भुस्याहा कुकुरको टोकाइले तीन हरिण मरे

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

दमक । झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ ।

आज बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताउनुभयो ।

कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । 

उहाँका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुङ्गाना र डा गणेश भट्टराई लगायतको टोलीले मृत हरिणको ‘पोस्टमार्टम’ गर्नुभएको थियो ।

 ‘पोस्टमार्टम’पछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीयवासी र पत्रकारको रोहबरमा गाडिएको छ ।

बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए । कर्मचारी पुगेलगत्तै कुकुर भागेको अध्यक्ष राजवंशीले बताउनुभयो ।

विगत ११ वर्षदेखि वनले हरिणलगायत अन्य जीवजन्तु पाल्न थालेको अध्यक्ष राजवंशीले बताउनुभयो । उहाँका अनुसार हाल वनमा पाँच वटा पोथी हरिण र तीन वटा भाले हरिण रहेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय