धनी बन्न चाहने मान्छे किन गरिव बन्छ ?

ehulaki
प्रेम सुवेदी | बैशाख २९, २०७६ आइतबार | 0

वित्तीयरुपमा साक्षर ब्यक्ति विस्तारै समृद्धितर्फ अघि बढेकै हुन्छ । अब यो वित्तीय साक्षरता भनेको के हो त ? सामान्यतया साक्षर भन्नाले लेखपढ गर्न जान्नेलाई साक्षर भनिन्छ भने आफ्नो परिस्थितिअनुसार पैसाको उपयुक्त व्यवस्थापन गर्न जान्नु नै वित्तीय साक्षरता हो । नेपालमा दिनानुदिन आर्थिक संकट चुलिँदो छ । जब आर्थिकरुपमा संकट बढ्दै जान्छ तब सामाजिक, राजनीतिक, धार्मिक, साँस्कृतिक पक्ष पनि विकृत हुँदै जान्छ । वैदेशिक रोजगारीले निम्त्याएका तमाम सामाजिक घटनाहरु हामीले भोग्दै आएका छौं । यी सबै पक्षको समस्या समाधान गर्न आर्थिक पाटो बलियो हुनु जरुरी हुन्छ । प्रसिद्ध दार्शनिक कार्ल माक्सले भनेजस्तै (आधार संरचनाले उपरी संरचनाको निर्माण गर्छ र उपरी संरचनाले आधार संरचनालाई टिकाउने काम गर्छ ।) । हाम्रो आर्थिक हैसियतले (धरातलले) हाम्रो त्यही अनुसारको चेतना बनाउँछ र जस्तो चेतनास्तर बन्छ त्यसले विद्यमान आर्थिक अवस्थालाई टिकाउन मद्दत गर्छ । 


मानिसलाई आर्थिकरुपमा पतन गराउने मुख्य विषयहरु :


    देखासिकी गर्नु : 

नेपाली समाजमा यो गरिवीको मुख्य कारण बनेको छ । आफ्नो आर्थिक धरातल कस्तो छ ? आम्दानीका स्रोतहरु के के छन् ? कतिसम्म हामीले खर्च गर्दा हामीलाई आर्थिक बोझ कम हुन्छ ? भन्ने विषयमा ख्याल नगरी अरुले के भन्लान् भनेर अरु बाहिरी मान्छेको दृष्टिकोणको आधारमा खर्च गरिन्छ । चाडपर्व, विवाह, ब्रतबन्ध जस्ता क्षेत्रमा आफ्नो हैसियत ख्याल नगरी अरुको देखेर म के कम भन्ने भावनाले समाजमा आर्थिक बोझ बढिरहेको छ ।

    सम्पत्तिमा भन्दा दायित्वमा लगानी गर्नु:

नियमितरुपमा तपाईको खल्तीमा जुन चीजले आम्दानी हालिदिन्छ त्यो सम्पत्ति हो र जुन चीजले नियमित रुपमा तपाईको खल्तीबाट पैसा झिक्छ त्यो दायित्व हो । सम्पत्ति बढाउँदै लगियो भने धनी भइन्छ भने दायित्व बढाउँदै लगियो भने गरिव भइन्छ । दायित्व जस्तै घर बनाउनु, गाडी, मोटरसाइकल खरिद गर्नु, सुन खरिद गर्नु आदि दायित्व हो । घर बनाउँदा लागेको ऋणको ब्याज तिर्दातिर्दै मान्छेको जीवन जान्छ । उसले अरु प्रगति गर्नै सक्दैन त्यसैले । आम्दानीको केही हिस्सा लगानी गरेमा भविष्यमा आर्थिक संकटबाट जोगिन सकिन्छ । खर्च अत्यधिक हुनु लगानी नहुनुले दीर्घकालमा आर्थिक संकट निम्त्याउने छ ।


    बचतलाई लगानीमा रुपान्तरण नगर्नु:

लगानी नगर्नु गरिवीको मुख्य कारण हो । वित्तीयरुपमा साक्षर ब्यक्तिले आम्दानीको केही भाग छुट्टाएर अनिवार्य लगानी गर्दछ जसले गर्दा भविष्यमा आर्थिकरुपमा स्वतन्त्र हुन सकिन्छ ।


    बजेट नबनाउनु : 

गरिवीको मुख्य कारकतत्व भनेको बजेट नबनाउनु हो । आफ्नो आम्दानी कस्तो छ ? आम्दानी बढाउन के के गर्नु पर्दछ ? कति पैसा खर्च गर्ने, कति बचत गर्ने र कति लगानी गर्ने ? भन्ने विषयको ख्याल नगरी अन्धाधुन्द खर्च गर्नाले समस्या सिर्जना गर्दछ । सम्पन्न हुने हो, आर्थिक हैसियत माथि उठाउने हो र वित्तीयरुपमा सुरक्षित रहने हो भने अनिवार्य बजेट बनाउनु पर्दछ ।


    हरेक निर्णय भावना/आवेगमा लिने : 

वस्तुनिष्ठ र दिमागले निर्णय लिनु पर्दछ । कसैको बहकावमा, उक्साहटमा वा आवेगमा आर्थिक निर्णय लिँदा बाँकी जिन्दगी कष्टपूर्ण र ऋणैऋणमा बित्दछ । एउटा मासिक ३०,०००।– आम्दानी भएको ब्यक्तिले ३० लाख लागतमा घर बनायो भने मासिक ३०,०००।– ब्याज तिर्दा उसको जीवन बर्बाद हुन्छ । यसर्थ कुनै पनि निर्णय गर्दा बजेटअनुसार गर्नु पर्दछ ।


    वित्तीय साक्षरताको ज्ञान नहुनु:

गरिवीको मुख्य घटकमध्येको एक वित्तीय रुपमा साक्षर नहुनु हो । पैसा कहाँ लगायो भने के हुन्छ ? कसरी आम्दानी गर्न सकिन्छ ? बढीभन्दा बढी आम्दानी कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकार नहुनु र पैसाको महत्व नबुझ्दा आर्थिक संकट आइलाग्छ ।


    कर्जा शिक्षा नहुनु : 

बैंक तथा वित्तीय संस्था दिनानुदिन बढ्नु कर्जा दिनु तर कर्जाको ठिक सदुपयोग नभएकाले पनि गरिवी बढ्न सक्छ । कर्जा किन लिने ? कर्जा लिएर के गर्ने ? जस्ता विषयको ज्ञान नभई कर्जा लिएको पाइन्छ । ब्यबसायिक योजनाबिना घरायसी खरखाँचो टार्न, विवाह भोजभतेर गर्न, सामाजिक, साँस्कृतिक कार्यको लागि कर्जा लिएको पाइन्छ । बैंकहरुले वित्तीय साक्षरता, कर्जा शिक्षा, ब्यबसायिक योजना शिक्षा जस्ता विषयमा विस्तारै तालिम, गोष्ठी दिँदै आएका छन् । ती पनि पर्याप्त छैनन् ।

    धनी देखिन खोज्नु : 

एकथरी मान्छे धनी बन्ने दिशामा लागेको हुन्छ भने अर्कोथरी धनी देखिन लागिपरेका हुन्छन् । धनी देखिन, ऋण खोजेर सुन लगाउने, ऋणमा घर बनाउने, ऋणमै राम्रा कपडा, गाडी खरिद गर्ने गरेका हुन्छन् । धनी देखिए पनि खासमा दिनप्रतिदिन ब्याज तिर्दा गरिव बनिरहेका हुन्छन् भने उता धनी बन्ने ध्याउन्नमा लागेकाहरु दिनप्रतिदिन लगानी गरेर धनी बनिरहेका हुन्छन् । आफूमा जे छ त्यसैमा खुशी भएर, समृद्धिको लागि नियमित मेहनत गर्नेहरु सफल हुन्छन् । तसर्थ धनी देखिन होइन धनी बन्ने कोशिश गरौं ।


रेमिट्यान्सको भरमा धाकधक्कु लगाई राखिएको छ । खर्च र सुविधा उपभोगमा पश्चिमा भन्दा कम छैंनौं । उनीहरुको खर्च गर्ने शैली सिक्यौं तर उनीहरुको कमाउने शैली सिकेनौं । गाडी, घोडा, टिभी, मोबाइल उनीहरु भन्दा कम बोक्दैनौ तर आम्दानीको मुख्य स्रोत कृषि दिनानुदिन कमजोर हुँदैछ । तमाम जग्गा÷जमिन बाँझो छ । यस्तो कार्यशैलीले देशमा विकाराल स्थिति ल्याउने देखिन्छ ।

प्रेम सुवेदी

लेखक लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका अधिकृत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय