देशैभरि डेंगु प्रकोपः कृषिमन्त्री ग्राण्डीकाे आईसीयुमा, १५ स्वास्थ्यकर्मी पनि संक्रमित

ehulaki
ई-हुलाकी | भदौ २०, २०७६ शुक्रबार | 0

 काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ ।डेंगुकै कारण सिन्धुपाल्चोकका एक जनाको बुधबार ज्यान समेत गएको छ । कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगुका संक्रमण भएपछि ग्राण्डी अस्पतालमा आईसीयुमा उपचार भइरहेको छ । कृषिमन्त्रीसँगै दुई चिकित्सक र १३ स्वास्थ्यकर्मी पनि डेंगुबाट संक्रमित बनेका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो ।

यस्तो अवस्थामा उच्च सर्तकता अपनाउन चिकित्सकहरूले सल्लाह दिएका छन् । अचानक ठूलो ज्वरो आएमा, टाउको धेरै दुखेमा, आँखाको पछाडि धेरै दुखेमा, मांशपेशी र जोर्नी धेरै दुखेमा, शरीरमा बिमिरा आएमा, नाक र मुख कतैबाट रगत आएमा, वाकवाकी लागेमा र वान्ता भएमा तथा निकै बिसञ्चो अनुभव भएमा तुरुन्त डेंगुको परोक्षण गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।

चिकित्सकहरुका अनुसार सामान्य डेंगुका बिरामीले ४ घण्टामा पिसाब लाग्ने गरी तरल र झोल पदार्थ सेवन गर्दा धेरै राहत मिल्ने चिकित्सकहरुले बताएका छन् । डेंगु ज्वरो भए र नभएको १–२ दिन मै थाहा हुन्छ । डेंगु सेरोलोजी जाँच गर्दा सुरुमा Ns1 Antigen पोजिटिभ देखिन्छ । IgM Antibody tyf IgG Antibody पोजिटिभ देखिन्छ । प्लेत्लेट्स घट्दै जान्छ । Platelets जति घट्यो, त्यति नै खतरा हुन्छ, अस्पताल भर्ना हुनुपर्ने हुन्छ । तसर्थ नियमित प्लेट्लेट्स जाँच गर्नुपर्छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा Blood CBC र डेंगु सेरोलोजी जाँच ६५० मा हुन्छ ।

भाइरसबाट हुने डेंगु एक व्यक्तिबाट अर्कोमा फैलिँदैन । अहिले देशैभरि फैलिएको डेंगुको प्रसार सबैभन्दा बढी पोथी एडिस एजेप्टाई लामखुट्टेका कारण भइरहेको छ । ईडीसीडीका अनुसार यो वर्ष साउनयता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिरामीको संख्या करिब ३ हजार नाघिसकेको छ । अस्पतालको बहिरंग सेवाबाट उपचार गराएर घरमै स्वास्थ्य लाभ गर्नेको संख्या भने अझै यकिन भएको छैन ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय