यू–१९ एशिया कप क्रिकेट : नेपालको सान्त्वना जित

ehulaki
ई-हुलाकी | भदौ २४, २०७६ मंगलबार | 0

काठमाडौं ।  श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ ।

नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १६० रनले पराजित गरेको छ । श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २८५ रन बनायो।

२८६ रनको विजय लक्ष्य पछ्याएको यूएई ३४ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै १२५ रनमा समेटियो । ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए ।

उनले ८४ बल खेल्दै एक छक्का र नौ चौका प्रहार गरे । सन्दीप जोराले ५३ बलमा छ चौकासहित ४८, राशिद खानले ४४ बलमा एक छक्का र पाँच चौकासहित ४४, आशिफ शेखले ४५, कमलसिंह ऐरीले २६ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४१ र कुशल मल्लले २२ रन बनाए ।

बलिङतर्फ यूएईका सञ्चित शर्मा र आकाश ताहिरले तीन/तीन, कात्तिक पलानियाप्यनले दुई तथा ऋषभ मुखर्जीले एक विकेट लिए । ब्याटिङतर्फ यूएईका लागि अरविन्द्र रुद्रवेलले २८, अल्सान शरफुलले २१ तथा शैयद हैदरले १५ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सागर ढकालले तीन, पवन सर्राफ, सूर्य तामाङ र राशिद खानले दुई/दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए ।

समूह ‘बी’मा रहेको नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग पाँच विकेटले तथा दोस्रो खेलमा बङ्गलादेशसँग छ विकेटले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय