'नेपाली साहित्यमा पनि बजार अतिवादको प्रभाव परेको छ' - डा. अमर गिरी

ehulaki
ई-हुलाकी | चैत २०, २०७५ बुधबार | 0


डा. अमर गिरी सुपरिचित कवि, समालोचक र मार्क्सबादी  चिन्तक हुनुहुन्छ । उहाँका कविता  र समालोचनासम्वन्धी झण्डै एक दर्जन पुस्तकहरू प्रकाशित छन् । उहाँले आधा दर्जन पुस्तकहरूको सम्पादन पनि गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग ई-हुलाकी डट कमका लागी  साहित्य लगाएत विविध विषयमा प्रमोद धितालले गर्नुभएको कुराकानीको सारसंक्षेप – सम्पादक ’

तपाईको लेखनयात्रा कसरी, कहिले र कुन विधाबाट सुरू भयो ? तपाईंको पहिलो प्रकाशित रचना कुन हो ? 


  परिवार र विद्यालय मेरो लेख्नयात्राका प्रेरक हुन् । आमाबाट सुनेका लोककथा र विद्यालयको साहित्यिक वातावरणबाट प्रभावित भएर म साहित्य लेखनतर्फ तानिएको हुँ । समाजमा विद्यमान असमानता र उत्पीडनले मलाई विद्रोही बनाएको हो । यही स्थितिका बीचमा मैले कलम चलाउन सुरु गरेको हुँ । सात कक्षामा पढ्ने बेला ‘होचिमिन्ह जस्तो हुनु परेको छ ’ शीर्षकको कविता  लेखेर विद्यालयको भित्तेपाटीमा टाँसेको थिएँ । मेरो पहिलो कविता २०३१ सालमा सन्देश पत्रिकामा छापिएको थियो । यसको शीर्षक ‘आमा’ थियो । 


राजनीति, पत्रकारिता, शिक्षण र लेखनमा सक्रिय रहँदै आउनुभयो । योगदान र रूचिका हिसाबले सबैभन्दा बढी कुन कर्मबाट सन्तुष्ट हुनुहुन्छ ?


  निसन्देह, मैले राजनीति, पत्रकारिता र शिक्षणमा लामो समय बिताएको छु । राजनीति र पत्रकारितामा त म अहिले पनि सक्रिय छु । शिक्षण पेशाबाट भने विश्राम लिएको छु । रूचि र योगदानका हिसाबले म बढी साहित्यिक कर्मबाट सन्तुष्ट छु । 


कविता किन लेख्नुहुन्छ ? कविताले समाजका निम्ति गर्न सक्ने सबैभन्दा ठूलो योगदान के हो ? 


    कविता आफूलाई अभिव्यक्त गर्न लेख्दै आएको छु । प्रायः चिन्तकहरू, कला रचनाको मूलमा सृजनाको इच्छा हुन्छ भन्छन् । सृजनाको इच्छा कलामा आफूलाई व्यक्त गर्ने कुरासँग सम्बन्धित छ । आफूलाई अभिव्यक्त गर्ने कुरा जीवन र जगत्का अनुभूति, त्यसप्रतिका सरोकार, संवेदना र स्वप्नहरूसँग जोडिएको छ । कविताले सिधै समाजलाई केही दिदैन तर परोक्ष रूपमा धेरै कुरा दिन्छ । मनुष्यले यसको रचना जीवन र जगत्लाई अझ सुन्दर बनाउनका निम्ति गरेको हो । कविता सृजना सुरुदेखि नै प्रयोजनपरक थियो र आज पनि छ । कविता पढेर वा सुनेर पाठक र श्रोता आनन्दित मात्र हुन्नन्, बोधको प्रक्रियाबाट पनि गुज्रन्छन् । त्यसबाट उनीहरूको संवेदनाको विस्तार हुन्छ, दृष्टिमा परिवर्तन आउँछ । यसले मनुष्यलाई भित्रैबाट बदल्न योगदान दिन्छ । उध्र्वगामी चेतनासहित रूपान्तरित मनुष्यले नै समाजलाई सुन्दर बनाउँछ ।

    मुक्तिबोध कविताले जे छ त्यो भन्दा राम्रो बनाउन योगदान दिन्छ भन्छन् । कलिङउडले त कलालाई चेतनाको, संवेदनाको भ्रष्टीकरण विरूद्धको औषधीका रूपमा लिएका छन् । तुर्गनेवले एक ठाँउमा आफ्नो उद्देश्य पाठकको हृदयमा पुग्नु हो भनेर उल्लेख गरेका छन् । हृदयमा पुग्ने कुरा त्यसलाई स्पर्श गर्ने कुरासँग मात्र सम्बन्धित छैन , बदल्ने कुरासँग पनि सम्बन्धित छ । कविताले यो कार्य आफ्नो प्रकृति अनुसार गर्छ । कविताको सामाजिक प्रयोजनलाई अस्वीकार गर्नेहरू पनि छन् । म त्यससँग सहमत छैन । कविताले समाजका निम्ति ‘आंत्मिक इन्जिनियरिङ’ को भूमिका खेल्छ । विभेद, उत्पीडन र वैषम्यताले भरिएको संसारमा कविताले त्यसको प्रतिवाद गर्दै त्यसभन्दा पर पुग्ने बाटो देखाउनुपर्छ । 


 

 

काव्यप्रतिभा निर्माण गर्न सकिन्छ वा बनिबनाउ हुन्छ ? 


  यस प्रश्नको उत्तर एक, दुई रोचक सन्दर्भबाट दिन उपयुक्त होला । प्रसिद्ध रूसी सङ्गीतकार चायकोभस्कीसँग कसैले उनको सफलताको रहस्यबारे सोध्यो । उनले यसको श्रेय आफ्नो नियमित श्रमलाई दिए । उनको कथन थियो – म आज जहाँ छु, यसको मूल कारण मेरो निरन्तर श्रम गर्ने बानी हो ।  यस्तै उत्तर विज्ञानको क्षेत्रमा सबैभन्दा बढी आविष्कार गर्ने एडिसनको पनि रहेको छ । उनलाई कसैले तपाईको सफलताको रहस्य के हो भनेर सोध्यो । उनको सरल उत्तर थियो – श्रम । उनले म एक प्रतिशत प्रतिभा र उनान्सय प्रतिशत श्रमको निर्माण हुँ भनेका छन् । प्रतिभामा आनुवंशिकीको केही योगदान रहन सक्छ तर मूलतः यो वातावरण र श्रमको निर्मिति हो । मेरी आमाबाट लोककथाहरू नसुनेको भए, विद्यालयमा साहित्यिक गतिविधिहरू नभएको भए म साहित्यतिर लाग्ने थिइन । मेरो साहित्यिक व्यक्तित्वको निर्माण परिवेश र श्रमबाट भएको हो । काव्यप्रतिभा बनिबनाउ हुँदैन, निर्माण गर्नुपर्छ । प्रतिभाको नैसर्गिक पक्षमाथि अत्याधिक जोड दिने दृष्टिकोण अवैज्ञानिक छ । प्रतिभासम्बन्धी दैवीय सिद्धान्तको मैले सधै आलोचना गर्दै आएको छु । 


समालोचकका रूपमा आफ्नो कविताको मूल्याङ्कन कसरी गर्नुहुन्छ ? 


मैले आफ्ना कविताको मूल्याङ्कन गर्दा तिनलाई कमजोर पाँउदिन । मेरा कवितामा विषयवस्तुको विविधता छ । समकालीन यथार्थका विभिन्न पक्षलाई तिनले अभिव्यक्ति दिएका छन् । जीवनका अन्य पक्षहरूले पनि अभिव्यक्ति पाएका छन् । कवितामा आपूmलाई इमान्दार रूपमा प्रस्तुत गर्ने गरेको छु । संवेदना, स्वप्न, सङ्घर्ष मेरा कविताका जीवन हुन् । मेरा कविता सत्यं, शिवं र सुन्दरम्प्रतिका मेरा सरोकार हुन् । म कविता सरल र सम्प्रेष्य हुनुपर्छ, यसले थोरैमा धेरै भन्न सक्नुंपर्छ,  कलात्मक उपकरणहरूको प्रयोग सार्थक रूपमा गरिनुपर्छ, तीबाट थिचिएर कविता मार्नु हुदैन भन्छु । मैले यसै अनुरूप कविता लेख्दै आएको छु । मेरा कविताको यसै पक्षबाट मेरा पाठक र मलाई गम्भीरतापूर्वक पढ्ने समीक्षकहरू पनि प्रभावित छन् । मेरा कविताको उचाइ कति हो यसबारे म केही भन्न सक्तिन । यति भन्न सक्छु मेरा कविता समकालीन जीवन र समाजसँगका काव्यात्मक सरोकार हुन् । 


आज सख्यात्मक रुपमा कविता धेरै लेखिदैछ । गुणात्मक दृष्टिले यो कस्तो छ ?


थोरै कविहरूले मात्र राम्रा कविता लेख्दै छन् । यहाँको मात्र होइन, यो सबै ठाउँको यर्थाथ हो । थोरै मात्र राम्रो कविता लेख्छन् । धेरैको कविता लेखन सांस्कृतिक गतिविधिका रूपमा रहन्छ । यस विषयमा आलोचनात्मक टिप्पणी आवश्यक छैन् । लेख्नेहरूले गम्भीरतापूर्वक लेखे हुन्थ्यो भन्ने चाहिँ लाग्छ । बरू अलिकति नरमाइलो कमजोर लेखनलाई योजनाबद्ध रूपमा चर्चामा ल्याउने प्रवृत्ति देख्दा लाग्छ । यस्तो प्रवृत्तिको रचनात्मक प्रतिवाद आवश्यक छ । साहित्यका क्षेत्रमा चल्ने घटिया राजनीतिदेखि सबै मुक्त हुनुपर्छ । 


वर्तमान समाजको जटिलतालाई व्यक्त गर्न के नयाँ पिँढीका कविहरू सक्षम छन् ? 


  नयाँ पिँढीका कयौँ कविले आफ्नो समाजको यर्थाथलाई सुन्दर अभिव्यक्ति दिएका छन् । आफ्नो समाजको जटिलतालाई व्यक्त गर्न ती सक्षम छन् । तिनमा गम्भीर सामाजिक सरोकार पाइन्छ । 

भनिन्छ, कविता कविका कर्महरूमा जीवित रहन्छ । शब्द र कर्मका बीचमा डरलाग्दा खाडलहरू पनि छन् । यसबाट यसलाई मुक्त गर्न के गर्नुपर्ला ? 


   स्रष्टाहरूमा शब्द र कर्मका बीचमा दुरी पाइन्छ । यो पहिलेदेखिको समस्या हो । यसले रचनाकारलाई मात्र होइन , रचनालाई पनि अविश्वसनीय बनाउँछ । स्रष्टाले शब्द र कर्मका बीचमा एकत्व स्थापित गर्न गम्भीर प्रयत्न गर्नुपर्छ ।  शब्द र कर्म बीच एकताको तात्पर्य आफूले अंगालेको आदर्श, वरण गरेको मूल्य, आस्था, प्रतिबद्धता र उद्देश्य अनुरूप आफूलाई हिडाउनु हो, भन्ने एउटा र गर्ने अर्काे होइन । कतिपय स्रष्टाहरू रचनामा क्रान्तिकारी तर सामाजिक र व्यावहारिक जीवनमा दक्षिणपन्थी पनि हुन्छन् । यो विरोधाभास रहन हुन्न । यद्यपि शब्द र कर्मबीचको एकतालाई यान्त्रिक रूपमा हेरिनहुन्न । लेखनमा स्रष्टा जस्तो छ, जीवनमा ठ्याक्कै  त्यस्तोे नहुन पनि सक्छ । 


कविले लेखनको विषयवस्तु बनाउनुपर्ने तर बन्न नसकेका के के विषय छन् तपाईको दृष्टिमा ? 


यस्ता विषयहरू धेरै छन् । समकालीन नेपाली कवितामा मूलतः मध्यमवर्गीय स्वर बढी छ र योे बढी नगरजीवनसँग सम्बन्धित छ । कवितामा वैविध्यपूर्ण नेपालले अभिव्यक्ति पाउनुपर्छ । कवितामा समकालीन यथार्थका अँध्यारा–उज्याला पक्षहरूले व्यापक र सूक्ष्म अभिव्यक्ति पाउनुपर्छ । जीवनानुभुतिको विस्तृत फलक समेटिनुपर्छ । 


नेपाली साहित्यमा पहिलेको तुलनामा लेखकहरूको संख्या बढ्दै गएको देखिन्छ । के लेखनको स्तर र पाठकको संख्यामा पनि वृद्धि भएको हो ? कि अध्ययन संस्कृति घटेको छ ? 


स्तरीय लेखकहरू पनि छन्, तर लेखकहरूको बढ्दो संख्याको अनुपातमा स्तरीय लेखकहरूको संख्या कम नै छ । पाठकरूको सख्यामा भने बृद्धि भएको छ । हिजोको तुलनामा आज साहित्यिक कृतिहरू बढी बिक्छन्  । गम्भीर पठनमा भने तुलनात्मक रूपमा ह्रास आएको छ । 


एकथरी साहित्यकारहरू साहित्यको सामाजिक उपयोगिताभन्दा साहित्यको व्याकरणलाई नै प्रधान मान्छन् । लेखकको काम समस्याको समाधान दिने होइन, समस्यातिर इसारा गरिदिने हो भन्ने नाउँमा घुमाईफिराई कलावादकै वकालत गरेको देखिन्छ । के साहित्यकारको दायित्व यतिमै सीमित रहन्छ ? 


साहित्यमा व्याकरण अर्थात कलाको ठूलो महत्व रहन्छ । यसलाई प्रधान ठान्ने दृष्टिकोण साहित्यको अन्तर्वस्तुलाई कम महत्व प्रदान गर्ने दृष्टिकोणसँग जोडिएको छ । यस्तो दृष्टिकोणले साहित्यको सामाजिक उपयोगितालाई अस्वीकार गर्छ वा कम महत्व प्रदान गर्छ । यस्तो दृष्टिकोणलाई सही मान्न सकिन्न । साहित्य आफ्नो प्रकृतिमै उपयोगितामूलक छ । साहित्यको उपयोगिता अन्य वस्तुको उपयोगिता भन्दा फरक रहेको छ । यो यसको विशिष्टता हो । 


आजको नेपाली समालोचना, त्यसमा पनि प्रगतिवादी नेपाली समालोचनाको स्थिति कस्तो रहेको छ ? के यसले साहित्यिक लेखनलाई न्याय गर्न सकेको छ ? साहित्यकारहरूको संख्या बढेको छ , साहित्य फस्टाएको छ तर समालोचना कम लेखिदैछ , यस्तो किन ? 


   समालोचना कम लेखिदैछ । कम लेखिदै गरेको नेपाली समालोचनामा कमजोरीहरू पनि छन् । कमजोरीहरूकै कारण समालोचनाको विश्वसनीयता र प्रभावमा कमी पनि आएको छ । पाठ्यक्रममुखी हुनु, गम्भीर विश्लेषण एवं मूल्याङ्कन नहुुनु, यान्त्रिक, स्थूल र सतही हुनु, मूल्याङ्कनका प्रतिमानहरूको समुचित प्रयोग हुन नसक्नु, समालोचनाको सामाजिकतामा ह्रास आउनु, बजार अतिवादको प्रभाव देखिनु आदि आजको समालोचनामा पाइने कमजोरीहरू हु्न् । प्रगतिवादी समालोचना पनि कमजोरी मुक्त छैन । सृजनाको समग्र एवं गम्भीर अध्ययन, विश्लेषण एवं मूल्याङ्कन प्रगतिवादी समालोचकहरूबाट पनि हुन सकेको छैन । प्रगतिवादी समालोचकहरू यसतर्फ गम्भीर बन्नुपर्छ । 


उपभोक्तावादको विकाससँगसँगै संवेदनहीनता पनि बढ्दैछ । संवेदना पनि कारोवारको विषय बनेको छ । यस्तो अवस्थामा साहित्यकार एवं संस्कृतिकर्मीहरू पनि यसको सिकार नभइरहन सक्तैनन् । योसँग प्रतिरोध गर्न के गर्नुपर्ला ? 


    उपभोक्तावाद संवेदनाको विपक्षमा हरदै आएको छ । संवेदनाको ‘कमोडिफिसन’ यसको विशेषता हो । उपभोक्तावाद पुँजीवादको सांस्कृतिक हतियार हो । यसले एकातिर यस अनुकूलको मनुष्यको निर्माणमा सघाउँछ, अर्कातिर यसले पुँजी र मुनाफा निर्माणको चक्रलाई सघाउँछ । यसैकारण उपभोक्तावादलाई मलजल गरिएको छ । यसको प्रभाव स्रष्टाहरूमा पर्नु स्वभाविक छ र परेको छ । बजार अनुकूलको साहित्य सृजना यसको दृष्टान्त हो । साहित्यको कमोडिफिकेसनलाई यसैको सन्दर्भमा हेरिनुपर्छ । मनुष्यको गरिमा र सौन्दर्यलाई जीवित राख्न, साहित्यको विशिष्ट प्रकृतिलाई मर्न नदिन यसको प्रतिवाद आवश्यक छ । यसका निम्ति वैचारिक सचेतता र इच्छाशक्ति आवश्यक छ । संसारमा यति धेरै चिज छन् तर मलाई कुनैको पनि आवश्यकता छैन भन्ने सुकरातको कथन  यस सन्दर्भमा मलाई पटक पटक संझना हुन्छ । 


नेपाली साहित्य र यसभन्दा बाहिरका यहाँलाई मनपर्ने साहित्यकारहरू को को हुन ?


यस्ता साहित्यकारहरूको सूची लामो छ । म स्वदेश तथा बिदेशका विभिन्न साहित्यकारहरूबाट प्रभावित र प्रेरित छु । 


बजार अतिवादको प्रभाव आजको नेपाली साहित्यमा कतिको परेको पाउनुहुन्छ ?


बजार अतिवादको प्रभाव नेपाली साहित्यमा पनि परेको छ । हरेक कुरामा बजार निर्णायक हुनुलाई बजार अतिवादका रूपमा उल्लेख गरिन्छ । बजार अतिवादको केन्द्रमा पँुजी  र मुनाफा छ । यसका निम्ति मानिस जे गर्न पनि तयार हुन्छ, अर्थात पुँजी र मुनाफा आर्जन उसको ध्येय बन्छ । आस्था, आर्दश, मूल्य संवेदना, मानवता, समाज सबै पाखा लाग्छन् । पैसा, पैसा मात्र पैसा र त्यसबाट प्राप्त हुने भोग जीवनको उद्देश्य बन्छ । साहित्यलाई बिकाउ बनाउने, त्यसको गरिमा, सौन्दर्य  र सामाजिक उपयोगिताबाट विस्थापित गरेर मालमा रूपान्तरित गर्ने कार्य बजार अतिवादको प्रभाव हो । धेरैथोरै रचना हामी कहाँ पनि यस अनुरूप लेखिएको छ । बजार अतिवाद साहित्यको सामाजिक भूमिकाको विरोधमा छ । 


हामीकहाँ बेलाबखत राष्ट्रवादको निकै चर्चा हुन्छ । एक माक्र्सवादीका रूपमा तपाईँ यसलाई कसरी हेर्नुहुन्छ ? 


     राष्ट्रवादका सबल र दुर्बलपक्षहरू छन् । राष्ट्रवादका विषयमा चर्चा गर्दा यसतर्फ हाम्रो ध्यान जानुपर्छ । साम्राज्यवाद, उपनिवेशवाद विरुद्धको सङ्घर्षमा राष्ट्रवादले प्रगतिशील एवं जनतान्त्रिक भूमिका सम्पादन गरेको छ । साम्राज्यवाद आज पनि जीवित छ । यस विरोधी सङ्घर्षमा राष्ट्रवादको महत्व आज पनि छ । मुलुक भित्र विद्यमान विभिन्न जातिय, भाषिक एवं सांस्कृतिक समुदायलाई एकताबद्ध गर्दै अघिल्तिर प्रस्थान गर्ने दृष्टिले पनि राष्ट्रवादको महत्व छ र इतिहासमा यसले यस रूपमा प्रगतिशील भूमिका पनि सम्पादन गरेको छ । सङ्कीर्ण र साम्प्रदायिक दिशातर्पm डोरिएर राष्ट्रवादले फासीवादी रूप ग्रहण गर्न सक्छ भन्ने दृष्टान्त पनि इतिहासमै छ । वर्तमान समयमा राष्ट्रवादका विभिन्न रूपहरू उग्रराष्ट्रवादको सिकार मात्र छैनन् , एजाज अहमदको शब्दमा ‘प्रतिशोधात्मक र आक्रामक ’ पनि छन् । ती समतावादी बहुसास्कृतिक समाज निर्माणको विपक्षमा छन् । मूलतः राष्ट्रवाद त्यस समयको सत्तारूढ वर्गले त्यसलाई कुन स्वरूप र दिशा प्रदान गर्छ भन्ने कुरामा भरपर्छ ।

    जहाँसम्म नेपालको कुरा छ , यहाँ राष्ट्रवादसम्बन्धी समान बुझाइहरू छैनन् । पञ्चायती कालखण्डमा एक किसिमको अन्धराष्ट्रवादको खेती गरियो ।  यो राष्ट्रवाद एक भाषा, एक संस्कृति , एक धर्म, एक जातिको अवधारणामा आधारित थियो । यो बहुलता, समावेशिता र समताको अवधारणाको विरोधमा थियो । राष्ट्रवादको यो रूप आज पनि जीवित छ । आज सांस्कृतिक राष्ट्रवादले टाउको उठाउँदैछ । हामी प्रगतिशील एवं जनतान्त्रिक भूमिका सम्पादन गर्ने राष्ट्रवादका पक्षमा उभिनुपर्छ । राष्ट्रवादलाई यसरूपमा ग्रहण गर्ने र उपनिवेशवाद, साम्राज्यावादको विरोध एवं राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने, विविधता बीच एकता स्थापित गर्दै बलियो राष्ट्र निर्माण गर्ने प्रयत्न पनि निरन्तर हुँदै आएको छ । सबैप्रकारका विभेद र उत्पीडनको अन्त्य तथा स्वतन्त्रता, समानता एवं सामाजिक न्यायको स्थापना बलियो राष्ट्रवादी भावना निर्माणको महत्वपूर्ण आधार हुन् । 

 तपाई जुन कम्युनिष्ट आन्दोलनसँग जोडिएर आउनुभएको छ , त्यससँग सम्बन्धित सांस्कृतिक आन्दोलनको मूल्याङ्कन कसरी गर्नुभएको छ ? त्यो आन्दोलनमा गम्भीर वैचारिक विचलन छ भन्ने टिप्पणीप्रति तपाईको दृष्टिकोण के छ ? 


   सास्कृतिक आन्दोलन वैचारिक आन्दोलन हो । कम्युनिष्ट पार्टीहरूसँग सम्बन्धित सांस्कृतिक आन्दोलन मात्र होइन , सबै किसिमका सास्कृतिक आन्दोलनहरू वैचारिक आन्दोलन नै हुन् । ती निश्चित विचारधाराका जगमा अडिएर चल्छन, चलाइन्छन् । जुन विचारधारा अनुसार सांस्कृतिक आन्दोलन चलाइन्छ त्यसको समग्र जीवनमा त्यस अनुरूपको सङ्गति हुनुपर्छ । त्यसो हुन सकेन भने विचलन जन्मन्छ । विचारधारात्मक रूपमा नेकपाले आफूलाई माक्र्सवादी, लेलिनवादी भनेको छ । यसले यस आधारमै सांस्कृतिक आन्दोलनलाई पनि सञ्चालन गर्नुपर्छ । यसो हुन नसक्दा समस्याहरू जन्मन्छन । कतिपयले  टिप्पणी गर्ने गरे जस्तै म सम्बद्ध सांस्कृतिक आन्दोलनमा विचारधारात्मक सङ्गतिको समस्या छ । यो समस्या संस्कृतिको क्षेत्रमा मात्र होइन अन्यत्र पनि छ । यसैकारण विरोधाभास पनि देखिने गरेको छ । सिद्धान्तको बुझाइ र प्रयोगमा उग्रवामपन्थी, मध्यपन्थी, क्रान्तिकारी, दक्षिणपन्थी धाराहरु हुन्छन् र छन् तर पनि त्यस अनुरूपको विचारधारात्मक सङ्गति आन्दोलनमा हुन्छ र हुनुपर्छ ।

    म सम्बद्ध सांस्कृतिक आन्दोलनले परिवर्तित सन्दर्भमा आफूलाई परिभाषित गर्न सकेको छैन । व्यक्ति अनुसार साहित्य, कला, संस्कृतिलाई परिभाषित गर्ने काम भएको छ । फरक फरक बुझाइ, फरक फरक व्याख्या छन् । इतिहास, परम्परा, सभ्यता, संस्कृति, धर्म, आदिलाई हेर्ने दृष्टिकोणका नै अनेक रङ र वान्कीहरू छन् । पुरातन र नयाँ, पश्चगामी र अग्रगामी, यथास्थितिवादी र परिवर्तनकारी विचारहरूको सङ्गम स्थल जस्तो लाग्छ म सम्बद्ध सास्कृतिक आन्दोलन । यस्तो स्थितिका माझ कहिलेकाहीँ म आफूलाई विचित्रको स्थितिमा पाउँछु  र विरानो अनुभव हुन्छ । आन्दोलनभित्र प्रगतिशील विचार सुस्त सुस्त मर्दै गरेको हो कि जस्तो लाग्छ । जुन विचार, दृष्टिकोण, प्रवृत्ति र पात्रका विरुद्ध संङ्घर्ष गरेर , आज तिनैलाई नायक र आर्दश मानेर हिडनुपर्ने स्थिति बन्दै छ । कहिलेकाहीँ लाग्छ म कतै ‘आस्थाको बन्दी’ त भएको छैन ? तर त्यसो होइन । हाम्रो आन्दोलन साँच्चिकै विरोधाभासको सिकार छ । सच्चिएन भने परिणाम विसर्जन नै हो ।  सबै कुरा सकिएपछि सत्तामा पुगेर र बसेर मात्र के हुन्छ  र ? तर म अझै पनि यो सचिन्छ, सच्चाएर अघि बढ्न सकिन्छ भन्ने कुरामा आशावादी छु ।  


तपाई प्रगतिशील लेखक संघको निवर्तमान अध्यक्ष हुनुहुन्छ । अहिले प्रलेसमा देखिएको ध्रुवीकरणलाई कसरी हेर्नुहुन्छ ? 


म अहिले पनि प्रलेसलाई सबै बामपन्थी लेखकहरूको साझा मञ्चका रूपमा अघि बढाउन सकिन्छ भन्ने ठान्छु । जुन ध्रुवीकरण भएको छ । त्यो मलाई उचित लागेको छैन् । म सबै प्रगतिशील स्रष्टाहरूलाई प्रलेसमा आबद्ध भएर अघि बढ्न आग्रह गर्दछु । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय