युद्धको बेलामा सेनाले हानेका गोली अझै शरीरभित्र, कसरी बाँचेका छन डम्मर ?

ehulaki
फाइल तस्वीर
रासस | भदौ २४, २०७६ मंगलबार | 0
फाइल तस्वीर

काठमाडौं। एक्लै हिँड्न उनलाई समस्या पर्छ । कारण उनको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्छन ।

यो सब उनी बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले हो । युद्धको बेलामा सेनाले हानेका गोली शरीरभित्र अझै अड्किएका छन् । त्यसैको असरले उनको शरीरमा समस्या भएको हो । उनको शरीरमा अहिले पनि १० वटा गोली छन् । युद्धका बेलामा एक पटक जीवन पाएका पात्र हुन उनि । बीस वर्षदेखि शरीरभरि गोली बोकेर हिँडेका सिस्ने गाउँपालिका–८ लम्पाकोटका ३६ वर्षीय डम्मरबहादुर बुढा अहिले भने राजनीति क्षेत्रबाट अली टाढा रहेका छन् । उनको दाहिने हातको पाखुरामा एक, देब्रे खुट्टामा एक, दाहिने खुट्टामा दुई, घाँटीमा दुई वटा गोली छन् ।

त्यसैगरी पेटमा एक, गालामा एक र कम्मरमा एक गोली छन् । शरीरभरि छर्रा रहेको पनि उनले जानकारी दिए । जनयुद्धका बेला विसं २०५५ चैत ७ गते म्याग्दीको बेनी बेसक्याम्पबाट सैनिक ब्यारेक कब्जा गर्ने क्रममा गोली चल्दा शरीरमा १५ वटा गोली लागेका थिए । बुढालाई गोली लागेपछि सबै भाग्न सफल भएका थिए । उनको शरीर रगताम्मे भएको थियो । घाइते अवस्थामा पुगेका बुढालाई भित्रकै स्वास्थ्य विभागको टोलीले उपचार गरेको थियो । घटनाको आठ वर्षपछि भारतको मुम्बईको एक अस्पतालमा शल्यक्रिया गरेर पाँच गोली निकालियो । दुई हातको पाखुरा, दुई खुट्टा र एक वटा गालाबाट गोली निकालिएको थियो ।

त्यो गोली चाँहि नसा र हड्डीको छेउछाउमा भएका कारण स्वास्थ्य अवस्थामा समस्या पर्ने र अपाङ्गतासमेत हुनसक्ने भन्दै बाँकी १० गोली निकाल्न नमिल्ने चिकित्सकले सुझाव दिएका थिए । अहिले ती गोली शरीरभित्र त्यत्तिकै बसेका छन् । शरीरमा गोलीका दाग प्रष्टै देख्न सकिन्छ । बुढाको उपचार जङ्गलमै गरिएको थियो । युद्धभूमिकै उपचारले उनको ज्यान बचेको थियो । अहिले उनको दुवै खुट्टा, हात, घाँटी र ढाडमा लागेको गोलीको निसान बाहिरबाटै प्रष्ट देख्न सकिन्छ । गोली भएको ठाउँमा दुख्ने, चिलाउने, झमझमाउने र करेन्ट लागेको जसरी बेलाबेलामा झट्का लाग्ने गरेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका कारण औषधि पनि प्रयोग गर्न नसकेको उनले सुनाए । विसं २०५७ मा १६ वर्षको उमेरबाट राजनीति यात्रा शुरु गरेका बुढाले विद्यार्थी सङ्गठनमा पनि काम गरेका थिए ।

त्यसपछि गुल्मीमा जनमुक्ति सेनाको प्लाटन कमान्डर भई काम गरेका थिए । परिवार नै राजनीतिमा लागेका कारण परिवारको प्रेरणा जनयुद्धमा होमिएको उहाँले बताउनुभयो । लगातार रुपमा विसं २०५५ देखि २०६० सम्म युद्धमा होमिएका बुढा त्यसपश्चात भने भारतमै बसेका थिए । हाल एक वर्ष अघि मात्र नेपाल फर्किएका बुढाले लम्पाकोटमा खेती किसानी गरिरहनुभएको छ । सामान्य काम गर्न सक्ने तर शरीरलाई भार पर्ने खालका काम गर्न नसक्ने उनकी पत्नी जगतकुमारी बुढाले बताईन । अहिले उनले सामान्य जीवनयापन गरिरहेका छन । गोलीकै कारण बुढाले धेरै काम गर्न नसक्ने साथै एक्लै र चिसोमा हिँड्न सक्दैनन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय