यो आविष्कार मध्यपूर्वका देशतिर लिएर गए । मध्यपूर्वबाट यो विश्वभर फैलियो । 

लाफिङ ग्यास

लाफिङ ग्यासको आविष्कार पनि संयोगले भएको हो । सन् १७९९ मा इङल्याण्डका रसायनशास्त्री तथा आविष्कारक हम्फ्री डेभीले एक प्रयोग गर्ने सोच बनाए । उनले मानिसभित्र यदि कृत्रिम ग्यास सासबाट गयो भने कस्तो असर पर्छ भनी परीक्षण गर्न चाहे । उनले एमोनियम नाइट्रेटको क्रिस्टलबाट एक ग्यास बनाए । उनले यसलाई सिल्कको थैलीमा जम्मा गरे । फेरि जलवाष्पले यसको शुद्धीकरण गरे । त्यसपछि उनले त्यो ग्यासलाई सासको माध्यमले शरीरभित्र ताने । उनले हल्का चक्करसँगै खुसीको महसूस गरे । उनले त्यो ग्यासको प्रयोग बिरामीहरूमा पनि प्रयोग गरे । यसरी नाइट्रस अक्साइड अर्थात् लाफिङ ग्यासको आविष्कार भयो । 

सकरिन  

सकरिन कृत्रिम चिनी हो । यसको पनि आविष्कार संयोगवश भएको हो । अमेरिकी प्रोफेसर इरा रामसेनले मेरिल्याण्डको होपकिन्स युनिभर्सिटीमा एक सानो ल्याब सञ्चालन गर्थे । उनको ल्याबमा गुलियो पदार्थका अनुभवी फलबर्गले केही दिन चिनीसम्बन्धी परीक्षण गरिरहेका थिए । एक दिन चिनीको परीक्षणपछि उनी खाना खान गए । उनले पाउरोटी गुलियो भएको पाए । बेकरलाई पाउरोटीमा केही मिसाएको छ कि भनी सोध्दा उनले केही पनि नमिसाएको बताए । उनले आफ्नो हातमा आएको केमिकल गुलियो भएको विचार गरे । त्यसपछि उनले ल्याबमा गएर धेरै परीक्षण गरे । उनले बिकरलाई फस्फोरस क्लोराइड, एमोनिया र सल्फोबेनजोइक एसिडले भरेपछि बेनजोइक सल्फिमाइड अर्थात् सकरिनको उत्पादन भयो । यो गुलियो थियो । यसरी कृत्रिम चिनीको आविष्कार भएको हो । पहिलो विश्वयुद्धको समयमा चिनीको कमी हुँदा सकरिनको प्रयोग गरिएको थियो । सन् १८९५ मा जर्मका एक भौतिकशास्त्री विल्हेम कनरेड रन्चिन आफ्नो ल्याबमा क्याथोड किरणसम्बन्धी परीक्षण गरिरहेका थिए । उनले केही समयअघि एक स्क्रिनमा केमिकल लगाएका थिए । जब उनले केही समयपछि त्यो स्क्रिनमा हेरे, तब उनले त्यहाँ एक अचम्मको चमक देखे । त्यसपछि धेरै अनुसन्धान गरेपछि उनले एक्स–रेको बारेमा पत्ता लगाए । यस आविष्कारले विश्वमा क्रान्तिकारी परिवर्तन ल्याएको थियो । 

माइक्रोवेब ओभन


द्वितीय विश्वयुद्धको समयमा सन् १९४६ मा पर्सी स्पेन्सर नामक इन्जिनियरले रडार सिस्टमसम्बन्धी काम गरिरहेका थिए । उनले सर्टको खल्तीमा राखेको चक्लेट पग्लिएको देखे । रडारको नजिक बसेकाले यस्तो भएको उनले ठाने । उनी उत्सुक भई यससम्बन्धी परीक्षण गर्न थाले । यस्तोमा रडारको किरण पर्ने ठाउँमा एक अण्डा राखे । अण्डा राखेको केही मिनेटमा नै फुट्यो । फेरि उनले प्लेटमा मकै राखेर त्यसमा राखिदिए । यसरी उनले उक्त डिभाइसमा खाना राखे पाक्ने कुरा पत्ता लगाए । माइक्रोवेब ओभनको आविष्कार यसरी संयोगवश भएको थियो । 

सलाईको काँटी 


सन् १८२६ मा इङल्याण्डका रसायनशास्त्री जोन वाकर ल्याबमा विभिन्न परीक्षण गरिरहेका थिए । उनले केमिकलको एक भाग एक सानो काठको टुक्रामा लागेको देखे । उनले त्यो केमिकल काठको टुक्राबाट हटाउन खोज्दा दबाब परेकाले त्यसबाट आगोको झिल्को निस्कियो । त्यसपछि उनले यसमा विशेष परीक्षण गरे । उनले काठको टुक्राको माथिल्लो भागमा सल्फरसम्बन्धी धुलोको लेप लगाए । एक कागजमा फस्फोरस लगाए । त्यसपछि उनले त्यो काठको टुक्रालाई कागजमा रगड्दा आगोको झिल्को निस्केको देखे । यसरी सलाईको काँटीको आविष्कार संयोगवश भयो । अहिले रातो फस्फोरसको मिश्रण सलाई बनाउन प्रयोग गरिन्छ । 

नवभारत टाइम्स

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय